आलु–मकै छाडेर किबीतिर किसान

भोजपुर, २८ चैत : आलु तथा मकैबाट भन्दा राम्रो आम्दानी हुन थालेपछि जिल्लाका कृषक व्यावसायिक किबीखेतीतर्फ आकर्षित भएका छन् । बजारमा माग राम्रो भएको तथा एक पटक विस्तार गरिसकेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएसँगै आफूहरू व्यावसायिक किबी खेतीमा लागेको कृषक बताउँछन् ।

एकपटक रोपिएपछि बर्साैँसम्म आम्दानी लिन सकिने भएपछि कृषक अन्य बाली हटाएर व्यावसायिक किबीखेतीमा लागेका छन् । विशेष गरेर भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, वडा नं ४ नागीको लुङ्गिन र वडा नं ५ को मझौले तथा पौवादुङ्मा, आमचोक गाउँपालिकालगायत ठाउँमा किसानले यसको व्यावसायिक खेती गरिरहेका छन् । दिमागको तेज र रक्तशुद्धिका साथै युरिक एसिड, अल्सर रोगीका लागि उपयोगी किबी एक हजार ५०० मिटरदेखि दुई हजार ४०० मिटरसम्मको उचाइमा खेती गर्न सकिने कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । एक बगानबाट वर्षमा चार सय–पाँच सय केजी किबी उत्पादन हुने भए पनि जिल्लाको कुल उत्पादनको अभिलेख भने राखिने गरेको छैन ।

केही कृषकले रहरले खेती गरे पनि टेम्केमैयुङ–४ नागीमा भने व्यावसायिकरूपमा नै यसको खेती भइरहेको छ । व्यावसायिक रूपमा १५० भन्दा बढी बिरुवा लगाएर यसको खेती गरिरहेको नागीका नवीन राईले बताउनुभयो । मकै फल्ने बारी मासेर पाँच वर्ष अघिदेखि किबीको व्यावसायिक खेती भइरहेको उहाँको भनाइ छ । रोपिएको दुई वर्षदेखि केही उत्पादन दिन थालेकामा यस वर्षदेखि भने उत्पादनबाट दोब्बर आम्दानी लिने लक्ष्य नवीनको छ । उहाँले भन्नुभयो, ‘‘किबीले राम्रो उत्पादन दिन थालेको छ । मकै, आलुबाट खास आम्दानी थिएन । अहिले त्यही बारीबाट राम्रो आम्दानी लिँदै आएको छु । यस क्षेत्रलाई किबी पकेट क्षेत्र बनाउने मेरो लक्ष्य छ ।’’

नवीनले शुरुमा इलामबाट बिरुवा ल्याएर खेती शुरु गर्नुभएको हो । किबीका साथमा पाखे अलैँची र खोर्सानीसमेत खेती गर्न सकिने भएकाले दोहोरो फाइदा लिन सकिने उहाँले बताउनुभयो । राईका बारीमा रु दुई लाखदेखि तीन लाखसम्मको किबी फल्ने गरेको छ । उहाँले किबीखेतीबाट वार्षिक रु छ लाखसम्म आम्दानी लिने अपेक्षा रहेको बताउनुभयो ।

आफ्ना बारीमा उत्पादित किबीमध्ये केही गाउँमा खपत हुने र बाँकी बाहिरी जिल्लामा बिक्री गर्दै आएको नवीनले जानकारी दिनुभयो । किबी प्रतिकेजी रु २५० देखि रु ३०० मा बजारमा बिक्री हुने गरेको छ । नजिकै मध्यपहाडी राजमार्गसमेत बनिरहेको हँुदा उत्पादित किबीले राम्रो बजार पाउनेमा उहाँ आशावादी हुनुृहुन्छ । ‘‘मैले खेती गर्न थालेपछि अन्य साथीहरूको पनि यसतर्फ आकर्षण बढेको छ । सडकको पहँुच वृद्धि भइरहेको छ । आगामी दिनमा बजारीकरणमा समेत थप सहजता हुने आशा बढेको छ’’, नवीनले भन्नुभयो ।

त्यस्तै टेम्केमैयुङ गाउँपालिका ५ मझौलेका एकराज विष्टले पनि किबीको व्यावसायिक खेती गरिरहनुभएको छ । विष्टले करिब सात रोपनी क्षेत्रमा गत वर्षदेखि किबीखेती थालिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘‘राम्रो आम्दानी हुने भएपछि मैले व्यावसायिक खेती थालेको छु । फल लिनका लागि तीनदेखि चार वर्षसम्म लाग्छ तर अन्यबालीका तुलनामा किबीखेतीबाट राम्रो आम्दानी लिन सकिन्छ । म धेरै वर्ष विदेशमा बसेर अहिले नेपालमै किबीको खेतीमा लागेको हुँ ।’’

