सामाजिक सुरक्षाको नयाँ र उन्नत अवधारणाकाे सुरुवात गरेका छौं : प्रम

काठमाडौं,मङ्सिर ११ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैलाई पनि एक्लो महशुस नगर्न र सरकार साथमा छ भन्ने विश्वास लिएर अगाडि बढ्न आग्रह गर्नु भएको छ ।


सामाजिक सुरक्षा दिवस । यस दिवसको अवशरमा शुभकामना सन्देश दिदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो ।

सन्देशमा सामाजिक सुरक्षा मानव जातिको सुरक्षा, मानव जातिको भविष्यको सुरक्षा र सुरक्षाको सुनिश्चित्ताको प्रश्न हो । यससम्बन्धमा मानव जाति सचेत प्राणी भएको हुनाले सदैव चिन्तित रहेको उल्लेख गर्नु भएको छ ।

सन्देशमा हरेक नागरिक सचेत हुनुपर्दछ र आफूले सामाजिक सुरक्षाको सन्दर्भमा योगदान पनि गर्नुपर्दछ भनेर योगदानमा आधारित सामामजिक सुरक्षाको एउटा नयाँ र उन्नत अवधारणाकोे पनि सुरुवात गरेका  पनि उल्लेख गर्नु भएकाे छ ।

सन्देशकाे पूर्णपाठ

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु !
आज सामाजिक सुरक्षा दिवस । यस दिवसको अवसरमा म ज्येष्ठ नागरिकदेखि बालबालिकासम्म सबैमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।
सामाजिक सुरक्षा मानव जातिको सुरक्षा, मानव जातिको भविष्यको सुरक्षा र सुरक्षाको सुनिश्चित्ताको प्रश्न हो । यससम्बन्धमा मानव जाति सचेत प्राणी भएको हुनाले सदैव चिन्तित रह्यो । तर, उपायहरु पत्ता लगाउन, तरिकाहरु पत्ता लगाउन र अवलम्बन गर्न लामो समयसम्म त्यति सफल रहेन । पछि हाम्रो देशमा कर्मचारीहरुको सञ्चयकोष, पेन्सनजस्ता कुराहरुबाट सुरक्षाको अवधारणाले केही मात्रा र केही हदसम्म आकार लिन थाल्यो ।
विंसं २०५१ सालबाट त्यसबेलाकोे सरकारले सामाजिक सुरक्षाको क्षेत्रमा ज्येष्ठ नागरिकहरु, एकल महिला, असहाय र अशक्त आदिलाई समेट्ने नीति लियो र लोककल्याकारी राज्य, सामाजिक न्याय, समानता र सामाजिक सुरक्षाको अवधारणाले मूर्तरुप पनि लिन थाल्यो । त्यसले नै सामाजिक सुरक्षाको बहसलाई पनि अगाडि बढायो ।
आज आइपुग्दा हामीले सामाजिक सुरक्षालाई हाम्रो सामाजिक जीवन, राज्य संचालन र समाज संचालनको एउटा अभिन्न अंगका रुपमा बुझिरहेका छौं र तद्अनुसारको व्यवहार गरिरहेका छौं ।
हरेक नागरिक सचेत हुनुपर्दछ र आफूले सामाजिक सुरक्षाको सन्दर्भमा योगदान पनि गर्नुपर्दछ भनेर हामीले योगदानमा आधारित सामामजिक सुरक्षाको एउटा नयाँ र उन्नत अवधारणाकोे पनि सुरुवात गरेका छौं । हामीले यस चेतनाको स्तरोन्नतिलाई नयाँ युगको प्रारम्भ पनि भन्यौं । एउटा नयाँ जमानाको सुरुवात, जहाँ कोही पनि व्यक्ति, समाजको कोही पनि सदस्य त्यही उन्नत, विकसित र आधुनिक मानव समाजमा सुरक्षा नपाई असुरक्षित र त्रसित भएर जीवनयापन गर्नु नपरोस् । कसैले पीडा भोग्न र जीवन गुमाउन नपरोस् । तसर्थः हामीले सामाजिक सुरक्षाको सुनिश्चिताको व्यवस्थाका प्रयासहरुलाई अगाडि बढायौं । हामीले यस सम्बन्धमा थुप्रै प्र्रयासहरु अगाडि बढाएका छौं, जो यहाँहरुमा जगजाहेर नै छ । र, सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढंगले संचालन गर्न र त्यसलाई पूर्णता दिन प्रतिबद्ध रहेको कुरा म यहाँहरुलाई अवगत गराउँन चाहन्छु ।
अब कसैले अनाथ भएँ भन्नुपर्दैन । अनाथ हुनु दुःखको कुरा हो । तर, अब अनाथ भएर मैले अभिभावकत्व पाइनँ भन्ने स्थिति हुने छैन । मेरोे रेखदेख गर्ने कोही छैन भन्ने अवस्था कसैको हुने छैन । मेरो सहारा कोही छैन भन्ने अवस्था पनि हुने छैन । त्यस निम्ति राज्य छ र सरकार छ ।
यो सरकार जनताको सरकार, सामाजिक न्याय र समानतासहित समृद्धिको यात्रामा हिडेको सरकार, सुशासन र विकासको अभियानमा लम्किरहेको सरकार, देश र जनताप्रति निष्ठा र प्र्रतिवद्धता भएको सरकार हो । यस सरकारले कसैलाई पनि एक्लो र असहाय छाड्दैन । म यस दिनको अवसरमा कसैलाई पनि एक्लो महशुस नगर्न र सरकार साथमा छ भन्ने विश्वास लिएर अगाडि बढ्न आग्रह गर्दछु । यस अवसरमा म सबै दाजुभाइ दिदीबहिनीहरुमा सामाजिक सुरक्षा दिवसको सन्दर्भमा हार्दिक शुभकामना पनि व्यक्त गर्न चाहन्छु ।
धन्यवाद !
११ मंसिर २०७७
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...