नेकपा सचिवालय बैठक केहीबेरमा बालुवाटारमा बस्दै

काठमाडौं, मंसिर १७ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज १ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो बस्ने बैठकमा अध्यक्षको प्रस्तावमाथि छलफल हुने कार्यसूची छ ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली आज अन्य काममा व्यस्त रहनु भएपनि बैठक १ बजे नै बालुवाटारमा बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । कार्य व्यस्तताका कारण पुरै समय भने उहाँ बस्न नसक्ने बताइएको छ । अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव अराजनीतिक, झुठको पुलिन्दा र आरोपपत्र मात्र भएकाले फिर्ता हुनुपर्ने माग राख्नुभएको छ ।

 

अध्यक्ष प्रचण्डले आफ्नो प्रस्ताव फिर्ता लिने कुनै संकेत नगर्नु भएपछि त्यसमाथि छलफल हुने नहुने अन्यौल कामयै छ । सचिवालय बैठकमा नेताहरुले छलफल र संवादबाटै सो विवादको निक्र्यौल गर्नुपर्ने सुझाव दिनुभएको छ । कात्तिक २८ गते अध्यक्ष प्रचण्डले १९ पृष्ठको प्रस्ताव सचिवालय बैठकमा राख्नुभएको थियो ।

 

अध्यक्ष तथा प्रधानमन्त्री ओलीले मंसिर १३ गते सो प्रस्तावमा लगाइएको आरोपको खण्डन गर्दै ३८ पृष्ठको ५३ बुँदे प्रस्ताव पेश गर्नुभएको थियो । सो दुवै प्रस्ताव अध्ययनका लागि सचिवालयका सदस्यहरुलाई वितरण गरिएको छ । तर बैठकमा सो दुवै प्रस्तावमाथि छलफल हुने या नहुनेबारे टुङ्गो लागिसकेको छैन । हिजो मंगलबार १६ गते बसेको बैठकमा समेत अध्यक्ष ओलीले अध्यक्ष प्रचण्डलाई आफ्नो प्रस्ताव फिर्ता लिन आग्रह गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...