बाबुरामलाई विवेकशीलको आग्रह : ९ अर्ब भ्रष्टाचारको प्रमाण अख्तियारलाई दिनुस्

२६ असोज, काठमाडौं । विवेकशील नेपाली दलले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई बुढीगण्डकी जलविद्युत आयोजनामा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले भ्रष्टाचार गरेको प्रमाण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउन आग्रह गरेको छ ।

पूर्वप्रधानमन्त्री भट्टराईले हालै गोरखामा आयोजित एक कार्यक्रममा बुढीगण्डकीमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीद्धय पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ बाँडेर खाएको र आयोजना अलपत्र पारेको आरोप लगाएका थिए ।

यसै सन्दर्भमा विवेकशील नेपाली दलले यो प्रकरणको अविलम्ब छानबिन अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) लाई आग्रह गरेको छ । ‘आफूसँग त्यसको प्रमाणसमेत रहेको’ बताएका पूर्व प्रधानमन्त्री भट्टराईलाई समेत ती प्रमाणहरू अदुअआमा बुझाएर अनुसन्धान कार्यमा सहयोग गर्न अनुरोध गर्दछौं’ विवेकशील नेपाली दलका नेता प्रदेश सांसद रमेश पौड्यालले भनेका छन् ।

यो विषय सामान्य अनुचित कार्य मात्र नभएर सार्वजनिक हित प्रतिकूलको विषय र राष्ट्रिय महत्त्वको विषयसमेत भएकाले अख्तियारले उच्च प्राथमिकतामा राखेर छानबिन अघि बढाउनु पर्ने पौड्यालले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...