दशैंको अग्रिम टिकट बुकिङ खोल्न प्रस्ताव

१२ असोज, काठमाडौं । यातायात व्यवस्था विभागले असोज २० गतेबाट सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको छ । यातायात व्यवसायीहरुसँग छलफल गर्दै विभागले असेज २०देखि २५सम्म अग्रिम टिकट बुकिङ खुला गर्न प्रस्ताव गरेको हो ।

विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार दशैंमा जतिसक्दो छिटो उपत्यका छाड्ने यात्रुका लागि अग्रिम टिकट बिक्री गर्ने व्यवस्था गर्न व्यवसायीलाई आग्रह गरिएको छ ।

विभागले यो वर्ष करिब ५ लाख व्यक्तिले दशैंका लागि उपत्यका छाड्ने अनुमान गरेको छ । गत वर्षका दशैंमा करिब २० लाखले उपत्यका छाड्ने गरेकोमा यो वर्ष यस्तो संख्या करिब ४ भागले कम हुने अनुमान विभागको छ ।

व्यवसायीको घुमाउरो असहमति

सरकारले गरेको प्रस्तावमा व्यवसायीहरुले घुमाउरो रुपमा असहमति प्रकट गरेका छन् । उनीहरुले यसबारे थप छलफल हुनुपर्ने भन्दै सार्वजनिक यातायात सञ्चालनका सम्बन्धमा सरकारले लिएको नीति पुनरावलोकन हुनुपर्ने माग अघि सारेका छन् ।

सरकारले सार्वजनिक सवारीमा ५० प्रतिशत बढी भाडा लिएर सिटमा ५० प्रतिशत मात्रै यात्रु राख्न पाउने नियम बनाएको छ ।

तर, व्यवसायीहरुले विमानको हकमा यस्तो नियम नभएको भन्दै बसलाई पनि सबै सिटमा यात्रु बोक्न दिनुपर्ने माग गरिरहेका छन् । दशैंको अग्रिम टिकट बुकिङ खुल्नुअघि नै यो माग सम्बोधन हुनुपर्ने अडान व्यवसायीको छ ।

सबै सिटमा यात्रु बोक्न दिनुपर्ने माग पुरा नभई अग्रिम टिकट बुकिङ गर्नुको अर्थ नरहेको कुरा विभागमा प्रष्टसँग राखेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका एक पदाधिकारीले बताए ।

उनका अनुसार विभाग यसबारे भौतिक पूर्वाधार मन्त्रालय र कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा यसबारे जानकारी गराउने बताएको उनले बताए । यही बेला व्यवसायीले सरकारलाई पत्र नै लेखेर आधा सिटमा मात्रै यात्रु बोक्ने निर्णय सच्याउन माग गरेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...