महिलाले गरिन् आफुमाथि बलात्कार प्रयास गर्ने पुरुषको हत्या

सांकेतिक तस्वीर

२९ असोज, धनकुटाको महालक्ष्मी नगरपालिका–१ मारेककटहरेमा एक महिलाले आफुमाथि बलात्कार प्रयास गर्ने पुरुषको हत्या गरेकी छन् । मारेककटहहरेको घुमाउँनेकी ३० बर्षीया कमला गुरुङले स्थानीय लीलबहादुर गुरुङको हत्या गरेकी हुन् ।

लीलबहादुरले बलात्कार प्रयास गरेपछि महिलाले प्रतिकारमा खुकुरी प्रहार गर्दा उनको मृत्यु भएको पाइएको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक गोबिन्द अधिकारीले जानकारी दिए । ‘राती ढोका फुटाएर आफुमाथि बलात्कार प्रयास गरेपछि खुकुरी प्रहार गरेको महिलाले बयान दिएकी छन् । हाम्रो प्रारम्भिक अनुसन्धानले पनि बलात्कारको प्रतिकारमा हत्या भएको देखिएको छ ।’ एसपी अधिकारीले भने–‘मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याएका छौं । महिलालाई पनि नियन्त्रणमा लिएर घटनाको बिषयमा थप अनुसन्धान गर्दैछौ ।’

घटना मंगलबारराती करिब १० बजेको हो । कमलाको भनाई उदृत गर्दै स्थानीय हस्तबहादुर मगरले दिएको जानकारी अनुसार राती कमलाको घरमा गएर लीलबहादुरले ढोका ढकढकाएर खोल्न आग्रह गरे । भित्रबाट नखोलेपछि बाहिरबाटै ठेलेर चुकुल उत्काई भित्र पसेर लीलबहादुरले कमलामाथि बलात्कार प्रयास गरे । सोही क्रममा खुकुरी भेटेर हानेको कमलाले बयान दिएका छन् । खुकुरी प्रहारपछि लीलबहादुर भागेका थिए । टाउकोमा गंभीर चोट लागेका उनको बुधबार बिहान स्थानीय लाहुरे खोल्सीमा शव फेला परेको हो ।

३० बर्षीय मृतक लीलबहादुर विवाहित हुन् । उनका दुई छोरा छन् । श्रीमतीले उनलाई छोडेर करिब एक बर्ष पहिले नै अर्को बिहे गरेकी थिईन् । यता, बलात्कार प्रयास गर्दा प्रतिकार गर्ने कमलाका श्रीमान बैदेशिक रोजगारीको सिलसिलामा करिब १५ महिना पहिले दुवई गएका छन् । उनी ११ बर्षे छोराको साथमा घरमा भएका बेला घटना भएको हो । धनकुटामा बलात्कारका घटना बेला–बेला सार्वजनिक भईरहेको भएपनि बलात्कारको प्रतिकारमा हत्या भएको सम्भवतः यो पहिलो घटना हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...