महानगर प्रमुख जिसीलाई काँग्रेस नगर समितिले बुझायो ज्ञापनपत्र

पोखरा, १४ असोज । पोखरा महानगरपालिकामा भएको आर्थिक प्रशासन, कर्मचारी व्यवस्थापन र सुशासनप्रति चिन्ता व्यक्त गर्दै नेपाली काँग्रेस पोखरा महानगर नगर समितिले ज्ञापनपत्र बुझाएको छ । नगर समिति सभापति बजिरमान श्रेष्ठले महानगर प्रमुख मानबहादुर जिसीलाई ६ बुँदे ज्ञापनपत्र बुझाउनु भयो ।

यसअघि पनि प्रतिपक्ष दलका सुझाव र काँगे्रेसबाट निर्वाचित वडाध्यक्षहरुले गरेको ध्यानाकर्षणप्रति महानगर मौन बसेको भन्दै पुनः ज्ञापनपत्र बुझाइएको श्रेष्ठले जानकारी दिनुभयो । ज्ञापनपत्रमा राजस्व शाखाका तत्कालीन प्रमुखबाट आर्थिक अनियमितता भएको विषय उजागर गर्ने स्पष्ट र इमानदार लेखाप्रमुखलाई उल्टै स्पष्टीकरण सोधिएकोमा आपत्ति जनाउँदै आर्थिक अनियमितताको पनि उजागर हुने डरले अहिले लेखा प्रमुखलाई सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिनु निन्दनीय भएको उल्लेख छ ।

यसैगरी, महानगरपालिकामा कर्मचारीहरुको व्यवस्थापन, योग्यता र क्षमताका आधारमा नभई राजनैतिक आस्था आधारमा गरिएकोप्रति नगरको ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख छ । महानगरमा अस्थायी तथा करारमा भर्ना भएका प्राविधिक तथा अन्य कर्मचारीहरु विभिन्न शाखामा प्रमुखको जिम्मेवारीमा नै कार्यरत रहेको र अर्काेतिर आस्थाकै आधारमा स्थायी तथा वरिष्ठ कर्मचारीहरुलाई जिम्मेवारीबाट पन्छाउने गरिएको भन्दै निन्दा गरिएको छ ।

 

यसैगरी, हालै महानगरका विभिन्न ठाउँमा भएका दैवीप्रकोपको घटनाका पीडितलाई उचित सम्बोधन गर्न नसकेको र मृतक परिवारलाई अनुरुप राहत उपलब्ध नगराएको भन्दै तत्काल राहत दिलाउन माग गरिएको छ । वर्षाका कारण नगरका सडक भत्किएको र खाल्डाखुल्डी परेकोले तत्काल मर्मत गर्न आग्रह गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...