गुणस्तरिय छपाईमा पोखरा आत्मनिर्भर

पोखरा, बैशाख १ गते । मुद्रण उद्योग संघ कास्कीले बुधबार नयाँबर्षको शुभकामना आदान प्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रम गरेको छ ।उक्त कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ कास्कीका नवनिर्वाचित अध्यक्ष विमला भण्डारीले ब्यानरमा हस्ताक्षर गरि कार्यक्रमको उद्घाटन गरेकी थिइन ्।

कार्यक्रममा अध्यक्ष भण्डारीले मुद्रण व्यवसायीहरुलाई राज्यले हेर्ने दृष्टिकोण फरक भएको बताउँदै उनले भनिन्–‘छापा होस या मिडिया दुवैलाई राज्यले पटक पटक अकुंश लगाउने काम भएको छ। लेख्न र बोल्नको लागि लगाम लगाइएको छ ।’ पोखरामा नै स्तरीय मेशिन हुँदा कैयौं पटक छपाईका सामाग्रीहरु बाहिर दिनुहुँदैन भनि आन्दोलन गरिरहँदा हातेमालो गरि अगाडि बढेको उनले बताइन् ।

‘राज्यले मोफसल लाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ । लगानी बृहत छ, प्रतिस्पर्धाको समयमा केन्द्रले मोफसल भनेर हेर्न दृष्टिकोण र व्यवहारमा अझै भनेजस्तो परिवर्तन आएको छैन। प्रदेश सरकारले गर्ने हरेक गतिविधिमा यहाँका स्थानीयको अधिकार हुन्छ तर प्रतिस्पर्धाको बाहनामा बोलपत्र आह्वान गर्ने अनि पोखराका कामहरु अर्को जिल्ला उडाउने गरेका पाइन्छ । त्यसको अब कास्की जिल्लाले घोर विरोध गनुपर्छ’ भन्दै उनले प्रदेश सरकारलाई ध्यानाकर्षण गराएकी थिइन्।

उनले सरकारी काम कारवाहीमा सबैभन्दा बढी हात गण्डकी प्रदेश सरकारको हुन्छ। स्थानीय लगानीलाई पहिला प्राथमिकता दिनुपर्छ पनि प्रदेश सरकार भन्छ, तर ठूलो लगानीमा प्रिन्टिङ व्यवसाय सञ्चालन भइरहँदा यही प्रदेशका कामहरु लिन काठमाण्डौं धाउनुपर्ने हुन्छ, त्यो काम गर्न पाइन्छ या पाइदैन थाहा हुँदैन। किताब, क्यालेण्डर तथा अन्य छपाईका सम्पूर्ण कामहरु पोखरामा नै काम गर्न सकिने भएकोले स्थानीय उद्योगहरुलाई प्राथमिकतामा राख्न प्रदेश सरकारलाई आग्रह गरेकी थिइन्।

मिडिया र मुद्रण व्यवसायीहरुलाई थप चुनौती बढ्दै गएकोले अब सहयात्रा गरेर अगाडि बढ्नुपर्ने उनले बताइन् । आगामी दिनमा विज्ञता हासिल गर्न र दक्ष जनशक्ति उत्पादनको लागि दक्षता अभिबृद्धिका तालिमको व्यवस्था समेत गरि गुणस्तरीय प्रबिधि मैत्रीको तालिम सञ्चालनमा आगामी दिनमा सहकार्य गरेर बढ्न इच्छुक रहेको बताइन् ।

मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष गिरबहादुर श्रेष्ठ (किरण)ले मुद्रण व्यवसायमा लगानी पनि ठूलो र चुनौती पनि बढी भएको व्यवसाय भएको बताए । उनले मुद्रण व्यवसायीहरुमा चेतनाको कमी हुनु, लगानी अनुसार सुरक्षित रहन नसक्नु व्यक्तिगत कारण भएको बताउँदै, एक आपसमा नै लडिरहदा अरुलाई फाइदा पुगेको बताए ।

उनले स्थापना कालदेखि नै मुद्रण व्यवसायलाई प्रविधिमैत्री बनाउने प्रयासमा आफू लागेको बताउँदै

