साफ यू–१९ च्याम्पियनशिप फुटबल : नेपाल र भारत उपाधिका लागि भिड्दै

श्रीलङ्कामा भइरहेको पुरुष साफ यू–१९ च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन् । श्रीलङ्काको कोलम्बोस्थित रेसकोर्स मैदानमा फाइनल खेल आज राति ८ः१५ बजे हुनेछ ।

सेमिफाइनल खेलमा आयोजक श्रीलङ्कालाई ६–० गोलअन्तरले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो । यसैगरी भारत सेमिफाइनलमा बङ्गलादेशलाई २–१ गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो । भारतलाई पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बन्ने लक्ष्यका साथ नेपाली टोली मैदानमा उत्रनेछ । नेपाली टोलीलाई उपाधि उचाल्न सहज भने हुने छैन । साविक विजेता भारतको दाउ पनि नेपाललाई हराएर उपाधि रक्षा गर्ने रहेको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भारतविरुद्धको खेलमा विजयी भइ च्याम्पियन बन्ने लक्ष्य रहेको बताए । यसअघि समूह चरणको खेलमा नेपालले भारतलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो । नेपाल अपराजित रहँदै फाइनल पुगेको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...