९ अर्ब भ्रष्टाचार गरेको बाबुरामको आरोपमा ‘प्रचण्ड मुद्दा हाल्न तयार’

मुकुन्द र भट्टराईमा कुनै फरक देखिएनः प्रधानमन्त्री ओलीको सचिवालय

असोज २४, भनिन्छ, राजनीतिमा कोही पनि स्थायी शत्रु र मित्र हुँदैन । पछिल्लो समय शीर्ष नेताहरुले एकअर्कालाई लगाइरहेको आरोपले पनि यसलाई प्रमाणित गर्छ ।

प्रसंग हो, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही दिनअघि नेपालका तीन शीर्ष नेतामाथि लगाएको आरोप । पूर्वप्रधानमन्त्री डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डमाथि गम्भीर आरोप लगाएका छन् । उनले यी तीन नेताले ९ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएका हुन् ।

डा. भट्टराईले आरोप मात्र लगाएका छैनन्, आफूसँग यसलाई पुष्टि गर्न प्रमाण पनि भएको दाबी गरेका छन् ।

गृहजिल्ला गोरखाको पालुङटार–६ मा पौवाटारमा बिहीबार आयोजना गरिएको एक कार्यक्रममा उनले यस्तो संगीन आरोप लगाएका हुन् । पूर्वमन्त्रीसमेत रहेकी हिसिला यमीमाथि भ्रष्टाचारको आरोप लागेको प्रसंग निकाल्दै डा. भट्टराईले यी तीन नेताले बुढीगण्डकी जलविद्युत् आयोजनामा भ्रष्टाचार गरेको बताएका हुन् ।

‘लाख र करोडौंको कुरा छोडौँ अर्बौ अर्बका दोहन भइरहेको छ,’ डा. भट्टराईले भनेका छन्, ‘बुढीगण्डकी मलाई थाहा छ । ९ अर्ब रुपैयाँ, केपी ओली, शेरबहादुर देउवा र प्रचण्डहरुले बाँडेर खानुभएको छ ।’

त्यो कार्यक्रममा उनी यतिमै रोकिएका छैनन् । उनले थपेका छन्, ‘बुढीगण्डकी अलपत्र भएर बसेको छ । मलाई थाहा छ यी कुराहरु । १०÷८ जना कमिशनखोरहरु छन्, यी सबको नाम नलिउँ यी सबैले यिनको मुखमा बुजो लाउँछ । अनि यीनले अलि बिरोध गरेजस्तो गरेपनि भित्र तिनै कमिशनखोरको बलमा केही गर्न सक्नुहुन्न ।’

डा. भट्टराईले देशमा भएको ब्रम्हलुट रोक्न आफू लागिपरेको पनि बताएका छन् । उनले आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको र गरेको कसैले आरोप लगाउँछ भने पुष्टि गर्न समेत चुनौति दिएका छन् ।

‘ल बाबुरामले कहाँ भ्रष्टाचार ग¥यो ? ल बताउनुस् त । अरु केही नपाएर हिसिला यमी भ्रष्टाचार भनेर प्रचार गरे । तर, कँही पुष्टी भएन । न्यूयोर्क टाइम्सले पनि के के लेख्यो रे भनेर प्रचार गरे । न्यूयोर्क टाइम्सले भनेकै छैन,’ उनले भने, ‘पत्रकारले नै यसलाई खोजेर आफैं खण्डन गरे ।’

कार्यक्रममा डा. भट्टराई जब यसो भन्छन्, दर्शकदीर्घाबाट ठूलो तालीको गडगडाहट सुनिन्छ । अनि डा. भट्टराई उत्साहित हुँदै थप्छन्, ‘यी चोरेर ८ कलास पास गर्नेहरु । १० क्लास फेल हुनेहरु । अनि तिनले हामीलाई भ्रष्टाचारी भन्ने ? यो पत्याउने कुरा हो ? कति साथीहरुले पत्याउनुभयो ?’

