जनताले बनाएको प्रधानमन्त्रीको राजीनामा माग्नु ब्यर्थ ः प्रधानमन्त्री ओली

सङ्खुवासभा, कातिक २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले अरुण तेश्रोको कामबाट आफु सन्तुष्ट रहेको बताउनुभएको छ । बुधबार अरुण तेश्रोको स्थलगत अनुगमनमा सङ्खुवासभा आउनुभएका प्रम ओलीले यस्तो बताउनुभएको हो ।

प्रम ओलीले अरुण तेश्रो जलविद्युत परियोजनाको पावर हाउस निर्माण क्षेत्र पुखुवा र ड्याम निर्माण क्षेत्र फ्याक्सिन्दा दोभानको अनुगमन गर्नुभएको हो । बोल्नुहुँदै प्रम ओलीले आफु रहरले प्रधानमन्त्री नभई जनताले बनाएको बताउनुभएको छ । जनचाहना अनुसार आफुले सरकारको नेतृत्व गरिरहेकोले कसैले राजिनामा दिन लगाउनु जनचाहना बिपरित रहेको दावी गर्नुभयो ।

‘जनताले आवश्यक ठानेर प्रधानमन्त्री बनाएको हो, कोहि कसैले राजिनामा माग्नु ब्यर्थ हो’, प्रम ओलीले भन्नुभयो । उपचारको क्रममा आफैले डाक्टरसँग डिस्चार्ज मागेको ३ दिनपछि काममा लागेको बताउनुहुँदै आफु सधै देश विकासको चिन्तामा चिन्तित रहेको बताउनुभयो । पछिल्लो समय पार्टी फुटको हल्ला चलाईएकोले त्यस्ता कुराको विश्वास नगर्न समेत ओलीले आग्रह गर्नुभयो ।अनुगमनमा भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ र प्रदेश १ का मुख्य मन्त्री शेरधन राईको पनि उपस्थिती रहेको थियो ।

अनुगमनका क्रममा अरुण तेश्रो जलविद्युत परियोजनाका कार्यकारी प्रमुख अरुण धिमानले प्रगति बिवरण पेश गर्नुभएको थियो । अरुण तेश्रोको बारेमा लगानी बोर्ड मार्फत अपडेट भईरहेको र यस पटक आफै स्थलगत अनुगमनमा आएको बताउनुभयो । अरुण तेश्रोको अढाई बर्ष अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिसँगै सिलान्यास गरेको स्मरण गराउनुहुँदै कामबाट आफु सन्तुष्ट रहेको बताउनुभयो । अरुण तेश्रो मार्फत स्थानीयले मात्र नभएर देशले नै लाभ लिन सकिने भएकोले यसलाई सकरात्मक रुपमा लिनु पर्ने प्रम ओलीले बताउनुभयो ।

धिमानले हाल दुई हजार ४ सय कामदाहरुबाट २४ सै घण्टा काम भईरहेको जानकारी दिनुभयो । अहिलेसम्म ३ सहायक सुरुङ मार्ग सहित ड्याम साईडबाट पावरहाउससम्म पुग्ने सुरुङ मार्ग (डाईभर्सन टनेल) निर्माण सम्पन्न भईसकेको धिमानले जानकारी दिनुभयो । अहिले उक्त सुरुङ मार्गहरुलाई ‘कङ्क्रिड’ बनाउने काम भईरहेको उहाँले जानकारी दिनुभयो ।

९ सय मेगावाट क्षमताको अरुण तेश्रो परियोजना सन २०२२ मा सम्पन्न हुने परियोजना विकास सम्झौता (पिडिए) मा उल्लेख गरिएको छ । १ खर्व ४४ अर्व लागत अनुमान गरिएको यस परियोजनाबाट नेपाललाई २१ दशमलब ९ प्रतिशत निशुल्क विद्युत प्राप्त हुनेछ भने विभिन्न शिर्षकमा ३ खर्ब ४८ रुपैयाँ आर्थिक लाभ लिनेछ । आयोजनाबाट स्थानीय प्रभावितहरुले १ अर्ब ६० करोड रुपैयाँको सेयर पाउनुका साथै प्रति महिना ३० युनिट विद्युत प्राप्त गर्नेछन् । निर्माण सम्पन्न भएको २५ बर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने पिडिएमा उल्लेख गरिएको छ ।

प्रम ओलीले किमाथाङ्का नाका र उत्तर दक्षिण कोशी राजमार्गको पनि अवलोकन गर्नुभएको छ । बुधबार बिहान हेलिकप्टरबाट किमाथाङ्का ओर्लनुभएको प्रम ओलीले उत्तर दक्षिण कोशी राजमार्गको भने हवाई अनुगमन मात्र गर्नुभएको थियो । चिन, भारत र नेपाललाई जोड्न देशकै महत्वपुर्ण बाटो रहेको बताउनुहुँदै राज्यको प्राथमिकतामा रहेको बताउनुभयो । सडक खण्डको पहरा छिचोल्न नेपाली सेनालाई जिम्मा दिईसकिएको र सडक ट्रयाक ओपन भएपछि कालो पत्रेसम्मको काम क्रमस हुने गरिने बताउनुभयो । सडक निर्माणपछि किमाथाङ्का निक्कै नजिक हुने प्रम ओलीले दावी गर्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...