सहकारीमा कर सम्बन्धी गण्डकी प्रदेश स्तरीय अन्तरक्रिया

बागलुङ, मंसिर ५ गते ।राष्ट्रिय सहकारी बैंक लिमिटेडको आयोजना र आर्थिक मामिला तथा योजना मन्त्रालय गण्डकी प्रदेशको प्राविधिक सहयोगमा सहकारीमा कर सम्बन्धी गण्डकी प्रदेश स्तरीय एक दिने अन्तरक्रिया कार्यक्रम बिहीवार सम्पन्न भएको छ । सहकारीमा कर सम्बन्धी व्यवस्था र कर भुक्तानका प्राविधिक पक्षमा जानकारी दिई सहकारी संस्था सञ्चालनमा सहजता प्रदान गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ ।

कोरोना संक्रमणका कारण उत्पन्न असहज परिस्थितिमा बैंकले सहकारी व्यवस्थापन, लेखा तथा कर लगायतका विषयमा नियमित रुपमा सहजीकरण गर्दै आएको बैंकका अध्यक्ष के.बी.उप्रेतीले जानकारी दिनुभयो । उहाँले सहकारी व्यवसायलाई थप प्रभावकारी र व्यवस्थित गराउनका लागि कार्यक्रम सहयोगी हुने धारणा राख्नु भयो ।

 

कार्यक्रममा सहकारीका सम्बन्धमा विद्यमान करका व्यवस्थाहरु विषयमा आर्थिक मामिला तथा योजना मन्त्रालय गण्डकी प्रदेशका सचिव चन्द्रकला पौडेलले सहजीकरण गर्नु भएको थियो । सहजीकरण गर्दै सचिव पौडेलले कर प्रणालीका बारेमा जानकारी लिनका लागि कार्यक्रम सहयोगी हुने बताउनुभयो । उहाँले कर प्रणालीलाई बुझेर काम गर्न सकियो भने जरिवाना र ब्याजको झण्झट नहुने बताउनुभयो । उहाँले सहकारी व्यवसाय सञ्चालन गर्दा भुक्तान गर्नु पर्ने करका दायराहरु र छुट लगायतका विषयमा जानकारी गराउनु भएको थियो ।

 

कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश सहकारी विभागका रजिष्ट्रार प्रेम प्रसाद ढकालले कोरोना संक्रमणका कारण उत्पन्न असहज परिस्थितिमा पनि सहकारी बैंकले सहकारीको प्रवद्र्धनका क्षेत्रमा नियमित समन्वकारी भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले बैंक र विभागबीच सहकार्य गरेर सहकारीकर्मीहरुको क्षमता अभिवृद्धि लगायतका कार्यक्रम सञ्चालन गर्न विभाग सदैव तयार रहेको धारणा राख्नुभयो ।

 

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय तनहुँका कम्प्युटर अधिकृत रामप्रसाद पोखरेलले  कर भुक्तान र दाखिला सम्बन्धमा सहजीकरण गर्नु भएको थियो । कार्यक्रमका सहजकर्ता तथा सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारी संस्था सञ्चालनका क्रममा आउन सक्ने कर सम्बन्धी समस्या समाधानका लागि कार्यक्रम उपयोगी हुने धारणा राख्नु भयो ।कार्यक्रमको सञ्चालन बैंकको दमौली शाखाका प्रमुख उपेन्द्र दाहालले गर्नु भएको थियो ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...