तेह्र स्थानीय तहमा औद्योगिक ग्रामको स्वीकृति

काठमाडौँ, मङ्सिर १३ गते । सरकारले १३ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणाको स्वीकृति दिएको छ । आर्थिक वर्ष २०७७/७८ मा १३० वटा औद्योगिक ग्राम घोषणा गर्ने सरकारको नीतिअनुसार प्रक्रिया पूरा गरेका १३ वटा प्रस्ताव स्वीकृत भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । गत भदौमा प्रस्ताव आह्वान गरिएको थियो ।


प्रदेश १ को उदयपुरको बेलका नगरपालिका र रौतामाई गाउँपालिकामा औद्योगिक ग्राम स्थापनाको प्रस्ताव मन्त्रालयले स्वीकृत गरेको छ । त्यस्तै तेह्रथुमको म्याङलुङ गाउँपालिकामा औद्योगिक ग्राम स्थापना गरिने भएको छ । बागमती प्रदेश नुवाकोटको विदुर नगरपालिकामा पनि औद्योगिक ग्राम स्थापनाको स्वीकृति प्राप्त भएको छ ।

स्वीकृतिअनुसार कर्णाली प्रदेश जाजरकोटको शिवालय गाउँपालिका, सुर्खेतको भेरीगङ्गा नगरपालिका र चौकुने गाउँपालिकामा औद्योगिक ग्राम स्थापना गरिने भएको छ । गण्डकी प्रदेश स्याङ्जाको कालीगण्डकी गाउँपालिका, तनहुँको भानु नगरपालिका, नवलपुल परासी (बर्दघाट सुस्तापूर्व)को बौदीकाली गाउँपालिका, मनाङको चामे गाउँपालिका, पर्वतको कुस्मा नगरपालिकामा औद्योगिक ग्राम स्थापना हुने भएका छन् । त्यस्तै सुदूरपश्चिम प्रदेश बैतडीको पञ्चेश्वर गाउँपालिकामा औद्योगिक ग्राम स्थापना हुने भएको छ ।

प्रत्येक स्थानीय तहमा एक औद्योगिक ग्राम स्थापना गरी सञ्चालनमा ल्याउने नीतिअनुसार गत वर्षदेखि औद्योगिक ग्राम घोषणा गरिँदै आएको छ । गत वर्ष ४५ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरी निर्माण कार्य अघि बढाइएको छ । एउटा उद्योग ग्रामका लागि मन्त्रालयले स्थानीय तहलाई करिब एक करोड रुपियाँ उपलब्ध गराउँछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...