सुदूरपश्चिम प्रदेशमा हालसम्म ७ हजार ८८९ जना सङ्क्रमित

सुदूरपश्चिम प्रदेशमा शुक्रबार ७० जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार कैलाली, कञ्चनपुर, बैतडी, अछाम, बझाङ, डडेलधुरा, दार्चुला र डोटी जिल्लाका नयाँ सङ्क्रमित थपिएका हुन् । मन्त्रालयको तथ्याङ्कमा थपिएका सङ्क्रमितमा सुर्खेत जिल्लाका समेत एक जना रहेका छन् ।

प्रदेशमा हालसम्म सात हजार ८८९ जना सङ्क्रमित पुगेका छन् । सक्रिय सङ्क्रमित बिरामी एक हजार ४० जना रहेका छन् । असोज महिना लागेसँगै प्रदेशमा सङ्क्रमित हुने र मृत्यु हुने दरमा केही वृद्धि भएको छ । सङ्क्रमणबाट असोज महिनामा थप छ जनाको मृत्यु भएपछि आजसम्म मृत्यु हुनेको सङ्ख्या १८ जना पुगेको छ । सक्रिय सङ्क्रमितको दर पनि पछिल्ला दिनमा बढ्दै गएको देखिएको छ ।

तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाइ खास गरी बजार क्षेत्रमा सर्वसाधारणको चहलपहल बढ्दै जाँदा कोरोनाको जोखिम पनि बढेको स्वास्थ्यकर्मीको भनाइ छ । कोभिड-१९ को सङ्क्रमणका कारण हालसम्म कैलालीमा नौ, अछाम, बझाङ,र बाजुराका दुई/दुई र कञ्चनपर, डडेलधुरा र बैतडीका एक/एक जनाको मृत्यु भएको छ।

पछिल्ला दिनमा प्रहरी कार्यालयका प्रमुख सहितका प्रहरी कोरोना सङ्क्रमण देखिएपछि यसको असर सुरक्षा व्यवस्थापनमा पनि देखिन थालेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतिक बिष्टले प्रहरी कोरोनाबाट सङ्क्रमित हुँदा केही असहज महशुस भएपनि शान्ति सुरक्षा व्यवस्थापन लगायतको नियमित काममा समस्या नरहेको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षकसहित जिल्लाभरी हालसम्म ५४ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ती मध्ये १३ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...