कोरोना संक्रमणका कारण विराटनगर र धरानमा एकै दिन ६ जनाको मृत्यु

२३ असोज । कोरोना संक्रमणका कारण एकै दिन प्रदेश १ मा ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विराटनगरमा चार जना र धरानमा दुई जनाको मृत्यु भएको हो ।

नोबेल मेडिकल कलेज विराटनगरमा तीन जना कोशी अस्पतालमा एक जना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठाधन धरानमा दुई जनाको मृत्यु भएको हो ।

शुक्रबार दिउँसो विराटनगर–१२ की ५५ वर्षीय महिलाको नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो । नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार श्वासप्रश्वासमा अचानक समस्या भएपछि महिलालाई सिटी सफारीमा राखेर थप उपचारका लागि अस्पताल ल्याइएको थियो ।

आइसोलेसनमा भर्ना गर्नका लागि आकस्मिक कक्षमा पुर्‍याएको केही बेरमै संक्रमितको दिउँसो ४ः३० मृत्यु भएको हो ।

नोबेल मेडिकल कलेज विराटनगरमा मोरङको रंगेली नगरपालिका–४ का ७२ वर्षीय संक्रमित वृद्धको बिहीबार राति करिब १० बजे मृत्यु भएको हो । अस्पतालका प्रबन्धक दाहालका अनुसार बुधबार बिहान अस्पताल ल्याइएका ७२ वर्षीय वृद्धको आइसोलेशनमा उपचारका क्रममा मृत्यु भएको हो ।

शुक्रबार बिहान सुनसरी धरान उपमहानगरपालिका–१२ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । मृतकमा श्वास फेर्न गाह्रो हुने र फोक्सोमा संक्रमणको समस्या थियो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इटहरी उपमहानगरपालिका–६ का ६८ वर्षीय पुरुषको शुक्रबार बिहान १२ः३० बजेतिर मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । वृद्धलाई असोज २० गते कोरोना संक्रमण पुुष्टि भएको थियो । मृतकमा दीर्घ रोग थिएन ।

प्रतिष्ठानमा दुहवी नगरपलिकाका ५२ वर्षीय संक्रमित पुरुषको शुक्रबार बिहान २ बजेतिर मृत्यु भएको हो । मृतकमा मृगौला रोगको गम्भीर समस्या थियो ।

शुक्रबार बिहान १० बजे कोशी अस्पताल विराटनगरमा जिल्ला कारागार मोरङमा बन्दी जीवन बिताइरहेका २० वर्षीय युवकको मृत्यु भएको हो ।

कोशी अस्पताल विराटनगरको आइसोलेशन प्रमुख डाक्टर लक्ष्मीनारायण यादवका अनुसार बिहीबार बिहान साढे ७ बजे भर्ना भएका युवकमा बिहीबार बेलुका ९ बजे कोरोना पोजेटिभ देखिएको थियो ।

आइसोलेशनमा नै रहेको अवस्थामा शुक्रबार बिहान १०ः१५ मा मृत्यु भएको डाक्टर यादवले बताए । कोरोना पोजेटिभ देखिएका युवकलाई आईसियू आवश्यक थियो । तर कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा आइसियू बेड खाली नभएका कारण अस्पतालकै आइसोलेशनमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको हो ।

शुक्रबार एकै दिन ६ जनाको मृत्यु भएसँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९४ पुगेको छ । संक्रमितको संख्या ९ हजार नाघेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...