रोकिएको परीक्षाका कारण झन्डै २० करोड परीक्षा सञ्चालनमा थप खर्च

काठमाडौँ, मङ्सिर ४ गते । कोरोनाका कारण गत वैशाखमा स्थगित त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा अध्ययनरत एक लाखभन्दा बढी विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी व्यवस्थापन गरिने भएको छ । वार्षिक प्रणाली अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा र नतिजा प्रकाशनको आन्तरिक तयारी मिलाइएको जानकारी विश्वविद्यालयले दिएको छ ।


त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले वार्षिक परीक्षा प्रणाली अन्तर्गत गत वैशाख १६ बाट हुने गरी तय भएको परीक्षाका विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा लिन लागिएको जानकारी दिनुभयो । विश्वविद्यालयले व्यवस्थापन, शिक्षाशास्त्र सङ्काय र विज्ञान अध्ययन संस्थान अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययनरत विद्यार्थीको परीक्षा मङ्सिर २८ बाट लिने गरी कार्यतालिका सार्वजनिक छ ।

मङ्सिरबाट सुरु गरिएको उक्त परीक्षाका विद्यार्थीले चैतको हाराहारीमा स्नातकोत्तर तहमा भर्ना हुनसक्ने र त्यसअघि नै नतिजासमेत प्रकाशन गर्ने व्यवस्था मिलाइएको छ । गत वर्ष फागुनमा स्नातकोत्तर तहमा विद्यार्थीको कक्षा सुरु भएकोमा यस वर्ष एक महिनाको हाराहारीमा मात्रै समय फरक पर्ने र यसले समग्र शैक्षिक सत्रलाई कुनै फरक नपार्ने परीक्षा नियन्त्रक जोशीको भनाइ छ ।

थप २० करोड लागत
परीक्षा नियन्त्रक जोशीले रोकिएको परीक्षाका कारण विश्वविद्यालयलाई झन्डै २० करोड रुपियाँ परीक्षा सञ्चालनमा थप खर्च हुने देखिएको जानकारी दिनुभयो । रोकिएका स्नातक तथा स्नातकोत्तर तहको परीक्षा सञ्चालन गर्दा तत्कालका लागि विगतको तुलनामा २० करोड रुपियाँ बढी खर्च हुने देखिएको जनाइएको छ । लाखौँ विद्यार्थीको भविष्य र विश्वविद्यालयको उच्च शिक्षाको कक्षा निरन्तर सञ्चालन हुने नै मुख्य कुरा भएकाले यसलाई नै प्राथमिकतामा राखिएको जनाइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...