कोभिड विरुद्धको खोपको पहिलो लट बेलायत आइपुग्यो

काठमाडौं, मंसिर १९ गते । कोभिड विरुद्धको फाइजर र एनबायोटेकको खोपको पहिलो खेप (लट) बेलायत आइपुगेको छ । गोप्य स्थलमा उक्त खोप राखिएको छ । बेलायतमा अस्पतालको खोप केन्द्रहरुमा वितरणका लागि तयारी गरिएको छ ।


बेलायतले आफ्नो दुई करोड नागरिकका लागि चार करोड डोज आपूर्ति गर्ने सम्झौता गरेको छ । इंग्ल्याण्डको सहायक प्रमुख मेडिकल अधिकृतले पहिलो चरणमा लगाइने खोपले अस्पतालमा भर्ना भएका र मृत्युसँग जुझिरहेका ९९ प्रतिशत बिरामीको कोरोना नियन्त्रणमा आउने दाबी गर्नुभएको छ ।

बीबीसीसँगको कुराकानीमा प्राध्यापक जोनाथन भान टमले पहिलो प्राथमिकतामा रहेका सूचीका सबैलाई खोप लगाइने जानकारी दिनुभयो । उहाँले भारी मात्रामा तिब्र गतिमा खोप वितरणको आवश्यकता औंल्याउनुभयो । तर खोप लगाइने प्राथमिकता सूची भने अझै खुकुलो बनाउनुपर्ने उहाँले सुझाब दिनुभयो ।

बेलायतमा आपूर्ति गरिएको फाइजर र एनबायोटेकको कोभिड विरुद्धको खोप बेल्जियममा उत्पादन गरिएको छ । र यूरो सुरुङ्ग मार्ग मार्फत् बेलायत पुर्याइएको छ ।

बेलायतको अस्पतालहरुमा पहिलेदेखि खोप भण्डारणका लागि आवश्यक तापक्रमसहितको सुबिधा विद्यमान छन् । फाइजर र एनबायोटेकको खोप भण्डारण तथा आपूर्तिका लागि माइनस ७० डिग्री सेल्सियस तापक्रम आवश्यक पर्छ । पहिलो लटमा आपूर्ति गरिएको खोप अस्पतालमा कार्यरत कर्मचारी, एनएचएस कर्मचारी र बिरामीलाई लगाइनेछ ।

बेलायत फाइजर र एनबायोटेकको खोप लगाउन अनुमति दिने पहिलो राष्ट्र हो । गत् बुधबार बेलायतको खोप नियमनकारी निकायले उक्त अनुमति दिएको हो ।

बेलायतको खोप अनुमति दिने हतारिएको निर्णयको अमेरिकामा सङ्क्रामक रोग विज्ञ समेत रहनुभएका डा. एन्थोनी फौसीले आलोचना गर्नुभएको थियो । उहाँले बेलायतले खोप लगाउने निर्णय गर्दा आवश्यक साबधानी नअपनाएको टिप्पणी गर्नुभएको थियो । बेलायतको उक्त हतारिएको निर्णयले सर्वसाधारण सहजै खोप लगाउन स्वीकार नगर्ने प्रतिक्रिया दिनुभयो । तर बेलायतले उक्त प्रतिक्रियाको रक्षा गर्दै खोप सुरक्षित र प्रभाबकारी रहेको दाबी गरेको छ । पछि डा. फौसीले समेत असमझदारीमा आफूले त्यस्तो प्रतिक्रिया दिएको र त्यसका लागि क्षमा चाहेको बताउनुभयो ।

उहाँले अमेरिकामा खोप लगाउन दिइने अनुमति प्रकृया बेलायतको भन्दा बढी समय लिने भएकोले त्यस्तो प्रतिक्रिया दिएको बताउनुभयो ।फाइजर र एनबायोटेकको खोपले कोभिड १९ विरुद्ध ९५ प्रतिशत सुरक्षा दिने दाबी गरिएको छ । फाइजर बेल्जियमले चार करोड डोज आपूर्ति गर्ने बित्तिकै खोप सबैका लागि पहुँचमा पुग्नेछ ।

बेलायतका स्वास्थ्य सचिब म्याट्ट हयानककले दोस्रो खेप अर्को साता र बाँकीको लाखौं डोज डिसेम्बर महिनाभरि आपूर्ति गरिने बताउनुभयो । इंग्ल्याण्डको एनएचएसका कार्यकारी प्रमुख सर सिमोन स्टिभेन्सले खोप सबै सर्वसाधारणको सहज पहुँचमा पुग्न आगामी अप्रिलसम्म लाग्ने बताउनुभयो ।

यूरोपमा कोरोना सङ्क्रमणले सबैभन्दा बढी ६० हजारभन्दा बढीको मृत्यु हुने बेलायत पहिलो राष्ट्र हो । गत् बिहीबार चौबीस घण्टामा ४१४ जनाको मृत्युपछि बेलायतमा कोभिड–१९ को कारणले मृत्यु हुनेको संख्या ६० हजार ११३ पुगेको छ । बेलायतभन्दा अमेरिका, ब्राजिल, मेक्सिको र भारतले मात्रै कोरोना सङ्क्रमणबाट अत्याधिक मृत्युको सामना गरेको छ । यद्दपी प्रति एक लाखमा बेलायतमा यी राष्ट्रहरुको अपेक्षा सबैभन्दा बढी मृत्यु दत्र्ता गरिएको छ । प्रति एक लाखमा अत्याधिक मृत्यु हुने राष्ट्रमा बेल्जियम, सान मरिनो, पेरु, एण्डोरा, स्पेन र इटालीपछि बेलायत पर्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...