भारतीय मजदुरका भरमा इँटा उद्योग, कामदार नआउँदा ८५ उद्योग बन्द

विराटनगर २१ असोज । विकास निर्माणका लागि पहिलो जगको रुपमा रहेको इँटा प्रदेश १ मा उत्पादन नहुने भएको छ । नेपालका अधिकांश उद्योग भारतीय मजदुरको भरमा छन् । तर कोभिड १९ का कारण सीमा सिल भएका कारण मजदुर आउन नपाउँदा उत्पादन नहुने अवस्था सिर्जना भएको हो ।

वार्षिक ३ अर्ब ४० करोड रुपैयाँ बराबर कारोबार गर्ने प्रदेश १ का उद्योग मजदुर अभावमा सञ्चालन नभएका हुन् । प्रदेश १ का ८५ इँटा उद्योग छन् । मजदुर ल्याउन नपाए उद्योग सञ्चालन गर्न नसकिने उद्योगीहरुले बताएका छन् ।

प्रदेश १ का इँटा उद्योगमा भारतको पश्चिमबंगालको कुचबिहारबाट मजदुर आउँछन् । प्रदेश १ का उद्योगमा २२ हजार भारतीय मजदुरले काम गर्ने गरेको इँटा व्यवसायी संघले जनाएको छ । संघले उद्योग मन्त्रीलाई इँटा उद्योग सञ्चालनका लागि पहल गरिदिन ज्ञापनपत्र बुझाए पनि भारतबाट सहजरुपमा मजदुर आउने निश्चित नभएपछि उद्योग सञ्चालन हुने सम्भावना घर्किदै गएको छ ।
इँटा उद्योगले वर्षमा एक सिजन हिउँदमा इँटा बनाउने र बिक्री गर्छन् । ईट्टा उद्योगमा काम गर्ने ९० प्रतिशत कामदार भारतको पश्चिमबंगालको कुचबिहार जिल्लाका हुन् । इँटा उद्योगीले पहिले नै एक सिजनको रकम भुक्तानी गरेपछि उनीहरु स–परिवार आवासीयरुपमा उद्योगमा काम गर्न आउँछन् ।

भदौ अन्तिमदेखि असोजभित्रमा उनीहरु उद्योगमा काम सुरु गर्छन् । वैशाखसम्ममा घर फर्किसक्छन् । कोभिड १९ महामारीका कारण अन्तर्राष्ट्रिय नाका सिल भएपछि यो वर्ष उनीहरु आउने सम्भावना नरहेको एबीआई इँटा उद्योगका सञ्चालक तथा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले जानकारी दिए । उद्योग संगठनका तर्फबाट इँटा उद्योगमा भारतबाट आउने मजदुरलाई ल्याउन दिनु पर्ने भन्दै जिल्ला प्रशासनमार्फत् गृहमन्त्रालयमा ज्ञापनपत्र पठाए पनि सुनुवाइ नभएको उनले बताए ।

यो सिजनमा उद्योग सञ्चालन हुन नसके प्रदेश १ मा इँटाको अभाव हुने र त्यसले विकास निर्माणका कामहरु प्रभावित हुने छ ।

प्रदेश १ मा उत्पादन हुने इँटा एशियाकै उत्कृष्ठ इँटाभित्र पर्ने व्यवसायीले बताएका छन् । उद्योगले उत्पादन गर्ने इँटा ७ रुपैयाँदेखि १८ रुपैयाँ गोटासम्म पर्छ ।

प्रदेश १ मा रहेका ८५ इँटा उद्योगले वार्षिक न्यूनतम ३४ करोड इँटा उत्पादन गर्दै आएका छन् । प्रदेश १ का इँटा भट्टाले वार्षिक करवापत ३५ करोड राजश्व बुझाउँदै आएका छन् । उद्योग सञ्चालनमा नआए सरकारले राजश्वसमेत गुमाउने छ ।

इँटा उद्योग तथा व्यवसायी संघ प्रदेश १ का अध्यक्ष खगेन्द्र श्रेष्ठले इँटा भट्टा उद्योगको काम सकिएपछि मजदुर पठाउन निकै सास्ती खेप्नु परेको बताउँदै ल्याउन पनि निकै कठिन रहेको बताए ।

कुचबिहारबाट आउने मजदुरलाई पहिले नै पेमेन्ट पठाउनु पर्छ । अहिले नेपाल–भारत सीमा नाकाबाट मानिसको आउजाउ पूर्ण बन्द भएको बेला पैसा पठाउँदा मजदुर आएनन् भने उद्योगी डुब्ने अवस्था भएकाले जोखिम मोल्न नसकिने उनले बताए । ‘यता त्यति धेरै मजदुर नेपाल सरकारले प्रवेश दिने कि नदिने भन्ने टुंगो छैन,’ उनले भने ‘मजदुरविना उद्योग सञ्चालन हुँदैन ।’

उनीहरु नेपाल आएपछि पीसीआर परीक्षण गराउँदा एउटामात्रै कोरोना पुष्टि भए उद्योगमा उनीहरुलाई स्थानीयले नै बस्न नदिने वातावरण भएकाले यो वर्ष इँटा उद्योग सञ्चालन गर्ने पक्षमा उद्योगीहरु नरहेको श्रेष्ठले बताए ।

कोशी इँटा उद्योग तथा व्यवसायी संघका महासचिव राजन तिम्सिनाले उद्योग सञ्चालन हुने अवस्था नरहेको बताए ।

नेपालका मात्र मजदुरले उद्योग सञ्चालन गर्न नसकिने भएकाले भारतबाट मजदुर ल्याउन सरकारले नै पहल गरिदिनु पर्ने उनले बताए । ‘भारतले नेपाली मजदुरलाई विना रोकटोक प्रवेश गर्न दिइरहेको छ ।’ उनले भने, ‘नेपाल सरकारले भने उताका मजदुर आउन दिने या नदिने प्रष्ट नीति बनाएको छैन ।’ स्वास्थ्य प्रटोकललाई पहिलो सर्त राखेर भारतबाट मजदुर आउन दिनु पर्ने धारणा तिम्सिनाको छ ।

विदेशबाट नेपाली आउँदा पीसीआर परीक्षण गरेको रिपोर्टका आधारमा आउन दिने र क्वारेन्टाइनको व्यवस्था गरिएको छ । त्यसरी नै उद्योगमा आउने मजदुरको पनि उतै पीसीआर परीक्षण गरेर आउन दिने र यता उद्योगले नै क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन स्थानीय सरकारले सहयोग गर्नु पर्ने तिम्सिनाले बताए ।

मजदुर आउन नदिने हो भने उद्योगहरुका लागि भन्सार छुटमा अटोमेटिक मेसिनहरु आयात गर्न सहुलियतको व्यवस्था सरकारले गरिदिनु पर्ने महासचिव तिम्सिनाले माग गरे ।

इँटा उत्पादन नहुँदा मूल्य बढ्ने व्यवसायीहरुले बताएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...