पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ‘ग्राउन्ड ह्यान्डलिङ’को जिम्मेवारी नेपाल वायुसेवा निगमलाई

काठमाडौँ, मङ्सिर २९ गते । सरकारले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ‘ग्राउन्ड ह्यान्डलिङ’को जिम्मेवारी नेपाल वायुसेवा निगमलाई दिने भएको छ ।  यससम्बन्धी पत्रसमेत नेपाल वायुसेवा निगमलाई पठाइसकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले निर्माणको अन्तिम चरणमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ‘ग्राउन्ड ह्यान्डलिङ’को जिम्मेवारी नेपाल वायुसेवा निगमलाई दिने निर्णय गरिसकेको जानकारी दिनुभयो ।

गौतमबुुद्धको ९३ प्रतिशत र पोखराको ६७ प्रतिशत प्रगति भएको छ । गौतमबुद्धको डिसेम्बरभित्रै र पोखराको आगामी जुलाईसम्ममा सम्पन्न गरिसक्नुपर्ने समयसीमा तोकिएको छ । यसै आर्थिक वर्षभित्रमा नै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी सरकारको रहेको छ । दुवै विमानस्थल सञ्चालनमा आइसकेपछि नेपाल वायुसेवा निगमले ‘ग्राउन्ड ह्यान्डलिङ’को काम गर्ने छ । निगमले ‘ग्राउन्ड ह्यान्डलिङ’ सेवाबाट वार्षिक करिब पाँच अर्ब रुपियाँ आम्दानी गर्दै आएको छ ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले भन्नुभयो, ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईको अध्यक्षतामा बसेको नागरिक उड्डयन प्राधिकरणको बोर्डको बैठकले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी नेपाल वायुसेवा निगमलाई दिने निर्णय गरेको हो,’ संस्कृति मन्त्री भट्टराई प्राधिकरणको सञ्चालक समितिको अध्यक्षसमेत हुनुहुन्छ ।

उहाँले भन्नुभयो, ‘विमानस्थलको ‘ग्राउन्ड ह्यान्डलिङ’ अन्तर्गत नेपाल वायुसेवा निगमले गौतम बुद्ध र पोखरा विमानस्थल सञ्चालनमा आएपछि त्यहाँ अवतरण हुने विमानस्थलका यात्रुका लागि बस, भ¥याङलगायतका विमानस्थलको ‘ग्राउण्ड’ मा सम्पूर्ण सेवाहरु उपलब्ध गराउने छन् । ’गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ‘ग्राउन्ड ह्यान्डलिङ’का लागि खुल्ला प्रतिस्पर्धाबाट कम्पनी छनोट गर्ने गरी बोलपत्र आह्वान गरिएकोमा उक्त विमानस्थलको सुरुआती सञ्चालन तत्कालका लागि प्राधिकरणले नै गर्ने भएकाले आह्वान गरिएको बोलपत्र रद्द गरी ‘ग्राउन्ड ह्यान्डलिङ’ सेवा सञ्चालनको जिम्मेवारी निगमलाई दिने निर्णय गरिएको प्रवक्ता क्षेत्रीले स्पष्ट पार्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...