थाहै नपाई गुम्न सक्छन् मृगौला (कारण र लक्षण)

सोमवार, भदौ ६, २०७३
621

kidneyनपत्याइँदो हिसाबले मान्छेका मृगौलामा समस्या देखिन सक्छन् । जस्तो, सर्लाहीका रामकिशन महतो, ३२ लाई भयो । उनलाई छिनछिनमा पिसाब लाग्ने समस्या देखियो । अनुहारसमेत सुिनन थालेपछि बल्ल उनी उपचार गर्न गए । सामान्य जाँचपछि नै चिकित्सकले उनको मृगौला फेल भएको हुनसक्ने अड्कल काटे । थप परीक्षणपछि परिणाम पनि त्यस्तै आयो । उनलाई चिकित्सकले काठमाडौं शिक्षण अस्पताल रिफर गरे । अहिले महतोले हप्तामा दुई पटक डाइलसिस गराइरहेका छन् । ३२ वर्षको उमेरसम्म कुनै शारीरिक लक्षण नदेखिए पनि चिकित्सकले उच्च रक्तचापका कारण उनको मृगौला फेल भएको बताएका छन् ।

सामान्य लक्षण देखिए पनि ओछ्यान नपर्दासम्म ‘मलाई केही भएको छैन’ भन्दै ढुक्क हुनेहरू जब एक्कासी रोगले च्यापेपछि मृगौलाले काम गर्न छोडिसकेको चाल पाउँछन् तब उनीहरूसँग पछुताउनुको विकल्प रहन्न । जीवनका प्रत्येक दिनलाई पैसासँग साटेर औषधिको भरमा टिकाउनुपर्ने अवस्था रहन्छ । शरीरको महत्वपूर्ण अङ्ग मृगौलाले काम गर्न छोडेपछि उपचार जति महँगो र झन्झटिलो छ त्यो भन्दा धेरै गुणा सजिलो छ यसको पहिचान र समयमै उपचार ।

सामान्य परीक्षणले मृगौलाको अवस्था थाहा हुने र समयमै उपचार सजिलो भए पनि मृगौला रोगीको सङ्ख्या भने दिनानुदिन बढ्दो छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार संसारभर १० प्रतिशत मानिस मृगौला सम्बन्धी समस्याबाट ग्रस्त छन् । सोही आँकडालाई आधार मान्ने हो भने, नेपालमा पनि करिब २७ लाखलाई मृगौला सम्बन्धी कुनै न कुनै समस्या भएको अनुमान गर्न सकिन्छ । तीमध्ये १० प्रतिशत अर्थात् दुई लाख ७० हजारको मृगौला बिग्रिने गरेको छ भने प्रत्येक वर्ष दुई हजार सात सयको मृगौला पूर्ण रूपमा फेल हुन्छ ।

आधुनिक जीवनशैली, खानपान, व्यस्तता, तनाव आदिका कारण सृजना हुने विभिन्न ‘रिस्क फ्याक्टर’ले मृगौला फेल हुनेहरूको सङ्ख्या बढाउँदै लगेको हो । योसँगै उपचारको दायरामा आउने बिरामीको सङ्ख्या पनि थपिँदो छ । शिक्षण अस्पतालकी मृगौला प्रत्यारोपण फिजिसियान डा. दिव्यसिंह शाहको अनुभवमा पछिल्ला दिनमा खाडी राष्ट्रमा काम गर्न गएका नेपाली युवाहरू मृगौलाले काम गर्न छाडेर फर्किने क्रम बढ्दो छ ।

खाडी मुलुकमा शुद्ध पिउने पानीको अभाव र कडा परिश्रम गरे पनि सोअनुसार पर्याप्त पानी नपिउनाले धेरैको मृगौला फेल हुन्छ । खाडी मुलुकमा कामदारको प्रत्येक वर्ष स्वास्थ्य जाँच हुने भएकाले यस्तो समस्या पहिचान भएर फर्किने क्रम पनि बढेको शाहको अनुभव छ । शाह भन्छिन्, ‘ती देशमा हरियो सागसब्जी भन्दा मासु धेरै सस्तो हुन्छ, म कहाँ आउने बिरामीले दैनिकजसो मासु खाने गरेको बताउँछन् । धेरै मासु खानु मृगौलाका लागि घातक हो ।’