किबीबाट सोचे जस्तो आम्दानी लिन सुरुमा जमिन तयार गर्दा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ । पहिलो पटक खेती गर्ने कृषकले कृषि प्राविधिक अथवा अनुभवी कृषकको सल्लाह लिनुपर्ने उहाँले बताउनुभयो । कृषक विष्टले भन्नुभयो,‘‘ खास गरेर किबीको बिरुवा हिउँद महिना अर्थात् पुसदेखि माघ अन्तिमसम्म लगाउन उपयुक्त हुन्छ । बिरुवा लगाउनुपूर्व तीनदेखि चार फिट गहिराइ र सोही बराबरको चौडाइमा प्राङ्गारिक मल कुहाएर लगाएमा राम्ररी फस्टाउँछ तर धेरै साथीहरूले यसरी खेती गरेको पाइँदैन । त्यसो भयो भने राम्रो आम्दानी लिन सकिँदैन ।’’

किसानले व्यवसायिक रुपमा खेती गरिरहे पनि स्थानीय तह तथा सरोकार पक्षले यसको विस्तारमा ध्यान दिनुपर्ने किसानको माग छ । साथै उत्पादित किबीलाई बजारीकरणमा समेत ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ । ‘‘किबी किसानको आर्थिक अवस्था सुधारमा टेवा पु¥याउने बाली हो । एक पटक राम्रो परिश्रम गरेर विस्तार गर्न सकियो भने यसबाट धेरै वर्ष सहजरूपमा आम्दानी लिन सकिन्छ । त्यसैले यसको थप विस्तारमा राज्यले सहयोग गर्न आवश्यक छ । धेरै मात्रामा उत्पादन गर्न सकियो भने बिक्रीवितरण गर्न खासै समस्या छैन,’’ किसान विष्टले भन्नुभयो ।

टेम्केमैयुङ गाउँपालिकाले कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रममार्फत यसको खेती विस्तारमा सहयोग गरिरहेको छ । सम्पूर्ण किसानलाई व्यावसायिक तथा आधुनिक खेतीमा लगाई गाउँपालिकालाई कृषिमा नमूना बनाइने गाउँपालिकाले जनाएको छ । विभिन्न समयमा किसानलाई अनुदान दिनेलगायत अन्य आर्थिक तथा प्राविधिक सहयोग गरिएको गाउँपालिका अध्यक्ष ध्रुवराज राईले बताउनुभयो । उहाँले भन्नुभयो,‘‘ यहाँको खेतीको सम्भावना हेरेर सबै बालीलाई प्रोत्साहन गरिरहेका छौँ । हाम्रो गाउँपालिकाको माथिल्लो क्षेत्र अलि बढी चिस्यान खालको भूगोल छ । त्यसैले यहाँ विशेष गरेर किबीको राम्रो सम्भावना छ । त्यही भएर यसको खेतीमा लागेका कृषकलाई सहयोग गर्ने लक्ष्यका साथ गाउँपालिकाले काम गरिरहेको छ ।’’

व्यावसायिक खेतीमा लागेको कृषकलाई सरकारले विशेष कार्यक्रम बनाएर प्रोत्साहन गर्न सके देशको आर्थिक विकासमा टेवा पुग्ने स्थानीय जानकारको भनाइ छ । यहाँको भौगोलिक विविधतालाई ध्यानमा राखी माटोअनुसारको खेती विस्तारमा ध्यान दिन आवश्यक रहेको किसान बताउँछन् ।

स्थानीय कृषक रत्नबहादुर विष्टले भन्नुभयो, “किबीको राम्रो जातको पहिचान गरेर लगाउन सकियो भने एक बोटबाट एक सयदेखि १५० केजीसम्म फलाउन सकिन्छ । व्यावसायिक रूपमा लगाउने हो भने वर्षमा रु चार पाँच लाख कमाउनका लागि युवाहरू अर्काको देशमा दुःख गर्न जानु पर्दैन । त्यसैले पछिल्लो समय किबीखेती धेरै मानिसको रोजाइमा पर्ने बालीका रूपमा स्थापित भएको छ । अहिले हाम्रो गाउँमा परम्परागत बाली छाडेर मानिसहरूले यसको व्यावसायिक खेती थालेका छन् ।”

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...