माओवादीका दुई सांसद एमाले प्रवेशसंगै हुम्लामा सत्ता गठबन्धन रक्षात्मक अवस्थामा

काठमाण्डु — हुम्लाका माओवादी नेताहरु एमाले प्रवेश गरेसंगै गठबन्धनलाई धक्का लागेको छ । स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएर हुम्लामा एमाले तेस्रो स्थानमा पुगेको थियो । तर, पछिल्लो समय माओवादी केन्द्रका प्रभावशाली नेताहरु नै एमाले प्रवेश गरेपछि हुम्लामा एमाले बलियो बन्दै गएको हो ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका निर्वतमान प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामा सोमबार एमाले प्रवेश गरेका हुन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार बालकोटमा टिका लगाएर पार्टी प्रवेश गराएका छन् ।

माओवादीका केन्द्रीय सदस्य छिमी लामा र चीनसंग सीमा जोडिएको नाम्खा गाउंपालिकाका अध्यक्ष विष्णु बहादुर लामा यसअघि नै एमाले प्रवेश गरिसकेका छन् । लामा पूर्व सांसद समेत हुन् । छक्कबहादुरसंगै दर्जनौ नेता कार्यकर्ताहरु एमाले प्रवेश गरेका छन् । उनि हुम्लामा बलियो जनमत भएका नेता हुन् ।

०७४ को प्रतिनिधिसभाको निर्वाचनमा माओवादीबाट टिकटका आकांक्षी रहेका उनलाई पार्टीले टिकट नदिएपछि माओवादीकै उम्मेदवारविरुद्ध उनले बागी उठेर चुनाव जितेका थिए । वाम गठबन्धनलाई समेत पराजित गरेर निर्वाचित भएका लामा पछि माओवादी केन्द्रमा प्रवेश गरेका थिए । लामा २०४८ सालमा समेत संयुक्त जनमोर्चाबाट निर्वाचित भएका थिए ।

छिमी र छक्कबहादुर दुवै नेता ठुलो टिमसहित एमाले प्रवेश गरेसंगै हुम्लामा गठबन्धन कमजोर बनेको हो । एमालेबाट मंगल रावल प्रतिनिधिसभा लड्ने चर्चा थियो । तर, छक्कबहादुर एमाले प्रवेश गरेसंगै उम्मेदवार फेरबदल हुन सक्ने सम्भावना छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हुम्लाका माओवादी नेता कार्चेन लामालाई कर्णाली प्रदेश सरकारको मन्त्री बनाएको थियो । उनि सांसद समेत थिएनन् । त्यसयता हुम्ला माओवादी भित्र विवाद छ । कार्चेनलाई माओवादीले छक्बहादुर विकल्पमा खडा गर्न खोजेको विश्लेषण हुन थालेको थियो ।

सत्तारुढ गठबन्धनबाट कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र कार्चेनमध्ये एक जना प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने सम्भावना छ । शाहीले प्रदेशसभा ख मा समेत उठ्न सक्ने सम्भावना रहेको उनि निकट स्रोतले बतायो । हुम्ला कांग्रेसभित्र दुई वटा समुह सक्रिय छन् । रिता शाही ,लोकेन्द्र भण्डारीलगायतका नेता कार्यकर्ताहरु शाहीको खुलेर विरोधमा छन् ।

पार्टीभित्र अर्को पक्षको असहयोग र प्रतिपक्षी दल एमाले बलियो हुंदै गएपछि मुख्यमन्त्री शाही केन्द्र र प्रदेश कहांबाट चुनावमा उठ्ने भन्नेमा अन्यौलमा रहेको उनि निटक स्रोत बताउंछ ।

शाहीले चीनसंगको सीमा विवादलाई राजनीतिक लाभका लागि उठाएको भन्दै उनको आलोचना समेत भएको थियो । शाही नेपाली कांग्रेसको महाधिवेशनमा समेत सहमहामन्त्री पदमा पराजित भएका थिए ।

‘हुम्लामा प्रभावशाली माओवादी नेताहरु एमाले प्रवेश गरेसंगै अव संघ र प्रदेश दुवैमा एमाले बलियो भएको छ । गठबन्धन भएपनि हुम्लामा अव त्यति सजिलो छैन् । त्यहीमाथि मुख्यमन्त्री शाहीको इमेज त्यति राम्रो छैन । ’ नेपाली कांग्रेसका एक नेताले भने ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...