स्क्रिनमा लामो समय बिताउनेहरूमा आँखा सुख्खा हुने समस्या बढ्दो

२२ असोज । आज विश्व दृष्टि दिवस । अक्टोबर महिनाको दोश्रो बिहीबारका दिन विश्वभरि दृष्टि दिवस मनाइन्छ ।

विश्वभरि करिब ३९ करोड मानिसहरू अन्धा छन् । अन्धोपनका पाँचमध्ये चार केसहरूमा मानिसहरूलाई अन्धोपनहुनबाट बचाउन सकिन्छ । विश्वका विभिन्न देशहरूमा मात्र नभएर नेपालमा पनि प्रत्येक वर्ष आँखामा समस्या हुने बिरामीको संख्या बढ्दै गएको छ ।

विराटनगरस्थित रामलाल गोल्छा आँखा अस्पतालका आँखा विशेषज्ञ डा. भास्कर झाका अनुसार अस्पतालमा दैनिकजसो एक सय २० भन्दा बढी बिरामीहरू आउने गरेका छन् । हालको समयमा अस्पतालमा धेरैजसो कम्प्युटर, मोबाइल, टिभीलगायतका स्क्रीन हेर्ने युवाहरू, ७÷८ घण्टा अन्लाइन क्लास लिने बिद्यार्थीहरू र वर्क फ्रम होममार्फत् काम गर्नेहरू आँखा दुख्ने, टाउको दुख्ने जस्ता समस्या लिएर आउने गरेका छन् ।

यीसँगै नजिकको दृष्टि वा टाढाको दृष्टि हेर्न कमजोर भएकाहरू, चस्मा जाँच गराउन आउनेहरू, आँखामा एलर्जी भएका, आँखा चिलाउने, घोच्नेलगायतका समस्या लिएर बिरामीहरू आउने गरेका छन् । लकडाउनमा अस्पताल आउन नसकेका कारण मोतियाबिन्दुको समस्या भएका मानिसहरूको आँखा पाक्ने, दुबै आँखामा मोतियाबिन्दुको समस्या लिएर आउने मानिसहरूको संख्या पनि बढ्दो छ ।

स्क्रिनका कारण आँखा सुख्खा हुने समस्या बढ्दो

लकडाउनका मोबाइल र कम्प्युटरलगायतका स्क्रिन हेर्ने समय बढेका कारण खासगरी आँखा सुख्खा हुने समस्या आमरुपमा बढ्दै गएको हो । स्कुल बन्द भएका कारण सुरु गरिएका अन्लाइन क्लास, वर्क फ्रम होम, धेरै मोबाइलको प्रयोग र अफिसमा घण्टौं स्क्रिनको अगाडि बसेर काम गर्ने मानिसहरूलाई आँखा सुख्खा हुने समस्या देखिन थालेको छ । धेरैजसो अफिसमा काम गर्नेहरू एयर कन्डिसनमा बस्ने गर्छन् । एसीले पनि आँखालाई सुख्खा पार्ने समस्या निम्त्याउन सक्छ । आँखा सुख्खा हुँदा आँखा चिलाउने, पोल्ने, आँखाबाट आँसु बग्ने, टाउको दुख्नेलगायतका समस्या देखापर्न सक्छ ।

आखाँसम्बन्धी समस्या देखिने अन्य कारण

उमेर बढेसँगै आँखाको समस्या पनि सुरु हुँदै जान्छ । विशेषगरी, ४० वर्षमाथि आयु भएका मानिसहरूको आँखामा समस्या आउन सुरु हुँदै जान्छ । उमेर बढ्दै गएपछि आँखा सुख्खा हुने, नजिकको दृष्टि कम देख्ने सामान्य समस्या हुन् । उमेर बढेसँगै आँखामा देखिने प्रमुख समस्या भनेको मोतियाबिन्दु, जलबिन्दुहरू हुन् ।

आँखामा पहिलादेखि नै समस्या भएका, लामो समय स्क्रिनमा समय बिताउनेहरू, एसीमा बस्नेहरू, महिलाहरूमा महिनावारी रोकिएसँगै, सुगर, प्रेसरलगायतका विभिन्न रोग लागेमा, कुनै रोगको लामो समयसम्म औषधिको सेवन गरेमा, आँखामा गरिने शल्यक्रियाका गरेका मानिसहरूमा आँखासम्बन्धी विभिन्न समस्या देखा पर्ने सम्भावना बढ्दै जान्छ । आँखा धमिलो हुने, एकैपटक आँखा देख्न कम नभई बिस्तारै–बिस्तारै आँखा कम देख्दै जाने, बादल लागेकोजस्तो देख्ने, छाया परेकोजस्तो देख्नेलगायतका लक्षणहरू देखिन सक्छन् ।

आँखालाई स्वास्थ्य राख्ने तरिका

टिभी हेर्दा वा कम्प्यूटर चलाउँदा केही समय आँखालाई आराम दिने गर्नाले पनि आँखा सुख्खा हुन पाउँदैन । डा. झाका अनुसार आँखा सुख्खा भएको समस्या लिएर आउनेहरूलाई आँखा सुख्खा हुने मानिसहरूलाई स्क्रिन टाइम कम गर्ने, घण्टौं काम गर्नु परे बीचबीचमा ब्रेक लिने, स्क्रिन र आँखाको पोजिसन सिधा हुने गरी मिलाउने, ब्राइटनेस कम गर्ने, बारम्बार परेला झिम्काउने, पटकपटक पानी पिउने, भिटामिन भएका खानेकुराहरूको सेवन गर्नेलगायतका सुझावहरू दिइन्छ, जसले आँखा सुख्खा हुने समस्या हुन पाउँदैन ।

यदि कम्प्युटर वा ल्यापटपमा बस्दा आँखामा देखिएका समस्यालाई वेवास्ता नगरी तुरुन्त चिकित्सककोमा गई आँखा सुख्खा हुन नदिने आई–ड्रप्सको प्रयोग गर्नु पर्ने हुन्छ । त्यस्तै, ४० वर्षको उमेर कटेपछि आँखामा समस्या नभए पनि सबै (पुरूष होस् वा महिला)ले वर्षमा एकपटक आँखाको डाक्टरसँगै आँखा जाँच गराउँदा भविष्यमा हुने आँखाको समस्या वा अन्धोपन हुने सम्भावनालाई रोक्न सकिन्छ । मोतियाबिन्दु भएकाहरूको शल्यक्रिया गराउनु पर्ने हुन्छ । मधुमेह, उच्च रक्तचापलगायतका अन्य रोगहरू छन् भने त्यसको असरको बारेमा पहिले थाहा पाए उपचार गर्न सजिलो हुन्छ ।

हालको समयमा आँखामा अस्थायी समस्याहरू भन्दा पनि गम्भीर र लामो समयसम्म असर गर्ने समस्याहरू बढिरहेको छ । जसले अन्धोपन हुने सम्भावनालाई पनि बढाइरहेको छ । अन्धो भएर उपचार गर्नुभन्दा आँखामा समस्या हुन नदिन रोकथाम गर्नु जरुरी हुन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...