अर्थमन्त्रीको निर्देशन राजस्व संकलनमा ध्यान दिनुस्, निजी क्षेत्रको मनोबल उठाउने गरी काम गर्नुपर्नेछ

काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षका लागि तोकिएको राजस्व संकलन र वैदेशिक सहायता परिचालनको लक्ष्य हासिल गर्ने गरी काम गर्न निर्देशन दिएका छन्।
पदभार सम्हाल्दै मन्त्री पौडेलले राजस्व संकलनको लक्ष्य र वैदेशिक सहायता परिचालनको लक्ष्य नभेट्टाउँदा अर्थतन्त्र चलाउन नै कठिन हुने भएकाले लक्ष्यअनुसार काम गर्न निर्देशन दिएका छन्।

मन्त्री पौडेलले चालु वर्षका बजेटले तोकिएका लक्ष्य भेट्टाउने गरी खर्चको पाटोको व्यवस्थापन पनि प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिएका छन्।

उनले निजी क्षेत्रको मनोबल उठाउने गरी काम गर्नुपर्नेमा पनि जोड दिएका छन्। ‘एकातिर कानुनको परिपालना गराउने र नियामकीय भूमिका बलियो बनाउनुपर्नेछ भने अर्कोतिर लगानी अभृद्धि गराइ रोजगारी सिर्जना गर्ने कुरामा पनि निजी क्षेत्रको मनोबल बढाउने गरी सन्तुलन कायम गर्नुपर्नेछ,’ उनले भने।

मन्त्री पौडेलले दातृ निकायको विश्वास जितेर अघि बढ्नुपर्ने अवस्था रहेको पनि बताएका छन्। आन्तरिक स्रोत परिचालनका अतिरिक्त विकास साझेदारको विश्वास जितेर अघि बढ्नुपर्ने परिस्थित अहिले रहेको उनको भनाइ छ।

शासक होइन, साथी ठान्नुस्
मन्त्री पौडेलले आफूलाई शासक नभइ साथी ठान्न पनि कर्मचारीलाई आग्रह गरेका छ्न। ‘म तपाईंहरूसँग रुखो र कठोर शासक भएर होइन, तपाईंहरूसँग मामिलाहरूमा जीवन्त ढंगले छलफल गर्दै समस्यामा सँगै प्रवेश गर्ने र सँगै समाधान खोज्ने कार्यशैलीका साथ म प्रस्तुत हुन चाहन्छु,’ उनले भने।

नियमनकारी निकाय, अन्य मन्त्रालय, राज्यका अन्य अंग, निजी क्षेत्र र विकास साझेदारको बीचमा घनिष्ठ सहकार्यको वातावरण तयार गर्न मन्त्रीका रूपमा सिंहदरबार प्रवेश गरेको उल्लेख गरे।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...