तिहारकाे पाँचाैँ दिन, भाईटीका लगाएर मनाईंदै, साइत विहान ११ः३७ बजे

पोखरा, मंसिर १ गते । नेपालीहरुको महान चाड दिपावली अर्थात तिहारको पाँचौं तथा अन्तिम दिन आज आज दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु कामना गर्दै सप्तरंगी वा रातो टीका लगाइदिएर तिहारलाई विदाई गरिदैंछ ।

दिदीबहिनीले टीका लगाएपछि दाजुभाइले पनि लगाइदिने गरिन्छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेश पूजा गरी मूलथालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाआजा गरिन्छ।

दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरी लगायतका फूलका माला लगाइदिने चलन छ। टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटी लगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ।

यसैवीच भाईटीकाको मुख्य साईत भने आज  विहान ११ः३७ बजे रहेको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित मुहूर्तको शुभसाइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको हो ।

राज्य संचालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ। यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि सुरु भएको छ। त्यस दिनदेखि यमदीप दान सुरु भएको छ। कात्तिक २८ गते काग तिहार, धनवन्तरी जयन्ती, धन त्रयोदशी र धनतेरस पर्व पनि यसैदिन परेको छ।

कात्तिक २९ गते बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा गरि मनाइएको छ ।कात्तिक शुक्ल प्रतिपदाको सायंकालमा आत्मपूजा गर्नुपर्ने ‘कृत्यवाटिका’ नामक ग्रन्थमा उल्लेख गरिएको छ। आइतबार बिहान ११ः२७ बजेसम्म औँसी तिथि छ। त्यसपछि कात्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपूजा यसै दिन गर्नुपर्ने हुन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...