पोखरा वडा १ मा मुटुरोग अस्पताल बनाउन माग, सरोकार समिति गठन

पोखरा, असोज २९ गते । पोखरा महानगरपालिका–१ टुँडिखेल र सिम्पानीमा तत्कालीन साइनिङ अस्पतालको जमिनमा मुटुरोग अस्पताल बनाउन स्थानीयवासीले दवाव दिने भएका छन् ।


तत्कालीन साइनिङ अस्पतालले भोचलन गरेको ७० रोपनी हाराहारीको सो जग्गा सो अस्पताल पश्चिमाञ्चल अस्पतालमा गाभिएसँगै केही व्यक्तिले आफ्नो नाममा हडप्ने प्रयास गरेपछि पोखराका नागरिक अगुवाले अदालतमा मुद्धा दायर गरेर जग्गा सार्वजनिक बनाउन सफल भएका थिए ।

टुँडिखेलको कित्ता नं ३३८ र ५९१ रहेको जमिन साइनिङ अस्पतालबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा हकभोग कायम भएर लालपूर्जा बनेको लामो समयसम्म समेत मुटुरोगको अस्पताल नबनेको भन्दै दवाव सिर्जना गर्न सरोकार समिति गठन गरिएको छ । सो जग्गामा मुटुरोग अस्पताल बनाउने योजना सोही बेला बनेको थियो ।

नागरिक समाजको नेतृत्वमा सो जम्मा सार्वजनिक बनाएर हालको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उपलव्ध गराएर मुटु रोगको विशिष्टकृत अस्पताल बनाउने भनिएपनि हालसम्म प्रतिष्ठानले कुनै पनि कार्य अघि नबढाएको स्थानीयको भनाई छ ।अस्पताल बनाउने कार्य अविलम्व अघि बढाउन दवाव दिन वडावासीको भेलाले इन्द्रेणी एकीकृत विकास समाजका अध्यक्ष भानुभक्त अधिकारीको संयोजकत्वमा सात सदस्सीय सरोकार समिति गठन भएको छ । उहाँहरुले अस्पताल बनाउन जस्तोसुकै कदम चाल्न समेत पछि नपर्ने बताउनुभयो ।

परापूर्व कालदेखी साइनिङ अस्पतालको नाममा रहेको जग्गालाई नागरिक समाजको नेतृत्वमा सार्वजनिक भएर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा लालपूर्जा बनेर मुटुरोग अस्पताल बनाउने स्थानीयको शुरुदेखीको माग हालसम्म पनि पूूरा नभएको सरोकार समितिका अध्यक्ष अधिकारीले बताउनुभयो ।“जमिन सार्वजनिक भएदेखीनै हामीले मुटुरोग अस्पताल बनाउन माग गरेका थियौँ र त्यसतर्फ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले ध्यान दिएको छैन । अब अस्पताल बनाउन दबाब सिर्जना गछौँ ।”अधिकारीले भन्नुभयो ।

व्यक्ति विशेषले आफ्नो नाममा अरवौँ मुल्य बराबरको सो जग्गा आफ्नो नाममा दर्ता गर्न खोजेपछि पोखराका नागरिक अधिकारकर्मी टेकनाथ बराल, विश्वप्रकाश लामिछाने लगायतले सो जमिन सार्वजनिक बनाउन लागि पर्नुभएको थियो । तत्कालीन अधिकारकर्मी लामिछाने स्थानीयले गठन गरेको सरोकार समितिको सल्लाहकार चयन हुनुभएको छ ।

ठूलो लँडाई लडेर साइनिङ अस्पतालको जग्गा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नाममा लालपूर्जा बनाउन सफल भएको स्मरण गर्दै लामिछानेले यथाशीघ्र मुटु रोगको विशिष्टिकृत र अन्य जनरल सुविधा सहितको अस्पताल बनाउन ढिलाई गर्न नहुने बताउनुभयो ।
पोखरामा पहिलो चिकित्सा प्रणालीको अस्पताल समेत रहेको साइनिङ अस्पतालको इतिहास जोडिएकाले सुविधासम्पन्न र आधुनिक मुटु अस्पताल बनाउने गरी हस्तान्तरण गरिएको लामिछानेले बताउनुभयो ।

उहाँले भन्नुभयो“शुरुदेखीनै सो जग्गा सार्वजनिक हुनुपर्दछ र अस्पताल बनाउनुपर्दछ भनेर अभियान शुरु गरेकाले मलाई पनि सरोकार समितिको सल्लाहकार बनाउनुभएको छ । म त्यो भूमिका निभाउन तयार छु । नागरिकले मुद्धा लडेर जितेर ल्याएको अरबौँको जग्गामा नागरिक तयार भएका बेला गण्डकी प्रदेशकै नमूना अस्पताल बन्नै पर्दछ । ”

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति डा बुद्धिबहादुर थापाले भन्नुभयो स्थानीयवासीको मागका बारेमा आइतबार छलफल गर्ने तयारी गरिएको बताउनुभयो । “यसका बारेमा लामो छलफल आवश्यक छ के गर्ने भन्ने बारेमा हामी छलफल गर्दैछौँ ।” थापाले भन्नुभयो ।

भानुभक्त अधिकारीको संयोजकत्वमा गठित सरोकार समितिको चन्द्रबहादुर गुरुङ,प्रेमरमण आचार्य,प्रजापति पराजुली, दिलबहादुर गुरुङ,कल्पना पराजुली र राधा गुरुङ सदस्य हुनुहुन्छ । समितिको सल्लाहकारमा टेकनाथ बराल, विश्वप्रकाश लामिछाने,शारदा पौडेल, माया गुरुङ, सुजन श्रेष्ठ, बाबुराम आचार्य, शारदाकुमारी पराजुली, गंगाबहादुर गुरुङ र शिवप्रसाद पराजुली रहनुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...