युआरएल पत्रकारिता पुरस्कारबाट पत्रकार पौडेल सम्मानित

पोखरा, मंसिर २३ गते ।पत्रकार प्रदीप पौडेल युआरएल पत्रकारिता पुरस्कार २०७७ बाट सम्मानित भएका छन् । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि ९युआरएल० को सातौं वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा पौडेललाई नगद २० हजार, ताम्रपत्र र दोसल्लासहित सम्मान गरिएको हो ।


गण्डकी मेडिकल कलेज९जिएमसी०का प्रिन्सिपल प्राडा रवीन्द्रप्रसाद श्रेष्ठ, युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्त र नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले पौडेललाई सम्मान गरे । पौडेल रेडियो बाराही र इमेज टेलिभिजनमा आवद्ध छन् ।जिएमसीका प्रिन्सिपल श्रेष्ठले पत्रकार जगतले निर्वाह गर्ने भूमिका महामारी, महासंकट आदि अझ बढ्ने उल्लेख गरे । उनले बिरामी खर्चकै अभावमा उपचारबाट बञ्चित हुनुपर्ने अवस्था आउन नदिन सबै पक्ष जिम्मेवारी बन्नुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले विभिन्न संघ, संस्थाले यसरी प्रदान गर्ने पुरस्कारले क्रियाशील पत्रकारमा ऊर्जा भरिने र अझ जिम्मेवार हुन प्रोत्साहन गर्ने विचार राखे ।

प्रतिभा छनोट समिति संयोजक रवीन्द्र बास्तोलाले स्वास्थ्यबारे सर्वसाधारणलाई सचेत बनाउन र यो क्षेत्र हुने कमी, कमजोरीलाई सच्याउन पत्रकारिता जगतको अहम् भूमिका रहेको बताए । करिब डेढ दशकदेखि पत्रकार पौडेलले यस्तै भूमिका निर्वाह गरिरहेकाले उनलाई पुरस्कारका लागि छनोट गरिएको जनाए । प्रतिभा छनोट समितिमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा। माधव तिवारी र इन्सेक गण्डकी प्रमुख शिव खकुरेल सदस्य थिए ।

रेडियो बाराहीका प्रबन्ध निर्देशक रमेश पाँैडेलले नागरिक पत्रकारिता मौलाउँदै गरेको यो युगमा मिडियाको दायित्व र भूमिका अझ गहन र गम्भीर भएको जनाए । पुरस्कृत पत्रकार प्रदीप पौडेलले पुरस्कारले आफूमा ऊर्जा थपेको र थप जिम्मेवारीबोध गराएको उल्लेख गरे । उनले कोभिड १९ संक्रमणपछि आफूले भोगेको अनुभव पनि सुनाए ।

युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले युआरएलले ७ वर्षको अवधिमा करिब एक सय वटा स्वास्थ्य शिविर गरी सर्वसाधारणलाई सचेतनासहित निशुल्क सेवासमेत प्रदेश गरेको उल्लेख गरे । उनले भने, ‘सामाजिक उत्तरदायित्व वहन गर्दै हामी गुणस्तरीय सेवा सर्वसाधारणसम्म पु¥याउन प्रतिवद्ध छौं ।’

प्रबन्ध निर्देशक पन्तले चाडै युआरएलले स्याङ्जाको वालिङ र लमजुङको वेशीसहरमा शाखा विस्तार गर्न लागेको जानकारीसमेत थिए । उनले गण्डकी प्रदेशभर कुनै न कुनै माध्यमले सेवा विस्तार गरी सर्वसाधारणलाई गुणस्तर सेवा दिने प्रतिवद्धता जनाए ।

कार्यक्रम सञ्चारकर्मी सन्तोष बस्यालले सञ्चालन गरेका थिए । युआरएलले स्थापना र सञ्चालन गर्ने यो पुरस्कार हरेक वर्ष गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्रमा क्रियाशील एक पत्रकारलाई प्रदान गर्ने गरिएको छ । यसअघि यो पुरस्कारबाट ऋषि खतिवडा, यदुनाथ बञ्जारा र सुरेन्द्र पौडेल सम्मानित भइसकेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...