डा. भट्टराईले यस्तो संगीन आरोप लगाएको दुई दिन भइसकेको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले प्रधानमन्त्रीसमेतलाई गम्भीर आरोप लगाए पनि यसको खण्डन र प्रतिक्रिया कसैले गरेका छैनन् । न प्रधानमन्त्री ओलीले यसलाई खण्डन गर्नु पर्ने आवश्यकता देखेका छन्, न दुई पूर्वप्रधानमन्त्री प्रचण्ड र देउवाले यसबारे केही बताएका छन् ।

यही सन्दर्भमा हामीले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई सम्पर्क गर्यौँ । थापाले डा. भट्टराईको यो अभिव्यक्तिलाई स्टन्टबाजीको संज्ञा दिए । ‘यस्तो दाबी गर्नेले तथ्यसत्यसहित प्रमाण दिएर राज्यलाई अनुसन्धानमा सहयोग गर्न पर्यो नि,’ थापाले फरकधारसँग भने, ‘अहिले यो उहाँको स्टन्टबाजी मात्र हो । बाबुरामजीका यस्ता स्टन्टबाजीमाथि ध्यान दिनु आवश्यक छैन । सडकमा त ज्ञानेन्द्र शाही पनि बोलिरहेका छन्, डाक्टरसाब पनि ।’

यतिमात्र होइन, यस्तो अभिव्यक्ति दिने डा. भट्टराई योग्य पात्रबाट स्खलित हुँदै गरेको र अहिले स्टन्टबाजीमा लाग्न थालेको थापाले आरोप लगाए । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यसमेत रहेका थापाले भने, ‘उहाँलाई थाहा थियो भने किन निदाएर बस्नुभएको छ त ? पूर्वप्रधानमन्त्री भएको मान्छेलाई त्यो कुरा थाहा छ, प्रमाण छ भने किन उहाँ चुप बस्नुभयो ?’

थापाले फरकधारसँगको टेलिफोन संवादमा थपे, ‘उहाँले त्यो आयोजना आफू अनुकूल कसैलाई दिन चाहनुभएको थियो, तर अब आफ्नो योजनामा धक्का, ठेस लागेपछि, उहाँको इच्छा पूरा नभएपछि यस्तो स्टन्टबाजी गर्न थाल्नुभयो ।’

भट्टराईको आरोपमा कुनै तुक नभएको समेत थापाको दाबी छ ।

यतिमात्र होइन, डा. भट्टराईको यो आरोपसँग थापाले मुकुन्द घिमिरेको नाम जोडे । ‘अब त मुकुन्द घिमिरे जति पनि तथ्यमा बोल्नुहुन्न डाक्टर भन्ने कुरा सबैलाई थाहा भयो,’ उनले भने, ‘मुकुन्द घिमिरेले बोलेका कुरा बरु धेरै तथ्यमा, तर्कमा आधारित हुन्छन् । डाक्टरको कुरा मुकुन्द घिमिरेसँग पनि तुलना गर्न योग्य छैनन ।’

हामीले डा. भट्टराईको यही गम्भीर आरोपबारे नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा पनि सोध्यौँ । प्रचण्ड सचिवालयका एक सदस्यले नाम नलेख्न अनुरोध गर्दै डा. भट्टराईले राजनीतिक स्टन्टका लागि यस्तो जथाभावी बोलेको आरोप लगाए । ‘पूर्वप्रधानमन्त्री समेत भइसकेका नेताले प्रमाणबिना यसरी जथाभावी बोल्न नहुने हो,’ उनले भने ।

 

आफू चर्चामा आउन डा. भट्टराईले यस्तो गरेको हुनसक्ने उनको अनुमान छ । ‘यस्तो गम्भीर आरोप लगाउँदै जथाभावी बोल्दै हिँड्दा हामी भोलि मुद्दा पनि हाल्न सक्छौँ,’ उनले भने, ‘उहाँले कि प्रमाण पेश गर्नुप¥यो, होइन भने यस्तो जथाभावी कुरा गर्नुभएन ।’

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...