पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशन पुसको २४ र २५ गते

पोखरा, मंसिर २१ गते । पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशन आउँदो पुसको २४ र २५ गते हुने भएको छ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीको अध्यक्षतामा आइतबार बसेको बैठकले सो निर्णय गरेको हो । संघका महासचिव अर्जुन पोखरेलका अनुसार यो महाधिवेशनले आउँदो २ वर्षको लागि संघको नयाँ नेतृत्व चयन गर्नेछ ।


महासचिव पोखरेलका अनुसार महाधिवेशनअन्तर्गत निर्वाचनको कार्यक्रम पुस २५ गते हुनेछ । जिल्ला प्रशासन कार्यालय कास्कीले विद्युतीय माध्यमबाट साधारण सभा र स्वास्थ्य सुरक्षाका मापदण्ड कायम गर्दै सम्भव भएसम्म अलग–अलग ठाउँमा मतदान कार्यक्रम गर्न स्वीकृति दिएलगत्तै यो निर्णय भएको हो । साधारणसभा विद्युतीय माध्यमबाटै गरिने छ भने जिल्ला प्रशासनको स्वीकृति अनुसार संघको अधिवेशनअन्तर्गतको चुनावी कार्यक्रम पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रसहितका स्थानमा गरिने अन्तिम टुंगो लागेको छ ।

 

मतदान केन्द्रमा कोभिड–१९ बाट बच्नको लागि सम्पूर्ण सुरक्षा सावधानी अपनाइने छ । संघको आसन्न अधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उद्योग र वाणिज्यतर्फका २ जना उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र उपमहासचिवसहित पोखरा उद्योग वाणिज्य संघको विधान अनुसार १० जना साधारण सदस्यका तर्फबाट,४ जना बस्तुगत,२ जना एसोसियट र १ जनाले औद्योगिक सदस्यका तर्फबाट संघको कार्यसमितिमा प्रतिनिधित्व गर्नेछन् । निर्वाचनको कार्यक्रम निर्वाचन समितिले तय गरेलगत्तै सार्वजनिक गर्ने पनि संघका महासचिव पोखरेलले जनाए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...