तिहारमा लोडसेडिङ हुदैन्

काठमाडौँ, कात्तिक २८ गते । तिहारको समयमा विद्युत् आपूर्ति पर्याप्त रूपमा हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।विगतका वर्षमा लक्ष्मी पूजाका दिन अत्यधिक विद्युत् माग हुने गरेकामा यसपटक भने सामान्य दिनमा भन्दा अझै कम विद्युत् खपत हुने अनुमान गरिएको छ । तिहारका बेला विद्युत् उपलब्धतामा कुनै कमी नआउने र ग्राहकलाई अविछिन्न रूपमा विद्युत् उपलब्ध गराउने प्राधिकरण व्यवस्थापनले जनाएको छ ।


विगतका वर्षमा उद्योग, कलकारखाना, होटल, व्यापारिक केन्द्रसमेत सञ्चालन हुने गरेकाले विद्युत्को खपत उच्च हुने गरेको थियो तर कोरोना महामारीका कारण होटल, कलकारखाना पूर्ण रूपले सञ्चालन नभएकाले विद्युत् मागको चाप नरहने प्रक्षेपण प्राधिकरणको छ । प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार प्राधिकरणले पर्याप्त र अविछिन्न विद्युत् उपलब्ध गराउने गरी आवश्यक सबै तयारी गरेको छ ।

उहाँले भन्नुभयो, “हामीलाई विद्युत्को कुनै समस्या छैन । तिहारको समयमा मज्जाले घर झिलिमिली पार्न हामी चाहिएजति बिजुली दिनसक्ने अवस्थामा छौँ । ”उहाँले भन्नुभयो, “वितरण प्रणालीमा कुनै प्राविधिक समस्या आएमा तत्काल समस्या समाधान गर्न सबै क्षेत्रका प्राविधिक टिमलाई तयारी अवस्थामा राखेका छौँ । ”

शाक्यका अनुसार प्राधिकरणको वितरण प्रणालीको मर्मतसम्भार तथा क्षमता बढाउने काम पनि योजनाअनुसार निरन्तर भइरहेकाले धेरै समस्या पछिल्ला दिनमा पिक डिमान्ड एक हजार ३५० मेगावाटसम्म पुग्ने गरेको छ तर तिहारको सार्वजनिक बिदासँगै यो माग अझ घट््ने देखिन्छ । प्राधिकरणले कुलेखानी जलाशयको पानीबाट आवश्यकता अनुसार हालको भन्दा थप विद्युत् उत्पादन गर्ने, भारतबाट आयात गर्नेजस्ता तयारी पनि गरेको छ ।

प्राधिकरण भार प्रेषण केन्द्र प्रमुख सुरेशबहादुर भट्टराईका अनुसार अहिले दैनिक औसत माग एक हजार २५० मेगावाट आवर छ तर कोरोना महामारीका कारण बन्द भएका स्थानमा लक्ष्मी पूजालगायत तिहारका दिनमा हुने थप खपत सिर्जना हुने अवस्था छैन ।

पछिल्ला दिनमा राष्ट्रिय प्रसारण लाइनमा निजी क्षेत्रका जलविद्युत् आयोजनाबाट ४८० मेगावाट, प्राधिकरणका आफ्ना आयोजनाबाट ५२० मेगावाट र करिब ७० देखि ८० मेगावाट भारतबाट आयात हुने गरेको छ । पिक डिमान्डको समयमा भने भारतबाट २५० मेगावाटसम्म आयात गर्ने गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...