नेकपा स्थायी कमिटी बैठक आज बस्दै, दुवै अध्यक्षले प्रस्ताव पेश गर्नुहुने

काठमाडौं, मंसिर २१ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बस्दैछ । पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो छुट्टाछुट्टै राजनीतिक प्रस्ताव पेश गर्नुहुनेछ ।

अध्यक्षद्वयको साझा प्रस्ताव तयार हुन नसकेपछि दुवै अध्यक्षबाट फरक फरक प्रस्ताव पेश हुने र त्यसमाथि गम्भीर छलफल हुने स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले बताउनुभयो । ‘अध्यक्ष ओली बैठकमा सहभागी नहुने’ मिडियामा आएको समामाचार गलत भएको बताउनुहुँदै नेता मण्डलले भन्नुभयो, “पार्टीको बैठकमा अध्यक्ष उपस्थित नहुने कुरै आउँदैन, उहाँ आउनुहुन्छ र आफ्नो प्रतिवेदन पनि प्रस्तुत गर्नुहुनेछ ।”

 

गत कात्तिक २८ गतेदेखि शुरुभएको सचिवालय बैठक मंसिर २० गते सम्पन्न भएपनि त्यसमा दुई अध्यक्षबीचको प्रस्तावमा सहमति बन्न सकेन । दुवै प्रस्ताव आज स्थायी कमिटी बैठकमा प्रस्तुत हुने बताइएको छ । आजको बैठकमा दुवै अध्यक्षले प्रस्ताव प्रस्तुत गर्नुभएपछि अध्ययनका लागि स्थायी कमिटी सदस्यहरुलाई वितरण गरिनेछ । प्रस्ताव प्रस्तुत भएपछि केही समय अध्ययनका लागि बैठक स्थगित हुने नेकपाका नेताहरुको बुझाई छ ।

 

स्थायी कमिटी बैठक स्थगित भएको बेलामा दुई अध्यक्षबीच सहमतिको प्रयास हुने बताइएको छ । त्यसकालागि अध्यक्ष ओली र दाहालबीच औपचारिक अनौपचारिक छलफल र संवाद जारी रहने नेता मण्डलले बताउनुभयो । पार्टीभित्र विवाद उत्कर्षमा पुगेको भएपनि वार्ता र संवादबाटै त्यसको समाधानको प्रयास पार्टीमा भइरहेको उहाँले बताउनुभयो । स्थायी कमिटीका सदस्यहरुले आफ्नो धारणा राखेपछि उचित समाधानसहितको निचोडमा पुगिने विश्वास नेता मण्डलले गर्नुभयो ।

 

गत भदौ २६ गतेको स्थायी कमिटी बैठकले पार्टीभित्र चुलिएको समस्या समाधान गरेको थियो । महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठन भएको कार्यदलको प्रतिवेदनअनुसार त्यतिबेलाको विवाद समाधान भएपनि पछिल्लो विवाद समाधानका लागि कार्यदल गठन गरिएको छैन । स्थायी कमिटी बैठकमा छलफल पछि समाधानको पहल लिइने नभएमा केन्द्रीय कमिटी बैठकमा पनि छलफल गरी समाधानको पहल गरिने नेताहरुको भनाई छ । केन्द्रिय कमिटीको बैठक २५ गतेका लागि तय गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...