मिर्गाैला पीडित थापालाई मगर सवा २ लाख सहयोग

पोखरा,मंसिर २१ गते ।नेपाल मगर साँस्कृतिक संघ कास्कीले शनिवार एक कार्यक्रम आयोजना गरी मिर्गाैला पीडित श्रीबहादुर थापालाई २ लाख २० हजार २४६ रुपैया सहयोग हस्तान्तरण गरेको छ। पोखरा चिप्लेढुंगास्थित रुपाहिल दोहोरी साँझमा आयोजित कार्यक्रममा तनहु जिल्ला ऋषिङ गाउपालिका वडा नं.३ सन्सीटारका मिर्गौला पीडित २८ वर्षिय थापालाई स्वास्थ्यलाभको कामनासहित सहयोग हस्तान्तरण गरेको थियो।

नेपाल मगर साँस्कृतिक संघद्धारा संकलित सहयोग रकम नेपाल मगर साँस्कृतिक संघ कास्कीकी अध्यक्ष गायिका सरिता सारु मगर, कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रिय सदस्य पुर्णबहादुर राना मगर, विशेष अतिथि मगर संघ कास्कीकी अध्यक्ष संगिता पुन मगर, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर तमु लगायतले पीडित श्रीबहादुर थापालाई हस्तान्तरण गरिएको थियो। ६ महिनादेखि दुवै मिर्गौला फेल भई हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौंमा उपचारत पीडित थापा आर्थिक अवस्था कमजोरका कारण उनको जीवन रक्षाका लागि नेपाल मगर साँस्कृतिक संघ कास्कीले श्रीबहादुर थापा मगर बचाउ अभियान सञ्चालन गरी सहयोग गरेको हो।

 

कार्यक्रमका प्रमुख अतिथि मगर संघका केन्द्रिय सदस्य पुर्णबहादुर रानामगरले मिर्गौला पीडितको उपचारार्थ अभियान सञ्चालन गरी साँस्कृतिक संघद्धारा गरिएको सहयोग उदाहरणीय भएको बताए। कलाकारहरु नाच गान मात्रै नभई सेवामा जुट्छन भन्ने संघले उदाहरण प्रस्तुत गरेको भन्दै प्रसंशा समेत गरे।

 

कार्यक्रममा सम्मानित तमु धिं नेपालको अध्यक्ष हुमबहादुर तमुले मिर्गौला पीडित श्रीबहादुर थापाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै नेपाल मगर साँस्कृतिक संघ कास्की समस्यामा परेकाहरुको सहारा बनेको भन्दै सहयोगको खुलेरै प्रसंशा गरे। सरकारले गर्नुपर्ने सहयोग मगर साँस्कृतिक संघ कास्कीले गरेको उनको भनाई थियो। मिर्गौला पीडितलाई मात्रै नभई संघले यस अघि पहिरो पीडित, लकडाउन पीडित कलाकारलाई सहयोग गरी कलाकार मात्रै नभई मानवहितकारी संस्था भएको प्रमाणित गरेको बताए।आफु तमु धिंको अध्यक्ष भएकोमा सम्मानित गरेकोमा मगर साँस्कृतिक संघ कास्कीलाई धन्यवाद दिदै उनले आफु तमुको मात्रै अभियन्ता नभएर मगर लगायत विभेदमा आदिवासी जनजातिका अधिकारकर्मी भएको दावी गरे।

 

मिर्गौला पीडित थापालाई सहयोग हस्तान्तरणसँगै तमु धिं नेपालका नवनिर्वाचित अध्यक्ष हुमबहादुर तमुलाई सम्मानपत्र, फेटा, खादासहित संघकी अध्यक्ष सारु मगर र प्रमुख अतिथि रानामगरले सम्मान गरेका थिए।रेलिमाई दोहोरी छायाँकनसँगै सम्पन्न कार्यक्रमको अध्यक्षता गरेकी संघकी अध्यक्ष सरिता सारु मगरले आर्थिक अवस्था कमजोर भएका युवा श्रीबहादुर थापाको जीवन रक्षाका लागि संघले अभियान गरी सहयोग गरेको भन्दै सहयोगीहरुलाई धन्यवाद दिइन। मगर साँस्कृतिक संघ गाउने, बजाउने, नाच्ने र सँस्कृति संरक्षण गर्ने संस्था मात्र नभई सामाजिक र मानवीय सेवामा समर्पित रहेको बताईन। कार्यक्रमको संचालन लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङले कार्यक्रम संचालन गरेका थिए।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...