गण्डकीका सभामुख अधिकारी र तीन दललाई आयोगले गरायो सचेत

निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेकोमा तीन दलसहित नेताहरू र गण्डकी प्रदेश सभामुखलाई सचेत गराउने भएको छ।

आयोगको बैठकले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपालाई सचेत गराउने निर्णय गरेको हो।

आचारसंहिता उल्लङ्घनबारे आयोगमा १० उजुरी परेको थियो। ती उजुरीबारे शुक्रबारको आयोग बैठकमा छलफल भएको थियो।

आयोगले आचारसंहिता प्रतिकूल हुने काम नगर्न ती दलहरूलाई सचेत गराउने निर्णय गरेको छ।

एकीकृत समाजवादीले भृकुटीमण्डपमा गरेको सभामा बालबालिका प्रयोग गरेको, माओवादी केन्द्रले चुनावी प्रचारमा कुलमान घिसिङको तस्बिर प्रयोग गरेको र राप्रपाले हेटौंडा सभामा आचारसंहिता उलङ्घन गरेको उजुरी परेको थियो।

यस्तै निर्वाचन खर्चबारे अभिव्यक्ति दिएका नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालालाई पनि आयोगले सचेत गराउने भएको छ।

०७४ मा नवलपुरबाट प्रतिनिधि सभा सांसद भएका कोइरालाले हालै आफूले चुनावमा छ करोड खर्च गरेको अभिव्यक्ति दिएका थिए। कोइरालाले उक्त चुनावमा २१ लाख ७५ हजार खर्च गरेको विवरण आयोगमा पेश गरेको पाइएको थियो।

यस्तै गण्डकी प्रदेश सभामुख नेत्रनाथ अधिकारीलाई पनि आयोगले सचेत गराउने भएको छ। उनले पनि निर्वाचन खर्चबारे अभिव्यक्ति दिएका थिए।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...