नेपाली भान्सामै कोरोनाको ओखती छ – प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड –१९ रोकथाम र नियन्त्रण गरी जनताको जीवन रक्षामा सरकारको मुख्य ध्यान रहेको जनाउँदै औषधिमय नेपाली भान्साको परम्परा र ज्ञानलाई थप खोज र विस्तार गर्न आग्रह गरेका छन् ।

गैरआवासीय नेपाली सङ्घ, अन्तरराष्ट्रिय समिति ‘एनआरएनए’ को दोस्रो ज्ञान सम्मेलनको भर्चुअलरुपमा आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आयुर्वेदिक र एलोप्याथिक दुवै क्षेत्रको सहयोगबाट कोरोनाविरुद्धको लडाइँ लडिएकाले नेपालका बहुमूल्य जडिबुटी र भान्सामा प्रयोग भइरहेका औषधिमय गुण भएका चिजको प्रयोग बढ्दो रहेको उल्लेख गरे ।

उनले भने, ‘हाम्रा ज्ञान, अनुभव र सीपको प्रयोगको विकास गर्न थप खोज र अनुसन्धान गर्न आवश्यक छ । महामारीसँग लड्दै गरेको स्थितिमा पनि आर्थिक समृद्धिका लागि आशाका केही किरणहरु देखिने गरी विकासको गति हासिल गर्दै गएका छौँ । यसमा गैरआवासीय नेपालीको पनि ज्ञान, सीप र लगानी हामी आह्वान गरिरहेका छौँ ।’

प्रधानमन्त्री ओलीले आन्दोलनको उपलब्धिस्वरुप लोकतान्त्रिक गणतन्त्र प्राप्ति भइसकेकाले अब शान्तिपूर्ण प्रतिस्पर्धाबाट अधिकारसँगै सबै जीवनसँग सम्बन्धित चाहना र दायित्वमा केन्द्रित हुन आवश्यक भएको बताउँदै विश्वका ठूला अर्थतन्त्र भएका मुलुक महामारीबाट आर्थिक चपेटामा परेका बेला नेपालको आर्थिक वृद्धिदर शून्य र ऋणात्मकतर्फ नजाने सकारात्मक स्थिति रहेको उल्लेख गरे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...