पाँचौं स्पोर्टस् अवार्ड विशेष :अन्तर्राष्ट्रिय पदक विजेता सुरेश

पोखरा । रिङमा थिए भारतीय बक्सर–मनोज पिङ्ले । स्वर्णको अपेक्षामा नेपाली बक्सर सुरेश मल्ल ठकुरी प्रतिस्पर्धामा अगाडि बढे । सुरेश त्यसबेलामात्र २० वर्षका थिए । खेल थियो, चौथो साफ च्याम्पियनसीप ।नेपालको प्रतिनिधित्व गर्दै आजभन्दा ३२ वर्षअघि पाकिस्तानको राजधानी इस्लामावादमा उनी साफ खेल्न गएका थिए ।

क्वार्टरफाइनलमा सुरेशले बंगलादेशका खेलाडीलाई पाखा लगाइसकेका थिए । सेमीमा पाकिस्तानी अर्का खेलाडीको चुनौती समाप्त पार्दै नजिक नजिक पुगे ।सुरेशले भारतकै टप बक्सर मनोजसँग फाइनलमा रिङ उत्रिए । बेन्टम क्याटगोरीको खेल थियो । आफ्नो पक्षमा जित आउने आशा गरेका सुरेश त्यसबेला रजतमा सीमित भए । ५१ वर्षीय सुरेशले अहिले सम्झिन्छन्, ‘चौथो साफमा निष्पक्ष रुपमा निर्णय गरी मेरो पक्षमा स्वर्ण भैदिए भए जीवनमै कायापलट हुन्थ्यो । स्वर्ण अक्षरले नाम लेखिन्थ्यो ।’

सुरेशले चौथोमात्र हैन, पाँचौ साग पनि खेले । श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित पाँचौ साउथ एशिया फेडेरेसन गेम्स, १९९१ मा उनको नाममा कास्य पदक छ । नेपालमै सन् २०१९ मा भएको १३ आंै सागमा भने उनी प्रशिक्षक थिए ।त्यस्तै, सन् १९८९ मा इण्डोनेसियामा आयोजित १२ औं प्रेसिडेन्ट कप इन्टरनेशनल एमेच्युर बक्सिङ टुर्नामेन्ट–१९८९ मा उनले भाग लिने अवसर पाएका थिए । त्यसबेला विभिन्न क्याटागोरीमा नेपालबाट ९ जनामात्र खेलाडी छानिएका थिए । तर उनीसहित प्रचण्ड शर्माले मात्र गरी कास्य पदक देशका लागि भित्राए । यो पनि सुरेशका लागि अहिलेसम्मकै सुखद क्षण भएको बताउँछन् ।

खेलकुद क्षेत्र राष्ट्रिय एकताको प्रतीक भएको उनी बताउँछन् । ‘जीवन नै यही खेलमा गयो । अहिलेसम्म पनि रिङमै भेटिन्छु ।’ पोखरा रंगशालमा उनले अझै पनि बिहानबेलुका गरी दैनिक करिब ४० जनालाई बक्सिङ प्रशिक्षण दिने गरेका छन् । हालसम्म उनले ३ सयभन्दा बढीलाई प्रशिक्षण दिइसकेको बताउँछन् । कास्की जिल्ला बक्सिङ संघ मार्फत प्रशिक्षण दिने सुरेशमात्र हुन् । उनी हाल पोखरा ७ सुकुम्बासी बस्ती बस्छन् । २२ वर्षदेखि निरन्तर बक्सिङ प्रशिक्षण गर्दै आएका उनले सातौं र आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकीलाई पदक जिताउन सफल भएका छन् ।

 

सातदोबाटोमा आयोजित प्रथम यु–१९ महिला तथा पुरुष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता, २०७६ मा उनी प्रशिक्षणको गण्डकीको टिम च्याम्पियन बनेको थियो । त्यसबेला गण्डकीले ३ स्वर्ण, २ रजत र ३ कास्य जितेको थियो । यस्तै, भारतको पटियालामा डिप्लोमा इन बक्सिङ कोर्स लिन सफल प्रियंका बर्माका प्रशिक्षक उनै सुरेश हुन् । उनको परिचय अहिले रेफ्री जज हो । परेको बेला रेफ्री र जज दुवै भ्याउँछन् । नाच्न सिपालु उनी बरोबर टिकटकमा पनि भेटिन्छन् ।

सानो छँदा स्कुल आउजाउ क्रममा रंगशालामा बक्सिङ खेलेको देखिरहन्थे । एक दिन कक्षा छोडेर रंगशाला छिरे । हेर्र्दै र बुझ्दै जाँदा उनी पनि यसप्रति आकर्षित भए । सिक्ने हुटहुटी जाग्यो । विद्या मर्सानीले उनलाई ४÷५ दिनको कक्षा दिए । त्यसपछि बुटवलमा आयोजित ११ औं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०४४ खेल्ने अवसर पाए । किनकि उनले पोखरामा छनोटमा रजत जितेका थिए । त्यसपछि क्लोज क्याम्प बसे । क्रमशः विभिन्न प्रतियोगितामा भाग लिँदै गए । १९८८ मा काठमाडौंमा आयोजित चौथो आमन्त्रित बक्सिङ च्याम्पियनसीपको स्वर्ण पनि उनकै नाममा छ । उनी फेदर वेटमा प्रथम भए । कोलम्बोमा आयोजित पाँचौ साउथ एशिया फेडेरेसन गेम्स १९९१ मा कास्य पदक हासिल गरेका उनले १९९४ मा जापानको हिरोसिमामा आयोजित १२ औं एशियन गेम्समा नेपालको तर्फबाट सहभागिता जनाए ।

 

१९९० मा बेइजिङमा आयोजित ११ औं एशियन गेम्समा पाँचौ स्थान हासिल गरे । सोही उपलब्धिमार्फत उनी बैंककमा सातौ वल्र्ड कपमा भाग लिने अवसर पाएका थिए ।नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पाँचौ पोखरा स्पोर्टस् अवार्डमा उनी उत्कृष्ट प्रतिशक विधामा मनोनयनमा परेका छन् । असार १८ मा हुने अवार्ड वितरणमा उनको प्रतिस्पर्धामा पौडीका आनन्द कुँवर र फुटबलका किरण श्रेष्ठसँग हुनेछ । तीमध्ये एकले ३५ हजारसहित अवार्ड जित्ने छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...