आईपीओको रिजल्ट हेर्न छुट्टै वेबसाइट, अब अन्यत्र चहार्नु नपर्ने

काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले आईपीओ हेर्नका लागि छुट्टै वेबसाइट सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक निष्कासन भएका धितोपत्र बाँडफाँट (आईपीओ) को नतिजा हेर्न फरक फरक वेबसाइट चहार्नुपर्ने बाध्यताको अन्त्य गर्दै लगानीकर्ताको डेटा सुरक्षित राख्ने उद्देश्यका साथ यस्तो व्यवस्था गरेको हो ।

सार्वजनिक निष्कासन भएका धितोपत्रको बाँटफाँटको नतिजा सम्बन्धित निष्कासनकर्ता कम्पनी र निष्कासन तथा बिक्री प्रबन्धकको वेबसाइटमा राख्ने व्यवस्था यस अघिदेखि कार्यान्वयनमा छ ।

त्यसै अनुरुप महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँटको नतिजा उक्त कम्पनी तथा सार्वजनिक निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई बैंक लिमिटेडको वेबासाइटमा राखिएको थियो ।

तर लगानीकर्ताको अत्यधिक चापका कारण दुवै वेबसाइटले काम गर्न नसकेपछि सम्पूर्ण लगानीकर्ताको चाप मेरो शेयरमा परेको थियो । जसका कारण मेरो शेयरमार्फत प्रदान गरिने अन्य सेवाहरु समेत प्रभावित हुन पुगेका छन् ।

यस किसिमको अवस्थाको अन्त्य गर्न सार्वजनिक धितोपत्र निष्कासन भएका धितोपत्रको बाँडफाँटको नतिजा हेर्ने सहजताका लागि छुट्टै वेब पोर्टल सञ्चालनमा ल्याइएको हो ।

सार्वजनिक निष्कासनको नतिजा मात्र राखिने उक्त पोर्टल सुरक्षित, छरितो तथा धेरै लगानीकर्ताले एकसाथ प्रयोग गर्दा समेत सहज रुपमा सञ्चालन हुने गरी उच्च क्षमतामा तयार पारिएको सीडीएससीले जनाएको छ ।

उक्त पोर्टलमा लगानीकर्ताले सार्वजनिक निष्कासन भएका धितोपत्रको बाँडफाँटको नतिजा बाँडफाँट सम्पन्न हुने वित्तिकै सहज रुपमा हेर्न सक्नेछन् । उक्त पोर्टलमा हाल महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको बाँडफाँटको नतिजा समेत अपलोड भइसकेको छ ।

आईपीओरिजल्ट डट सीडीएससी डट कम डट एनपीमा गएर आफ्नो नतिजा हेर्न सकिनेछ । बाँडफाँट हेर्ने लगानीकर्ताको चापका कारण मेरो शेयरमा समस्या आएपछि ईडीआईएस सेवा प्रभावित भएको छ ।

जसले गर्दा फागुन १३ गते कारोबार भएर १६ गते हुने राफसाफ तथा फर्छ्यौट हुने कारोबारको ईडीआईएस प्रविष्टि गर्ने समयावधी १६ गते बिहान ७ बजेसम्मका लागि कायम गरिएको बताइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...