नेकपा बैठक : दुवै अध्यक्षको प्रस्ताव स्थायी कमिटीमा

काठमाडौं, मंसिर २० गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शनिबार बसेको सचिवालय बैठक सम्पन्न भएको छ । करिब साढे तीन घण्टा बसेको बैठकले छलफल र बैठकबाटै पार्टीको आन्तरिक विवादको निवारण गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले भोलिको स्थायी कमिटी बैठक पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा सचिवालयका सदस्यहरुले आफ्नो धारणा राख्ने काम भएको बताउनुभयो । आवश्यक पर्दा दुई अध्यक्षबीचको संवाद, सचिवालयको औपचारिक अनौपचारिक छलफल र स्थायी कमिटीको बैठकमा लगेर पार्टी संकटको निदान खोजिने उहाँले जानकारी दिनुभयो ।

अध्यक्षद्वयको प्रस्तावबारेमा धारणा र सुझाव राख्ने काम भए पनि निस्कर्षमा पुगिनसकेको उहाँले बताउनुभयो । थप छलफल र बैठकबाटै समस्याको निदान हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । दिउँसो साढे १ बजेबाट शुरु भएको बैठक साढे चार बजेसम्म चलेको थियो । स्थायी कमिटीको बैठक आइतबार १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने उहाँले जानकारी दिनुभयो । सो बैठकमा अध्यक्षद्वयको प्रतिवेदनमा छलफल गरी निस्कर्षमा पुगिने बताउनुभयो ।
आज बिहान दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो । सचिवालय बैठकमा छलफल भए पनि निस्कर्षमा पुग्न नसकिएपछि सबै विषय स्थायी कमिटी बैठकमा छलफल गरिने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...