शैक्षिक संस्थालाई राजनीतिक द्वन्द्वबाट मुक्त गर्नुपर्ने

पोखरा । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन प्रा.डा. डिल्लीराज शर्माले गणेशमान पालिखेको पदचाप पछ्याउने हो भने जनप्रियले शैक्षिक संस्थालाई राजनीतिक द्वन्द्वबाट मुक्त गर्नुपर्ने सुझाए ।

मानित विश्वविद्यालयतर्फ उन्मुख जनप्रिय बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको १८ औं स्मृति दिवसका सन्दर्भमा बोल्दै प्रा.डा. शर्माले जनप्रिय क्याम्पस मात्रै होइन त्रिभुवन विश्वविद्यालय, पोखरा मात्रै होइन नेपालभरि कै शिक्षा क्षेत्रमा व्यवस्थापन सङ्कायको खाँचो पुष्टि गर्दै काठमाडौं बाहिर पहिलो पटक पोखरामा बिबिए कार्यक्रम ल्याएको स्मरण गरे । पब्लिक क्याम्पस सङ्घको संस्थापक अध्यक्ष भएर मुलुकभरि सामुदायिक क्याम्पसको स्थापना र सञ्चालनमा पालिखेले गरेको योगदान संझनालायक भएको बताए ।

 

 

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रनारायण विजुक्छेले पालिखेलाई स्मरण गर्दै भने, २०३९ सालमा पृथ्वीनारयाण क्याम्पसमा म उहाँको चेला थिएँ, २०४८ सालमा जनप्रिय क्याम्पस स्थापना भएपछि साथी भएँ, त्यो समय स्वर्णकाल थियो । उहाँ क्याम्पस प्रमुख र म जनप्रतिनिधि हुँदा भवन निर्माणका क्रममा सँगै मुद्धा खेपेका छौं । क्याम्पस कै लागि ज्यानको आहुति दिएका पालिखे शिक्षा मै सहादत पाएका व्यक्तित्व भएको जानकारी दिए ।

 

 

 

संस्थापक उपाध्यक्ष हरिप्रसाद बराल, सल्लाहकार विष्णुप्रसाद बराल, सिर्जना विकास केन्द्रका अध्यक्ष कृष्णबहादुर थापा, निवर्तमान क्याम्पस प्रमुख कृष्णबाबु बराल, पब्लिक क्याम्पस प्राध्यापक सङ्घका अध्यक्ष विकास थापामगर, कर्मचारी सङ्घ जनप्रिय इकाइका अध्यक्ष देवी पनेरु, प्राध्यापक शिव केसी, सुरेश रानाभाट लगायतका वक्ताले क्याम्पसलाई मानित विश्वविद्यालय बनाउनका निम्ति संस्थापक क्याम्पस प्रमुख पालिखेले जस्तै क्याम्पसलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्नुपर्ने विचार राखेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...