वीर अस्पतालका मृगौला रोग विशेषज्ञ डा. अनिल बराल हरेक स्वस्थ्य व्यक्तिले नियमित रूपमा स्वास्थ्य परीक्षण गर्नु स्वस्थकर जीवनशैलीका लागि महत्वपूर्ण हुने सुझाब दिन्छन् । पिसाबमा प्रोटिन र रगतमा क्रियाटिनिनको जाँच र वर्षमा एकपटक भिडियो एक्सरे गराई समयमै मृगौला खराब हुन लागेको पहिचान गर्न सके मृगौला फेल हुनबाट बच्न सकिने बताउँछन् डा. बराल । ‘पहिला लक्षण देखिन्न र नियमित चेक पनि नगर्ने हो भने त अस्पताल पुग्दा अन्तिम अवस्था भइसक्छ,’ उनको भनाइ छ, ‘त्यतिबेला कि प्रत्यारोपण कि त आजीवन डायलाइसिस मात्र विकल्प बाँकी रहन्छ ।’

मृगौला रोग भएका हुनसक्ने वा स्वास्थ रहेकाहरूलाई पनि वर्षको एक पटक अनिवार्य रूपमा मृगौला परीक्षण गर्न सुझाब दिन्छन् अर्का मृगौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले । डा. काफ्ले भन्छन्, ‘करिब तीन सयको खर्चमा समयमै रोग पहिचान गरी उपचार गराउन सकिन्छ भने किन नगर्ने ?’
मृगौलाको मुख्य काम शरीरमा रहेका ‘मेटाबोलिजम’बाट उत्पादन हुने विकारहरू शरीरमा जम्मा हुन नदिई बाहिर फ्याँक्ने हो । त्यस बाहेक मृगौलाले शरीरमा पानी र लवणको मात्रा मिलाउन, क्याल्सियम र फोस्फोरसको सन्तुलन कायम राखी हड्डीहरू बलिया बनाउन, मांसपेसी र नसाहरू चल्नका लागि शरीरमा सोडियम, पोटासियमको मात्रा मिलाउन, रगत बनाउने हार्मोन, रक्तचाप नियन्त्रण र मुटुकै कार्य नियन्त्रण गर्न पनि मृगौलाको महत्वपूर्ण भूमिका हुन्छ ।

मृगौलाले विकारहरूलाई पिसाबको माध्यमबाट फाल्छ भने, लवणहरू सोडियम, पोटासियम, क्याल्सियम, फोस्फोरस जस्ता तत्वलाई मिलाउने काम गर्दछ । जुन हाम्रो शरीरका प्रत्येक कोषका लागि महत्वपूर्ण छ । चिकित्सकहरूका अनुसार शरीरका दुईवटा मृगौलाले संयुक्त रूपमा दिनभरमा लगभग १८० लिटरभन्दा बढी रगत फिल्टर गर्ने काम गर्छन् । त्यसमध्ये डेढदेखि दुई लिटर मात्रै पिसाबका रूपमा बाहिर फाल्ने काम हुन्छ र बाँकी १७८ लिटर रगत तथा पानीले शरीरमै फैलाउँछ । डा. बरालका अनुसार यो दरमा काम गर्न सकेन भने मृगौलामा समस्या देखिन थाल्यो भनेर बुझ्नुपर्छ ।’ उनी भन्छन्, ‘मृगौलाले रगत छान्दा वा फिल्टर गर्दा जति विकार उत्पादन हुन्छ उक्त विकार पिसाबका मध्यमबाट बाहिर पठाउने काम गर्दछ ।’

शरीरमा हुने भिटामिन ‘डी’लाई क्रियाशील बनाई काम गर्ने स्वरूपलाई परिवर्तन गर्ने कार्य पनि मृगौलाले गर्दछ । भिटामिन ‘डी’को क्रियाशील रूप भएपछि शरीरमा क्याल्सियम र फोस्फोरसको सन्तुलन आउँछ । जसले गर्दा हाम्रो शरीरमा भएका हड्डीहरू बलियो हुनुका साथै शरीरमा क्याल्सियम र फोस्फोरसको मात्रा नियन्त्रणमा रहन पुग्छ ।

