मैत्री फुटबलमा बंगलादेशसँग नेपाल २–० ले पराजित

काठमाडौँ, कात्तिक २८ गते । मोहम्मद नविव नवाज जिवन र महबुबुर रहमानले गोल गरेपछि घरेलु टिम बङ्गलादेशले शुक्रबार पहिलो मैत्री अन्तर्राष्ट्रिय फुटबल खेलमा नेपाललाई २–० ले पराजित गरेको छ । बङ्गलादेशसँग नेपाल पाँच वर्षपछि पराजित भएको हो ।


ढाकास्थिति बङ्गबन्धु रङ्गशालामा दर्शकको उपस्थितिबीच खेलिएको खेलको नौ मिनेटमा बङ्गलादेशले अग्रता बनायो । मैदानको दायाँ भागबाट साद उडिनले दुई डिफेन्डरलाई झुक्याएर मिलाइदिएको ‘लो क्रस’मा सानो डिबक्समा रहेका नविद जीवनले बललाई गोलपोष्टमा छिराउनुभयो । खेलको ७८ औँ मिनेटमा प्रत्याक्रमणमा बङ्गलादेशले अग्रता दोब्बर पार्यो । स्थानापन्न खेलाडी महबुर रहमानले मैदानको बायाँ भागमा तेज गतिद्वारा नेपालका डिफेन्डरद्वय अजित भण्डारी र अनन्त तामाङलाई पनि पछाडि पारेर बल डिबक्समा लग्दै सटिक प्रहारमार्फत् गोल गर्नुसभयो । सो गोलपछि नेपालको खेलमा फर्किने सम्भावना लगभग समाप्त भयो ।

यस नतिजासँगै नेपाल दुई खेलको शृङ्खलामा पछाडि परेको छ । नेपाल र बङ्गलादेशबीच मङ्गलबार बङ्गबन्धु रङ्गशालामा नै दोस्रो अन्तर्राष्ट्रिय मैत्री खेल हुनेछ । बङ्गलादेशले नेपाललाई हराएको यो १३ औँ पटक हो । अहिलेसम्म भएका २० भिडन्तमा नेपालले मात्र छ खेल जितेको छ । एक खेल बराबरीमा सकिएको थियो । यद्यपि सन् २०१५ मा बङ्गबन्धु रङ्गशालामा नै भएको मैत्री खेलमा १–० ले हारेपछि नेपालको बङ्गलादेशविरुद्ध यो पहिलो पराजय भएको छ । सो हारपछि नेपाल लगातार बङ्गलादेशविरुद्ध हावी बन्दै आएको क्रम पनि आजको खेलपछि टुङ्गिएको छ ।

सुरुआतमै गोल वेहोरेपछि नेपालले गोल फर्काउने प्रयासमा बलमाथि तुलनात्मक रुपमा बढी नियन्त्रण बनाएको थियो । नेपालले पटकपटक छोटोछोटो पासमार्फत राम्रो मुभ पनि बनायो । तर एक वर्षपछि मैदानमा फर्केको नेपाली राष्ट्रिय टिमको प्रदर्शन स्वभाविक हुन सकेन । नेपालले प्रत्येक पटक अन्तिम लक्ष्य भेद्ने बेला निराश पार्यो । विशेषत पूर्वाद्र्धमा नेपालले ‘सेटपिस’मा बङ्गलादेशको गोलपोस्टमा आक्रमण गर्ने धेरै मौका पाएको थियो । नेपालका लागि पूर्वाद्र्धमा एक्ला स्ट्राइकर नवयुग श्रेष्ठ, सुजल श्रेष्ठ, अञ्जन विष्ट, रवि पासवान र उत्तराद्र्धमा स्थानापन्न खेलाडीहरु भरत खवास र जर्ज प्रिन्स कार्कीले गोल गर्ने प्रयास गर्नुभएको थियो । उता बङ्गलादेश भने तेज प्रत्याक्रमणमा खतरनाक बनेको थियो । नेपालक कप्तान तथाा गोलरक्षक किरण चेम्जोङ व्यस्त बन्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...