माधव बराललाई प्रेस चौतारी पत्रकारिता पुरस्कार

पोखरा । प्रेस चौतारी, कास्कीले स्थापना एवं सञ्चालन गरेको ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार’ बाट यस वर्ष माधव बराल पुरस्कृत हुने भएका छन् । प्रेस चौतारी पत्रकारिता सम्मान २०८० मीना गुरुङ र हुम गुरुङलाई अर्पण गर्ने पनि प्रेस चौतारीले जनाएको छ ।

प्रेस चौतारीको २६ औं स्थापना दिवसको अवसरमा कास्की शाखाले पुरस्कार एवं सम्मान अर्पण गर्न लागेको हो । पूर्व अध्यक्ष हरि बास्तोला संयोजक, पूर्व अध्यक्ष श्याम कुँवर र पूर्व पुरस्कृत व्यक्तित्व शान्ति गुरुङ सदस्य तथा कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी र सचिव रञ्जन अधिकारी पदेन सदस्य रहेको प्रतिभा छनौट समितिले गरेको सिफारिसलाई मंगलबार बसेको कार्यसमिति बैठकले अनुमोदन गरेको सचिव अधिकारीले जानकारी दिए ।

 

पुरस्कारको राशी ११ हजार १ सय ११ बाट बढाएर यस वर्षदेखि २२ हजार २ सय २२ पुर्‍याइएको उनले बताए । प्रेस चौतारी कास्कीले लामो समयदेखि बर्षेनी प्रदान गर्दै आएको यो पुरस्कारलाई गत वर्षबाट पुनः निरन्तरता दिइएको हो ।

 

चौतारीले गत वर्षदेखि नै सम्मान अर्पण गर्न थालेको हो । गत वर्ष राजु भण्डारी र सावित्री खनाल सम्मानित भएका थिए ।  यस वर्ष सम्मानित हुन लागेका मीना गुरुङ लामो समय सञ्चारकर्मममा योगदान गरी राजनीतिमा क्रियाशील छन् ।

 

साढे २ दशकदेखि पत्रकारितामै सक्रिय हुम गुरुङ कास्की आवाज दैनिकका सम्पादक तथा प्रकाशक हुन् । अग्रणी संस्था तमु धिँ नेपालका अध्यक्ष रही समाजसेवामासमेत सक्रिय गुरुङले पत्रकारितामा लामो सयमदेखि अनवरत योगदान दिएका छन् ।

 

यस वर्ष पुरस्कृत बराल दुई दशक बढी समयदेखि पत्रकारिता गरिरहेका छन् । प्रेस चौतारी कास्कीका निवर्तमान अध्यक्ष बराल प्रेस चौतारी र प्रेस सेन्टर एकीकरण भएर बनेको प्रेस संगठन, कास्कीको पनि संयोजक बने ।

 

हाल नेपाल पत्रकार महासंघ कास्कीका सचिव बरालले २०५९ सालबाट पत्रकारिता थालनी गरेका थिए । पोखरा हटलाइनबाट पत्रकारितामा छिरेका बरालको गगन दैनिक, सन्ध्याकालीन दैनिक, माछापुच्छ्रे एफएम, धौलागिरी एफएम रेडियो अन्नपूर्ण, नेपाल समाचारपत्र, हिमाल खबर पत्रिका, समाधान दैनिक, अन्नपूर्ण पोष्ट र पब्लिक टिभीमा काम गरेको अनुभव छ । उनले पोखरा महानगरपालिकामा मेयर मानबहादुर जिसीको प्रेस संयोजकको भूमिका पनि निर्वाह गरेका छन् ।

 

बरालले २०६८ सालममा जिल्ला विकास समितिबाट उत्कृष्ट पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् । यस्तै, २०६६ मा अन्नपूर्ण एफएमबाट बेस्ट न्यूज पर्सन अफ दि इएर लगायतका आधा दर्जन पुरस्कार प्राप्त गरिसकेका छन् ।

 

बराल प्रेस चौतारीको अध्यक्ष हुँदै हाल केन्द्रीय सदस्य तथा मिडिया अनुगमन विभाग संयोजक छन् । मिडिया टेक्नोलोजीमा स्नातकोत्तर गर्दै रहेका बरालको स्थायी घर पोखरा २८, कालिका हो । उनी पोखरा १४ चाउथेमा बस्दै आएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...