सामान्य  व्यक्तिको शरीरमा दुईवटा सिमी आकारका करिब १० सेमि लामा दुईवटा मृगौला मेरुदण्डको दाँया–बाँया करङमुनि मिलेर बसेका हुन्छन् । वयस्क पुरुषको एउटा मृगौलाको लम्बाइ १० सेमि, मोटाइ ४ सेमि र तौल करिब एक सय २५ देखि एक सय ७० ग्रामसम्म हुन्छ । महिलाहरूको मृगौला तुलनात्मक रूपमा सानोे हुन्छ ।

चिकित्सकहरूका अनुसार मृगौलामा समस्या देखिने मुख्यतः दुई कारण छन् । एउटा मृगौला आफैँभित्रको समस्या र अर्को शरीरका अन्य अङ्गमा लागेका रोगहरूका कारण । राष्ट्रिय मृगौला उपचार केन्द्रका निर्देशक समेत रहेका डा. काफ्ले भन्छन्, ‘मधुमेह, उच्च रक्तचाप, मुटु, कलेजो, बिग्रेको अवस्थामा पनि मृगौलामा असर गर्न सक्ने सम्भावना रहन्छ,’ उनले थपे, ‘त्यस्तै मृगौलाको पत्थरी, ट्युमर, क्यान्सरजस्ता सर्जिकल समस्याले पनि मृगौला बिगार्न सक्छ । ग्लोमरुलोनेफ्राइटिस्, पोलिसिस्टिक किड्नी डिजिज अर्थात् पानीको फोका देखिने रोगले पनि मृगौला खराब गर्छ ।’

डा. बरालले मृगौला रोगीको उपचारका क्रममा बटुलेको अनुभव सुनाए, ‘जन्मजात हुने समस्या, वंशाणुगत रोगको समस्या, मधुमेह, उच्च रक्तचाप, बाथ तथा नसाका रोगहरू, मुटु, फोक्सो कलेजोमा हुने विभिन्न रोगहरूका कारण पनि मृगौलामा समस्या आउँछ ।’ शरीरको सञ्चालन प्रक्रिया मृगौलाबिना सम्भव नै नहुने भएकाले समस्या देखिनासाथ उपचार खोजिहाल्नुपर्छ । मृगौलाले काम गर्न नसकेको अवस्थामा चाहिँ मेसिनको सहायतामा मृगौलाको काम गराउने पद्धति डाइलासिस वा मृगौलाको प्रत्यारोपणको विकल्प रहन्न ।

नेपालमा सामान्यतया मृगौला प्रत्यारोपणका लागि साढे तीन लाखदेखि पाँच लाख रुपैयाँसम्म खर्च हुन्छ । तर, प्रत्यारोपणका लागि मृगौला दाता आफ्नो नजिककै नाताबाट हुनुपर्छ, जुन सहज काम होइन । प्रत्यारोपण गरिसकेपछि खाने औषधि र प्रत्यारोपणअघिको डायलासिस गर्न सामान्य नेपालीको कमाइले धान्न सक्दैन । मृगौला प्रत्यारोपण पहिलो पटक सन् १९५४ मा अमेरिकाको बोस्टनमा दुई जुम्ल्याहा दाजुभाइमा गरिएको थियो । त्यसको ५४ वर्षपछि अर्थात् सन् २००८ मा मात्रै नेपालमा यो सेवा सुरु गरिएको हो ।

कसरी गर्ने मृगौलाको हेरचाह ?

चिकित्सकहरू भन्छन्, ‘वर्षमा एकपटक मृगौलाको जाँच गर्नु अनिवार्य छ ।’ त्यसबाहेक मृगौलालाई चाहिने आवश्यक मात्रामा पानी पिउने गर्नुपर्दछ । एक व्यक्तिले सामान्यतः दैनिक अढाईदेखि तीन लिटरसम्म पिसाब हुनेगरी पानी पिउन डा. शाहको सल्लाह छ ।

प्रारम्भिक तहका जाँचबाट मृगौलामा रहेको गडबडीको सङ्केत मिलेपछि कुन तहको समस्या छ भन्ने जान्नका लागि भने विशेष परीक्षण गर्नुपर्ने हुन्छ ।

चिकित्सकहरूका अनुसार आफूखुसी र जथाभावी रूपमा एन्टिबायोटिक र पेन किलर औषधिको प्रयोगले पनि मृगौला खराब हुने क्रम बढाउँदै लगेको छ । नियमित व्यायाम, खानपानमा बिशेष ध्यान, शरीरमा तौल र रक्तचापको नियन्त्रणले पनि मृगौला जोगाउन ठूलो भूमिका खेल्छ ।

