कोभिडविरुद्धको खोप एकसय वर्षकै सबैभन्दा ठूलो उपलब्धि

काठमाडौं, कात्तिक २७ गते । वैज्ञानिकद्वय उगुर सहिन र ओज्लम तुरेसीले आफ्नो जीवन क्यान्सर र सङ्क्रामक रोगको अनुसन्धानात्मक कार्यमा समर्पित गरेका छन् ।  ‘इम्युनोथेरापी’ पद्धतिबाट क्यान्सरको उपचारमा वर्षौं बिताएका छन् ।


तर कोरोनाभाइरस महामारीबीच सहिन र तुरेसि जोडीले ‘मोडिफाइड जेनेटिक कोड्स’को क्षेत्रमा गर्नुभएको अभूतपूर्ब अनुसन्धानले विश्वको ध्यान आकृष्ट गराउन सफल हुनुभएको छ । विश्वकै पहिलो प्रभावकारी कोरोना भाइरसविरुद्धको खोप अन्वेषण पछाडि यी दुबैजनाको मस्तिष्क हो । ५५ वर्षीय सहिन र ५३ वर्षीया तुरेसिले बायोएनटेकको स्थापना सन् २००८ मा गर्नुभएको हो । मध्य जर्मनीको मैन्ज शहरमा उक्त कम्पनी अवस्थित छ ।
सोमबार कम्पनीको अमेरिकी साझेदार एवम् विशाल औषधि निर्माता कम्पनी फाइजरले आफ्नो खोपको प्रयोगले परीक्षण गरिएकामध्ये ९० प्रतिशत ब्यक्तिमा प्रभावकारी भएको दाबी गरेको छ । कम्पनीले यसअघि कहिले प्रयोगको अनुमति नदिइएको मेसेन्जर आरएनए वा एमआरएनए विधिको प्रयोग गरिएको छ । जसले खोप दिइने ब्यक्तिमा प्रतिरक्षा प्रतिक्रियात्मक रुपमा विकसित गर्ने गर्छ ।

मङ्गलबार सञ्चारकर्मीसँगको कुराकानीमा सहिनले भन्नुभयो, “मानव समुदायका लागि राम्रो सन्देश के छ भने हामीले कोभिड–१९ सङ्क्रमणको उन्मूलन खोपमार्फत् गर्न सक्छौं ।” सीएनएनसँगको कुराकानीमा फाइजरका कार्यकारी प्रमुख अल्बर्ट बौर्लाले पछिल्लो एकसय वर्षको यो अहिलेसम्मकै सबैभन्दा ठूलो विकास र उपलब्धि भएको दाबी गर्नुभयो ।

वैज्ञानिक समुदायकै लागि खोपको अन्वेषण ठूलो खुड्किलो भएपनि सहिन र तुरेसी औषधि विकास विज्ञानको दुनियाँमा अब्बल मानिन्छन् । जोडीले फिजिसियनहरुलाई प्रशिक्षण दिएर सन् २००१ म क्यान्सरविरुद्ध एन्टीबडी विकास गर्ने औषधि निर्माण गर्न गेनीम्ड फर्मास्युटिकल्सको स्थापना गरे । सन् २०१६ मा उक्त कम्पनी एक अर्ब ६० करोड अमेरिकी डलरमा बिक्री गरियो ।

कार्यकारी प्रमुख सहिन र प्रमुख मेडिकल अधिकृत तुरेसी जर्मनीका पहिलो एक सय धनीको सूचीमा सूचीकृत हुनुहुन्छ । गतवर्ष चार अर्ब ६० करोड अमेरिकी डलर बजार मूल्य रहेको उहाँको नस्दाकमा सूचीकृत कम्पनीको मूल्य मंगलबार २५ अर्ब ७२ करोड डलर पुगेको छ ।गत् मे महिनामा सीएनएनसँगको कुराकानीमा सहिनले निरन्तरको दुई दशकसम्म औषधिविज्ञान क्षेत्रमा काम गर्दा समाजका लागि केही योगदान दिन चाहेको बताउनुभएको थियो । टर्कीको भूमध्य तटको इस्केन्ड्रममा सहिनको जन्म भएको हो । चार वर्षको छँदा उहाँ जर्मनीको कोलोग्ने बसाइ सर्नुभयो । रोयटर्सका अनुसार उहाँका बुवा त्यसताका फोर्ड कम्पनीमा कार्यरत हुनुहुन्थ्यो ।

उहाँले टर्कीका एक जना फिजिसियनकी छोरी तुरेसिलाई भेट्नुभयो । त्यत्तिबेला दुबैजना आफ्नो शैक्षिक जीवनलाई उज्यालो बनाउने प्रयासमा हुनुहुन्थ्यो । रोयटर्सका अनुसार सहिन र तुरेसिले क्यान्सर अनुसन्धानमा जुटनुभयो ।गत् जनवरी महिनामा सहिनले चीनको वुहान शहरमा कोरोनाभाइरस सङ्क्रमणबारे शोधपत्रमा पढ्नुभएको थियो । सहिनले एन्टी क्यान्सर एमआरएनए औषधिलाई एमआरएनएमा आधारित भाइरल खोपमा परिणत गर्न सानो पाइला चाल्नुभयो । बायोएनटेकले आफ्ना पाँचसय जना कर्मचारीलाई सम्भावित एमआरएनए यौगिक अनुसन्धान गर्ने आयोजनाका लागि अह्रायो ।

सहिनलाई उहाँका समकक्षीहरुले “भद्र र नम्र” ब्यक्तिको रुपमा उल्लेख गर्छन् । जर्मनीको मैन्ज विश्वविद्यालयमा सहिनका समकक्षी प्राध्यापक मत्तिस थिओबाल्डले उपलब्धि र सफलताका बावजूद उहाँ अत्यन्तै अतुलनीय भद्र ब्यक्ति रहेको बताउनुहुन्छ ।मङ्गलबार नै सञ्चारकर्मीहरुसँग कुराकानी गर्नुहुँदै सहिनले भन्नुभयो, “फाइजर÷बायोएनटेकले उत्पादन गर्न लागेको खोप कोरोना विरुद्धको एक मात्र खोप नहुने विश्वास गरेका छौं ।” उहाँले अमेरिकी खाद्य तथा औषधि प्रशासनलाई आकस्मिक अवस्थामा उक्त खोपको प्रयोगका लागि अनुमति माग्ने योजना बनाएको जानकारी दिनुभयो । स्वीकृति प्रदान गरिएपछि सन् २०२१ को अन्त्यसम्म एक अर्ब ३० करोड खोपको डोज उत्पादन गर्ने लक्ष्य राखेर काम भइरहेको सहिनले खुलाउनुभयो ।   साभार गोरखापत्र अनलाइन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...