कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक आज बस्दै

काठमाडौँ, कात्तिक २३ गते । नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या झण्डै दुई लाख नजिक पुग्न लागेपछि सरकारले कोरोना रोग रोकथाम, नियन्त्रण र उपचारका लागि नयाँ नीति लिने सम्भावना बढेको छ । त्यसका लागि सरकारले गृहकार्य थालेको छ ।

सर्वोच्च अदालतले कोरोनाबाट सङ्क्रमितको उपचार निःशुल्क गर्न दिएको आदेश सहितका विषयमा छलफल गरी नयाँ रणनीति तय गर्ने उद्देश्यले उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक आइतबार बस्न लागेको छ ।

काठमाडौँ उपत्यका मेयर फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले गोरखापत्रसँग कुरा गर्दै भन्नुभयो, “उपप्रधानमन्त्री संयोजक रहेको सीसीएमसीको बैठक आइतबार बस्दैछ, त्यसमा कोरोना सङ्कट व्यवस्थापनका विषयमा विस्तृत छलफल हुनेछ, सर्वोच्च अदालतले दिएको निर्देशनका विषयमा पनि छलफल हुनेछ ।”

प्रमुख शाक्यले काठमाडौँ उपत्यकामा अहिले पनि आइसोलेसन खाली छन्, त्यसको समस्या छैन, यस विषयमा कस्तो रणनीति लिने भनेर सो बैठकमा छलफल हुने जानकारी पनि दिनुभयो । उहाँले यस बैठकबाट कोरोना महामारीको सङ्कटलाई कसरी व्यवस्थापन गर्ने भनेर सरकारले नयाँ रणनीति ल्याउने विश्वास पनि व्यक्त गर्नुभयो । हाल काठमाडौँ उपत्यकाका करिब १५ हजारभन्दा बढी कोरोना सङ्क्रमित घरमै एकान्तबसमा छन् ।

निको हुने डेढ लाख नाघे पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट शनिबार दुई हजार २०६ जना कोरोनामुक्त भएका छन् । यो सङ्ख्यासँगै निको हुनेको कुल सङ्ख्या एक लाख ५५ हजार ११४ पुगेको छ । मन्त्रालयका अनुसार कोरोना निको हुने दर ८१ प्रतिशत रहेको छ । हाल देशभर सक्रिय सङ्क्रमित ३५ हजार ४३५ छन् । हाल देशका विभिन्न ठाउँमा रहेका क्वारेन्टाइनमा एक हजार १४४ जना क्वारेन्टाइनमा छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...