मृगौलामा देखापर्ने अन्य समस्याहरू

हेरिडिटरी डिजिजेज : जसलाई हामी ‘अल्पोट सिन्ड्रम’ पनि भन्छौ । जसका कारण बच्चाहरूले कान कम सुन्ने, आँखाको खराबी र मृगौलाको रोगहरू आउन सक्छ । फ्यावरिज डिजिज ः यसलाई वंषाणुगत रोगका रूपमा चिनिन्छ  । जसले मृगौलामा असर गर्न सक्छ । बच्चाको शरीरको विकाससँगै मृगौला खराब हुने रोगलाई फ्यावरेव डिजिज भन्दछौँ  ।

मृगौलामा पानीको फोकाहरू हुने रोगः यो पनि जन्मजात आउने रोग हो । यो दुई प्रकारको हुन्छ । एउटा बच्चामा हुन्छ, जसलाई हामी ‘एआर पीकेडी’ (अटोजोमल रिसेसिभ पोलिसेस्टिक किड्नी डिजिज) भन्छौँ । यस्ता रोगीको प्रायः वयस्कसम्म पुग्न नपाउँदैन बच्चा अवस्थामै मृत्यु हुन्छ । अर्को चाहिँ, वयस्कहरूमा हुने ‘अटोजोमल डोमिन्याट् पोलिसेस्टिक किड्नी डिजिज’ । यो वंशाणुगत समस्या हो र हरेक पुस्तामा अर्थात् बुबा–आमा वा हजुरबा–हजुरआमालाई छ भने तिनका सन्ततिलाई समेत मृगौला रोग हुन सक्ने सम्भावना ५० प्रतिशतसम्म रहन्छ । यसले साधारणतया ४० देखि ५० वर्षका मानिसको किड्नी फेल गराउँछ । पानीको फोकाको उपचार हुँदैन र नयाँ मृगौला प्रत्यारोपण नै गर्नुपर्छ ।

एक्वाएर्ड किड्नी डिजिज : जन्मदै साधारण देखिने मृगौलामा पनि रोगहरू आउन सक्छन् । यसमा कतिपय मृगौला भित्रैबाट आउने रोगहरू छन् । त्यसमध्ये ‘ग्लोमरुलो नेफ्राइटिस’ एउटा प्रमुख रोग हो ।

के हो ग्लोमरुलो नेफ्राइटिस ?

मृगौलाले एक दिनमा एक सय ८० लिटर रगत तथा पानी फिल्टर गर्नुपर्छ, त्यो फिल्टर गर्ने अङ्गको नाम ‘ग्लोमरुलो’ हो । ‘नेफ्रोन’ जुन भागमा हुन्छ त्यस भागको महत्वपूर्ण भागलाई ग्लोमरुलो भनिन्छ । त्यसको कुनै भाग ड्यामेज भयो भने त्यसले ग्लोमरुलो नेफ्राइटिस हुन्छ ।

ग्लोमरुलो नेफ्राइटिसले पिसाबमा प्रोटिन जाने, रगत देखिने, सेता रक्तकोष देखिने खाले समस्या निम्त्याउँछ । त्यसपछि अनुहार तथा पूरै शरीर नै सुन्निने भएर बिरामीहरू अस्पताल पुग्छन् । यसको पहिचान गर्नका लागि मृगौलाको ‘बायप्सी’ गर्नुपर्छ । बायप्सीपछि मात्रै रोग पत्ता लाग्न सक्छ । समयमै उपचार भयो भने मृगौला फेल हुनबाट जोगाउन सकिन्छ । ग्लोमरुलो नेफ्राइटिस मृगौलाकै कारणले पनि हुन सक्छ भने अन्य रोगका कारणले पनि । बाथ रोग र क्यान्सरले पनि यस्तो समस्या निम्त्याउँन सक्छ । त्यस्तै, मृगौलामा ‘सेकेन्डरी ग्लोमरुलो नेफ्राइटिस’ भयो भने पनि समस्या देखिन सक्छ । औषधि र संक्रमणका कारण यस्तो हुन सक्छ ।

