पर्वतमा ९७ जनाले फिर्ता लिए उम्मेदवारी, ८६० कायम

पर्वत, पर्वतमा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएकामध्ये ९७ जनाले फिर्ता लिएका छन् । जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा गरी ९७ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

फिर्ता लिनेमा छ जना प्रमुखका उम्मेदवार, दुईजना उपप्रमुख, २५ जना वडाध्यक्ष, १२ जना महिला वडा सदस्य, नौ दलित महिला सदस्य र ४३ जना खुल्ला सदस्यले उम्मेदवारी फिर्ता लिएका हुन् ।

जिल्लाको कुश्मा नगरपालिकाबाट २४, फलेवासबाट २९, मोदी गाउँपालिकाबाट छ, जलजलाबाट पाँच, विहादीबाट २३, पैँयुबाट चार र महाशिलाबाट छ जनाले उम्मेदारी फिर्ता लिएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो ।

यही वैशाख ११ र १२ गते दर्ता भएका ९५७ मध्ये ९७ जनाले फिर्ता लिएपछि जिल्लाभर ८६० जनाको उम्मेदवारी कायम भएको शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार प्रमुख वा अध्यक्षमा ४१, उपप्रमुखमा २६, वडाध्यक्षमा १९० जनाको उम्मेदवारी कायम भएको छ ।

त्यसैगरी महिला वडा सदस्यमा १४१, दलित महिला वडा सदस्यमा १३८ र खुल्ला सदस्यमा ३२४ जनाको उम्मेदवारी कायम भएको छ । पालिकाअनुसार हेर्दा कुश्मा नगरपालिकामा २०१, मोदी गाउँपालिकामा ११९, जलजला गाउँपालिकामा १३३, फलेवास नगरपालिकामा १५७, विहादी गाउँपालिकामा ७८, पैँयु गाउँपालिकामा १०० र महाशिला गाउँपालिकामा सबैभन्दा थोरै ७२ जनाको उम्मेदवारी कायम भएको छ । सात पालिका र ६१ वडा रहेको पर्वतमा ३१९ जना जनप्रतिनिधि चुनिने छन् । तीमध्ये दुईजना महिला वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले शुक्रबार साँझ नै अन्तिम नामावली प्रकाशन गरेको हो । कुश्मा नगरपालिकाको नगरप्रमुखमा उम्मेदवारी दिएका गङ्गाधर पौडेल र बाबुराम केसीले फिर्ता लिनुभएको छ । दुवै जनाले स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...