भीडभाड नगरी छठ मनाइने

काठमाडौं, मंसिर ३ गते । कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष राजधानीमा छठ पर्व भीडभाड नगरी विधिमात्र पूरा गरेर मनाइने भएको छ । जाडो लागि सकेकाले भीडभाड गर्दा कोरोना महामारी फैलन सक्ने हुँदा सामान्य पूजा मात्र गर्न लागिएको हो ।

राजधानीमा कमलपोखरी, गुह्येश्वरी, नागपोखरी, गहनापोखरीलगायत स्थानमा विशेष साजसज्जा गरी कात्तिक शुक्ल षष्ठीका दिन अस्ताउँदो र सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ पर्व मनाइन्छ । राजधानीका यी स्थानमा हजारौँ मानिस जम्मा भएर छठ मनाउने गरिन्थ्यो । कमलपोखरीमा विगत १० वर्ष अघिदेखि छठ पूजा समाजको नेतृत्व गर्दै आउनुभएका राजेन्द्र सिंह जिल्ला प्रशासन कार्यालयले २५ जना मात्र उपस्थित भएर पर्वको विधि पूरा गर्न स्वीकृति दिएको बताउनुहुन्छ ।

प्रशासनको स्वीकृतिअनुसार विगत नौ वर्षदेखि व्रत बस्दै आएकालाई मात्र मङ्सिर ५ गते बेलुकी कमलपोखरीमा प्रवेश गराएर अस्ताउँदो सूर्यलाई अघ्र्य दिने वातावरण बनाइने उहाँले जानकारी दिनुभयो । विगत वर्षमा जस्तो व्रतालुलाई राति पोखरी परिसरमा बस्नसमेत नदिइने कमलपोखरी छठ पूजा समाजले जनाएको छ । दश वर्षअघिदेखि कमलपोखरीमा विशेष साजसज्जाका साथ रङ्गीचङ्गी बनाएर छठ पर्व मनाइन्थ्यो । यस वर्ष भने सजावट र विशेष समारोहको कुनै तयारी भएको छैन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...