ग्लोमरुलो नेफ्राइटिसका लक्षण

शरीर सुन्निएर आउने, उच्च रक्तचाप हुने, मृगौला फेल हुने,  पिसावमा आरबीसी, प्रोटिन र डब्ल्युबीसी देखिने, शरीरमा प्रोटिन कम हुने र कोलेस्टोरेल बढ्ने ।
मधुमेह र उच्च रक्तचाप : मधुमेह भएका सबै रोगीको मृगौलामा असर पुग्दैन । मधुमेह पनि दुई प्रकारका हुन्छन् । टाइप–१ र टाइप–२ । शरीरमा इन्सुलिन नभएका बच्चामा टाइप–१ मधुमेह देखिन्छ । टाइप–२ वयस्कमा हुन्छ । त्यसमा चाहिँ इन्सुलिनको मात्रा बढी हुन्छ । यस्ता बिरामीलाई मधुमेह भएको १० देखि २० वर्षभित्र मृगौलामा ४० देखि ५० प्रतिशत असर गरिसकेको हुन्छ । जसलाई ‘डायबिटिक नेफ्रोप्याथी’  भनिन्छ अर्थात् डायबिटिजले हुने मृगौलाको रोग ।

संसारमा सबैभन्दा बढी मृगौला फेल गराउने रोग भनेकै डाइबिटिज नेफ्रोप्याथी हो । मधुमेह नियन्त्रण बाहिर पुगेपछि त्यसले मृगौला खराब गर्दै लैजान्छ र अन्ततः मृगौला फेल हुन्छ । संसारमा करिब ५० प्रतिशत मृगौला फेल डाइबिटिज नेप्रोप्याथीका कारण हुने गरेको अध्ययनहरूले देखाएका छन् ।  उच्च रक्तचापले मृगौला फेल हुने समस्या पनि उत्तिकै छ । चिकित्सकहरूका अनुसार नेपालमा डाइबिटिज नेप्रोप्याथी पछि मृगौला फेल गराउने दोस्रो कारण उच्च रक्तचाप हो ।

अब्स्टक्टिभ युरोप्याथी

पिसाब सम्बन्धी रोग अब्स्टक्टिभ युरोप्याथी प्राथमिक रोग भने होइन । यो रोग पत्थरी, क्यान्सर, फिमोसिस, युरेथ्रल स्ट्रिक्चर आदिले हुने गर्दछ । डा. बराल भन्छन्, ‘पिसाब मार्गमा अवरोध हुँदा मृगौला सुन्निदै जान्छ र पछि फेल हुन्छ । तर यी समस्या सुरुमै पहिचान गरी उपचार गराएमा मृगौला फेल हुनबाट जोगाउन सकिन्छ ।’

बच्चा जन्मँदा लिङ्गको टुप्पोको छाला पछाडि नर्फकिँदा पनि पिसाब रोकिएर मृगौला फेल हुन सक्छ । नेपालमा धेरैजसो आमाले ख्याल नगरिदिँदा यस्तो समस्या भएका बच्चालाई पछि अस्पतालमा ल्याएको पाइन्छ । पिसाब नलीमा ‘क्याटेथर’ राख्दा चोट लाग्यो भने त्यहाँको नली साघुरिँदै गई ‘युरेथ्रा’बाट लामो समयसम्म पिसाब पूरै ननिस्कएपछि मृगौलामा समस्या देखा पर्न थाल्छ । महिलाहरूको आङ खस्ने समस्याले पनि मृगौलामा असर पुग्छ । चिकित्सकहरूका अनुसार आङ खस्दा अगाडिको पिसाब थैली र नली भएको ठाउँमा चाप पर्न गई सही ढङ्गले काम गर्न नसक्दा मृगौला फेल हुन्छ ।

इन्टरस्टिसियल नेफ्रोप्याथी

विभिन्न औषधिको प्रतिअसर र अनावश्यक सेवनका कारण मृगौला फेल हुने समस्यालाई इन्टरस्टिसियल नेफ्रोप्याथी भनिन्छ । प्रायः दुखाइ कम गर्ने ‘पेनकिलर’ले यस्तो समस्या निम्त्याउँछ । लामो समयसम्म पेनकिलर प्रयोग गर्ने मानिसको मृगौला फेल हुने सम्भावना बढी हुन्छ । ‘पेनिसिलिन’ समूहका एन्टिबायोटिकहरूले पनि यस्तो समस्या ल्याउने चिकित्सकहरू बताउँछन् । पिसाब नलीमा लाग्ने रोगहरू, पिसाब थैली र प्रोस्टेट ग्रन्थीमा हुने ट्युमर, पत्थरी वा अन्य कारणले पिसाब मार्गमा अवरोध हुँदा पनि मृगौला फेल हुने सम्भावना रहन्छ ।

