अन्तराष्टिय लन टेनिस सुरु, खेलकुद सरकारको प्राथमिकतामा –मन्त्रि केसी

सोमवार, भदौ २६, २०७४
101

पोखरा २६ भदौ । पोखरामा सोमबारदेखि एनआइसी एसिया बैंक नेपाल आइटिएफ सिनियर च्याम्पियनशिप टेनिस प्रतियोगिता शुरु भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा सोमबारदेखि सुरु प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रि राजन केसीले एक समारोहका विच प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

मन्त्रि केसीले सुन्दर शहर पोखरा अब टेनिस शहरको नामबाट पनि चिनिने बताउनुभयो । पोखराले छोटो समयमै टेनिसमा उल्लेख्य प्रगति हाँसिल गरेको भन्दै मन्त्रि केसिले पोखरा रंगशालाभित्रको टेनिस कम्प्लेक्समा थप दुई टेनिस कोर्ट निर्माणका लागि मन्त्रालयले पनि सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

मुलुक अब समृद्धतर्फ लम्किएको बताउँदै मन्त्रि केसीले खेलकुदबाट पनि समृद्धिको अपेक्षा राखेको औल्याउनुभयो । देशको नाम अन्र्तराष्ट्रिय जगतमा चिनाउने माध्यम खेलकुद भएकाले सरकारले खेलकुदलाई प्राथमिकतामा राखेको मन्त्रि केसीको भनाई थियो । ‘खेलकुदलाई प्राथमिकतामा राखेरनै खेलकुद मन्त्रालय स्थापना भएको हो’–मन्त्रि केसीले भन्नुभयो । तर सरकारले मात्रै खेलाडी उत्पादन गर्न नसक्ने बताउँदै यसका लागि निजि क्षेत्रले पनि सहयोग र सहकार्य गर्नुपर्नेमा मन्त्रि केसीले जोड दिनुभयो ।

उद्घाटन समारोहमा बोल्दै नेपाल टेनिस संघका अध्यक्ष ज्योती राणाले आइटिएफले नेपाललाई प्रतियोगिता आयोजनाको अबसर दिएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । यसअघि राजधानिमा आयोजित जुनियर लेवलको आइटिएफमा नेपाली खेलाडीहरुले उत्कृष्ट नतिजा दिएको जनाउँदै यसपटक पनि नेपाली खेलाडीहरुले उत्कृष्ट नतिजा दिने आशा व्यक्त गर्नुभयो ।

प्रतियोगिताको सर्किट १ अन्र्तगत उद्घाटन खेलमा ३५ वर्ष माथि एकलमा पोखराका गोपीबहादुर भट्टराईले पोखराकै मुनेष थापालाई ६–०, ६–१ को सहज सेटमा पराजित गर्नुभयो । ३५ वर्ष माथिकै एकलका अन्य खेलहरुमा सिमान्त गुरुङ्गले जन्मजय शम्शेर जबरालाई ६–१, ६–२ ले, टिम मण्डिखाटारका राजु श्रेष्ठले पोखराका सूर्य भुजेललाई ६–०,६–० मा, निमा लामा शेर्पाले भारतका राजेश सोधीलाई ६–०, ६–३ मा, भारतका कमलेश शुक्लाले नेपालका गिताराज शर्मा चालिसेलाई ६–१,६–० ले र भारतकै आशिष परमारले नेपालका हेमराज ढकाललाई ६–३, ६–४ ले पराजित गर्नुभयो ।

४५ वर्ष माथिको एकलमा भारतका चन्द्रभुषणले नेपालका उत्तम बोगटीलाई ६–४, ६–० ले, पोखराका राजेन्द्र प्रसाद घिमिरेले बच्चु गोपाल बंशिलाई ७–६, ७–६ ले, नारायण पहारीले जंबु शेर्पालाई ६–१, ६–४ ले, मनोज विक्रम शाहले विनोद कायस्थलाई ६–४, ६–० ले, भारतका विजय कुमारले नेपालका विभु कायस्थलाई ६–३, ६–१ ले, काठमाण्डौका राजु श्रेष्ठले पोखराका पदम बहादुर गुरुङ्गलाई ६–२, ६–० ले, विकाश गुरुङ्गले लोक गुरुङ्गलाई ६–४, ६–४ ले, बिमलकुमार गुरुङ्गले भारतका हतिन्द्र पन्वारलाई ६–३, ६–० ले, आशिष सिग्देलले हर्विन्द्रसिंह चड्डालाई ६–०, ६–१ ले पराजित गर्नुभयो ।

आइटिएफ सर्किट १ का खेलहरु सेप्टेम्बर ११ देखि १६ सम्म तथा सर्किट २ को खेलहरु सेप्टेम्बर १८ देखि २३ सम्म पोखरा रंगशालामा संचालन हुनेछन् । प्रतियोगितामा नेपाल, भारत र फिन्ल्याण्डका गरि ७१ खेलाडीहरुको सहभागिता रहेको छ । उनीहरुले ३५,४५ र ५५ वर्ष माथिको एकल तथा डबल्स स्पर्धामा भाग लिनेछन् । विजेता खेलाडीहरुले आइटिएफ सर्किटमा नम्बर जोड्नुका साथै ट्रफि पुरस्कार प्राप्त गर्नेछन् ।

 

शेयर