फरार तीन प्रतिवादी पक्राउ

कञ्चनपुर, कात्तिक १४ गते। वनपैदावार सम्बन्धी मुद्दामा वारदातदेखि फरार रहेका तीन प्रतिवादीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–४ का २९ वर्षीय भरत कामी, ३६ वर्षीय जनकलाल चौधरी र २६ वर्षीय नरेश राना रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनु भयो ।


कञ्चनपुर जिल्ला अदालतको गत वर्ष असार २३ गतेको फैसलाअनुसार तीनै जनालाई दोषी ठहर गर्दै एक÷एक महिना कैद र जनही रु १७ हजार ४०६ जरिवाना तोकिएको थियो । वारदात गरी विसं २०७५ कात्तिकदेखि तीनै जना फरार रहेका थिए ।

आवश्यक कारवाहीका लागि प्रहरीले तीनै जनालाई अदालतमा पेश गरेको जनाएको छ । यसैगरी लागु औषधसम्बन्धी मुद्दामा वारदातदेखि फरार रहेका लालझाडी गाउँपालिका–७ कञ्जका २१ वर्षीय हिरेन्द्र रानालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । भाग्दै गरेको अवस्थामा रानालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो ।

लागु औषध मुद्दामै अदालतबाट दोषी ठहर भएका कैलालीको धनगढी उपमहानगरपालिका–७ बस्ने २१ वर्षीय एकलव्य जोशीलाई समेत प्रहरीले राजपुर क्षेत्रबाट पक्राउ गरेको छ । पक्राउ परेका दुवै जनालाई कञ्चनपुर जिल्ला अदालतमा पेश गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...