आयुर्वेदिक जडीबुटीको जथाभावी प्रयोग

चिकित्सकहरूका अनुसार धेरै जडीबुटी तथा आयुर्वेदिक औषधिको प्रयोगले पनि मृगौला फेल गराएका उदाहरण प्रसस्त छन् । आयुर्वेदिक औषधिले कुनै प्रतिअसर गर्दैन भन्ने कुरा भ्रमपूर्ण रहेको चिकित्सकहरू दाबी गर्छन् । कतिपय आयुर्वेदिक औषधिकै कारण मृगौला फेल हुने गरेको अनुसन्धानले देखाएको छ । यी बाहेक, ‘क्याडवियम’, मर्करी, ‘लेड’जस्ता गह्रुँगा धातुले पनि मृगौला फेल गराउन सक्छन् ।

मेरुदण्डको समस्या

ढाड तथा मेरुदण्डको समस्याले पनि किड्नीमा असर गर्छ । जसले गर्दा पिसाब गर्न गाह्रो हुँदै जान्छ र मृगौलामा असर देखिन थाल्छ । ‘न्युरोजनिक ब्लाडर’ले पूरै पिसाब बाहिर फाल्न नसकेपछि कालान्तरमा मृगौला फेल हुन्छ ।

एक्युड किड्नी इन्जुरी (एकेआई)

अन्य समस्याका कारण मृगौला फेल हुने अवस्थालाई ‘एक्युड किड्नी इन्जुरी’ भनिन्छ । मुटु फेल भएको अवस्था, ‘सेप्सिस’ संक्रमण, झाडा पाखाला वा अरिङ्गाल, सर्पले टोकेर मृत्यु हुनु भनेको एक्युड किड्नी फेलका कारणले हो । यी रोगको समयमै उपचार गरेको खण्डमा मृगौला सामान्य भएर आउँछ । यस्तै ‘मल्टी अर्गान’ फेल हुँदा पनि किड्नी फेल हुन्छ ।

गर्भावस्थामा हुने मृगौलाको समस्या

गर्भावस्थामा धेरै रगत बग्यो वा घाउको संक्रमण अन्तिम अवस्थामा पुग्यो भने पनि मृगौलामा असर पर्छ । गर्भावस्थामा धेरै रगत गइरह्यो भने मृगौला कहिल्यै नफर्किने गरी ‘ड्यामेज’ हुन सक्छ । जसलाई ‘एक्युट कर्टिकल नेप्रोसिस’ भनिन्छ ।

मृगौला फेल हुने कारण

– वंशाणुगत
– मधुमेह
– उच्च रक्तचाप
– पिसाब सम्बन्धी समस्या
– पाठेघर खस्नु
– मृगौलामा पत्थरी, ट्युमर
– प्रोस्टेटको आकारमा बृद्धि
– जन्मजात पिसाब नलीमा खराबी
– रगतमा दूषित पदार्थको प्रवाह
– लामो समय पेनकिलरको प्रयोग
– शरीरमा पानीको कमी ।

मृगौला फेलका लक्षणहरू

– शरीर दुब्लाउँदै जाने
– शरीरका विभिन्न अङ्ग सुन्निने
– पिसाब कम हुने र पोल्ने
– पिसाबमा रगत देखिने
– क्षणक्षणमा पिसाब भइरहने
– थोरै हिँड्दा पनि थकाइ लाग्ने
– सास फेर्न गाह्रो हुने
– कोखा दुख्ने, ज्वरो आउने
– खानामा रुचि घट्ने
¬– पिँडौलाको मासु फर्किने
– वाकवाकी लाग्ने
– छाला सुख्खा हुने र चिलाउने
– उच्च रक्तचाप हुने
– रगतको मात्रा कम हुँदै जाने
– महिनावारी समयमा नहुने
– यौन रुचि घट्दै जाने
– प्रजनन दरमा कमी आउने
– ढाड र कम्मर दुख्ने