भर्जिन वडा पोखरा–२३ मा पिच बाटो

पोखरा, असोज १८ गते । देशकै ठूलो पोखरा महानगरपालिकाकाको एक मात्र पिच बाटो नपुगेको भर्जिन वडा पोखरा–२३ मा पिच बाटो बनाउन शुरु भएको छ । फेवातालको श्रोत क्षेत्रको रुपमा रहेको पोखरा–२३ को वामदीबाट मार्कीसम्मको कच्ची सडक पिच बाटो बनाउन शुरु भएको हो । योसँगै पोखराका ३३ वटै वडामा पिच बाटो बन्ने भएको छ ।

गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीको पहलमा गण्डकी प्रदेश सरकारको बजेट परेपछि पिच बाटो निर्माणको शिलान्यास गरिएको छ । कोरोनालाई कहरका कारण विकास निर्माण अबरुद्ध भएको भनिरहँदा पोखरा २३ मा भने कोरोनालाई अवसरको रुपमा बदल्ने अठोटसहित बाटोको शिलान्यास गरिएको हो । सो पिच बाटो निर्माणको प्रदेश सांसद राजिव पहारीले शिलान्यास गर्नुभयो ।

लौरुक वामदी चापाकोट ग्रामिण सडक उपभोक्ता समितिमार्फत निर्माण हुने सडक ३ सय मिटरको छ । प्रदेश सरकारबाट बाटो निर्माणका लागि ४५ लाख रुपैयाँ छुट्याएपनि ३४ लाख ४७ हजार ६ सय २२ रुपैयाँमा टिबी कन्स्ट्रक्सन एण्ड भिलेजले बाटो निर्माणको ठेक्का पाएको छ । ५ मिटर चौंडाईको सो पिचमा २ सेन्टिमिटर प्रिमिस पिच गरिने ठेकेदार बिनोद भण्डारीले जानकारी दिए । उनका अनुसार बाटोको दक्षिणतर्फको साइडमा नाली बनाइनेछ भने नालीसँग जोडिएको माथिल्लो भागमा रिटेनिङ वाल निर्माण गरिनेछ । ४ महिना भित्रमा बाटो निर्माण गरिसक्ने गरि ठेक्का लिएपनि २ महिना भित्रै सडक निर्माण गरिसक्ने लक्ष्य लिइएको ठेकेदार भण्डारीले बताउनुभयो ।

बाटो शिलान्यास कार्यक्रममा बोल्दै सांसद पहारीले पोखरा–२३ मा पिच बाटो निर्माणको शुरुवात मात्र भएको बताउनुभयो । यो फिल्मको कास्टिङ मात्रै हो,‘उहाँले भन्नुभयो,‘भर्जिन वडामा पिच बाटो बन्न शुरु भो, अब यो निरन्तर चल्छ ।’ उहाँले अहिले निर्माण शुरु गरिएको पिच बाटोले पोखरा–२२ पुम्दीभुम्दीस्थित पलाईँचेसम्म पु¥याउने र त्यसका लागि बजेट उपलब्ध गराइ छाड्ने बाचा गर्नुभयो । सांसद पहारीले फेवातालमा लेदोसहितको ढुंगा माटो बगेर आउन नदिनपनि फेवातालको सिरान क्षेत्रका रुपमा रहेका पोखरा–२३ र २४ वडाका कच्ची बाटोलाई पिच बनाउनुपर्ने आवश्यक्ता रहेकोमा जोड दिनुभयो । उहाँले फेवातालको तटीय तथा सिरान क्षेत्रको विकास नभई फेवाताल संरक्षण नहुने भन्दै त्यसले लेकसाईडलाई घाटा भन्दा बढी फाईदा हुने बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...