भेषजबिन्दु पुरस्कार प्रा.डा. तिमल्सेनालाई

पोखरा,कात्तिक २८ गते । भेषजविन्दु साहित्यिक पुरस्कारका प्रा.डा. पशुपतिनाथ तिमल्सेनालाई प्रदान गरीने भएको छ। भेषजराज साहित्य प्रतिष्ठानको नियमित बैठकले तिमिल्सेनालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । उक्त पुरस्कार २०७४ सालदेखि प्रदान गरिदै आइएको छ ।

प्रा.डा. रविलाल अधिकारीको संयोजकत्वमा गठित प्रतिष्ठानका संस्थापक सल्लाहकार मित्रलाल पंज्ञानी र माधव वियोगीको तीन सदस्यीय प्रतिभा छनौट समितिले छनौट गरेको सिफारिसलाई प्रतिष्ठानको बैठकले अनुमोदन गरेको हो ।

उक्त पुरस्कार मङ्सिर ६ गते शनिबारका दिन प्रतिष्ठानका नायक भेषजराज शर्माको जन्मजयन्तीको अवसर पारेर प्रदान गरिने जनाइएको छ । यसअघि उक्त पुरस्कारबाट २०७४ सालमा केदार शर्मा ढकाल, २०७५ मा देवेन्द्र लम्साल र २०७६ मा मित्रलाल पंज्ञानी पुरस्कृत भइसकेका छन् ।

 

जनकवि युद्धप्रसाद मिश्र, प्रगतिवादी कविता मान्यता र प्रवृत्ति, स्वच्छन्दतावादी कविता, मान्यता र प्रवृत्ति, युद्धप्रसाद मिश्र र उनका कविता, नेपाली कविताको विवेचना, खोजखाज, हाम्रो यात्रा लगायतका कृति प्रकाशित गरिसकेका तिमल्सेना पछिल्लो समय समीक्षा, समालोचनामा क्रियाशील छन् ।

 

२०१३ आश्विन १६ गते दुराडाँडा लमजुङमा पिता चन्द्रकान्त र माता देवकीको कोखबाट जन्मेका तिमिल्सेनाले चीन, अमेरिका, भारत, युएइ, थाइल्याण्ड, सिंगापुर, मलेसियालगायतका देशको भ्रमणसमेत गरिसकेका छन् । विभिन्न पत्रपत्रिका र कृति सम्पादनको अनुभवसमेत रहेका तिमल्सेना पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख समेत हुन् ।

यस्तै प्रतिष्ठानको भेषजराज साहित्य सम्मान यस पटक डा. श्यामप्रसाद न्यौपानेलाई प्रदान गर्ने निर्णय गरिएको छ । यस अघि उक्त सम्मानबाट पीताम्बर नेपाली, देवीप्रसाद वनवासी, सूर्य डुम्रे र चिन्तु गिरी सम्मानित भइसकेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...