विवादबीच जसपा कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक कात्तिक पहिलो हप्ता बस्ने भएको छ । विवादबीच बस्न लागेको कार्यकारिणी समितिको बैठकले महŒवपूर्ण एजेन्डामा छलफल गर्ने बताइएको छ ।

जसपा कार्यकारिणी समितिका सदस्य रामसहाय यादवले ३ र ४ कात्तिकमा बैठक काठमाडौंमा बस्न लागेको बताए । विधान र नियमावली संशोधन, कार्यविभाजन, संघीय परिषद् गठन, केन्द्रीय समिति गठन, पार्टी समायोजनलगायतका विषयमा बैठकमा छलफल हुने जसपाले जनाएको छ ।

साउन अन्तिम साता सम्पन्न भएको जसपा कार्यकारिणी समितिको बैठकले जिम्मेवारी बाँडफाँट, पदाधिकारी चयन र नेताहरूको मर्यादाक्रम टुंगो लगाउन पाँच सदस्यीय पदाधिकारीलाई सचिवालय निर्माण गर्दै जिम्मेवारी दिएको थियो । तर, विवादका कारण सो जिम्मेवारी शीर्ष नेताले पूरा गर्न सकेका छैनन् ।

जसपा अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, वरिष्ठ नेतात्रय अशोक राई, डा. बाबुराम भट्टराई र राजेन्द्र महतोलाई यसअघिको बैठकले जिम्मेवारी दिएको थियो । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीका बीचमा एकीकरण भई गत १० वैशाखमा जसपाको घोषणा भएको हो ।

जसपाको केन्द्रीय कार्यकारिणी र पाँच पदाधिकारीबाहेक अरू सांगठनिक एकीकरणका बाँकी रहेको छ । नेताहरूको जिम्मेवारी बाँडफाँटदेखि केन्द्रीय समिति, प्रदेश, जिल्ला समितिहरूसमेत अझै गठन हुन सकेको छैन ।

वैकल्पिक शक्ति निर्माण गर्ने उद्घोष गर्दै पार्टी एकीकरण गरिएको भए पनि एकीकरणको ६ महिना पुग्नै लाग्दा जसपाको सांगठनिक एकता अझै हुन सकेको छैन । जसपा विधानमा सात सय एक सदस्यीय केन्द्रीय समिति बनाउने उल्लेख गरिएको छ । जसमा समाजवादीको तर्फबाट ३ सय ५० र राजपाबाट ३ सय ५० सदस्य रहने सहमति दुई पार्टीका बीचमा भएको छ ।

तर तत्कालीन राजपाभित्र तीव्र विवाद रहेको छ । विवादकै कारण दुई वटा नामावली तयारी भएको जसपा स्रोतको दाबी छ । तत्कालीन राजपा नेता ठाकुर, महतो, महेन्द्रराय यादव, शरतसिंह भण्डारी, राजकिशोर यादव र अनिल झाका बीचमा सदस्य संख्यालाई लिएर मतभेद रहेको छ ।

जसपा स्रोतका अनुसार ठाकुर र महतोले आफूसँग १ सय ८ राखेर महेन्द्र र भण्डारीलाई ४०÷४०, राजकिशोर र अनिललाई २७÷२७ सदस्य दिने गरी भागबन्डा गर्ने प्रस्ताव गरेका थिए । तर, सो प्रस्ताव महेन्द्र, राजकिशोर र अनिलले अस्वीकार गर्दै आफूलाई थप सदस्य अझै दिनुपर्ने अडानमा रहेका छन् ।

महेन्द्र, राजकिशोर र अनिलले ठाकुर र महतोको कोटाबाट घटाएर अन्य चार नेताको कोटा बढाउनुपर्ने प्रस्ताव गरेका छन् । ठाकुर र महतोको कोटाबाट घटाएर महेन्द्र र भण्डारीलाई ५२÷५२, अनिल र राजकिशोरलाई ३८÷३८ हुनुपर्ने प्रस्ताव असन्तुष्ट समूहले राखेका छन् । तर ठाकुर र महतोले आफूहरूको तत्कालीन पार्टीको संगठन गाउँ गाउँसम्म रहेकाले सोहीअनुसार सदस्य संख्या अरूभन्दा बढी नै हुुनुपर्ने अडानमा छन् ।

दुई पार्टी एकीकरणपश्चात् बनेको जसपा कार्यकारिणी समितिमा समेत ठाकुर र महतोले मनोमानी गरेको आरोप महेन्द्र, अनिल, राजकिशोरले लगाउँदै आएका छन् । जसपा अध्यक्षसमेत रहेका ठाकुर र वरिष्ठ नेता महतोले पूर्वसहमतिअनुसार सदस्य संख्या आफूहरूका लागि नछुट्याएको आरोप लगाउँदै छुटै नामावली तयार गर्ने असन्तुष्ट नेताहरूको रणनीति रहेको छ ।

तत्कालीन राजपाको केन्द्रीय सदस्य ८ सय ६१ थियो । तर, अहिले उसले ३ सय ५० केन्द्रीय सदस्य छान्नुपर्ने भएकाले नेतृत्वलाई मिलाउन सकस भएको छ । समाजवादीको केन्द्रीय सदस्य ४ सय ३१ रहेको थियो । केही निष्क्रिय तथा केही दोहोरो जिम्मेवारीमा रहेकाले उसलाई केन्द्रीय सदस्य छान्न सजिलो छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...