सक्षम बनी व्यवसाय सञ्चालनको लागि कसरी व्यवसाय गर्ने बारेमा मुद्रण व्यवसायीहरुलाई तालिमको आवश्यकता रहेकोमा जोड दिए । उनले आफ्नो कार्यकालमा त्यो पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

त्यसैगरी संघका निवर्तमान अध्यक्ष पदमलाल श्रेष्ठले मुद्रण व्यवसाय र मिडिया नङ र मासु भएको बताउँदै कास्की जिल्ला गुणस्तरीय छपाईमा कुनै कसुर नराखी काम गर्न सक्ने बताए । पोखरामा करिब १ सय भन्दा बढी छापाखानाले ४ कलर, डबल कलर सिंगल कलर र डिजिटल प्रेसबाट सेवा दिँदै आएकोले कुनैपनि काम गर्न अन्य जिल्ला धाउनुपर्ने बाध्यता छैन नभएको जानकारी दिए ।

उनले कास्कीमा मुद्रण व्यवसायीहरुले कास्की भित्रकै बैंक, वित्तिय संस्था, सहकारीबाट ऋण लिइरहँदा यहाँका यस्ता संस्थाहरुले कास्की बाहिरबाट काम गर्दा स्थानीय व्यवसायीहरुको अपहेलना गरेको महशुस भएको बताए । उनले प्रदेश सरकारले यस्ता गतिविधिमा कुनै चासो नदेखाउनुले मुद्रण व्यवसायीहरु मर्कामा परेको जानकारी गराएका थिए।

उक्त कार्यक्रममा प्रमुख अतिथि विमला भण्डारी र संघका सहकोषाध्यक्ष, एफोर जेड छापाखाना तथा बाघपाइला साप्ताहिकका सञ्चालक पदम श्रेष्ठलाई सम्मान गरिएको थियो । नेपाल पत्रकार महासंघ कास्कीको हालै सम्पन्न निर्वाचनमा भण्डारी अध्यक्ष पदमा र श्रेष्ठ सदस्य पदमा निर्वाचित भएका उनिहरुलाई सफल कार्यकालको शुभकामना तथा बधाई ज्ञापन गर्दै संघका अध्यक्ष किरण श्रेष्ठ, निवर्तमान अध्यक्ष पदमलाल श्रेष्ठलगायतले संघको तर्फबाट सम्मान पत्र सहित खादा र अविर लगाइएका थिए ।

उनले सम्मानबाट खुसी व्यक्त गर्दै श्रेष्ठले पत्रकारिता र व्यवसायलाई सँगै अगाडि बढाउनको लागि थप प्रेरणा मिलेको बताए । उनले राज्यले मोफसल मुद्रण व्यवासायीलाई हेर्ने दृष्टिकोण फरक भएको बताउँदै मुद्रण व्यवसायीहरुको समस्यालाई पत्रकारिताको माध्यमबाट राज्यका सरोकार निकायको ध्यानाकर्षण गराउने बताए । त्यसैगरी क्यालेण्डर प्रकाशन समितिको संयोजक भएर काम गर्ने क्रममा क्यालेण्डर छपाई उपसमितिलाई सहयोग गर्ने सम्पूर्णलाई विज्ञापनदाता, क्यालेण्डर प्रिन्ट सौजन्य, प्लेट सौजन्य, पेपर सौजन्य गर्नेहरुप्रति समेत उनले धन्यवाद व्यक्त गरेका थिए।

उक्त कार्यक्रममा संघका सल्लाहकार कृष्णराज ढुंगाना, राजु बैद्य, बरिष्ठ उपाध्यक्ष चिन्तामणी बास्तोला, गण्डकी प्रदेश सदस्य कोपिला श्रेष्ठलगायतले नयाँवर्षको शुभकामना मन्तव्य व्यक्त गरेका थिए। भने उपस्थित सम्पूर्ण व्यवसायीहरुले शुभकामना आदान प्रदान गरेका थिए।

संघका प्रथम उपाध्यक्ष तथा गोर्खाली अफसेट प्रेसका सञ्चालक जिवन गोर्खालीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । महासचिव तथा फिस्टेल पब्लिकेशन प्रा.लि.का सञ्चालक रामप्रसाद भुर्तेलले कार्यक्रमको सञ्चालन गरेका थिए । अध्यक्ष गिरबहादुर श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...