बैङ्कहरुले ल्याए नयाँ ब्याज दर

काठमाडौँ, पुस १ गते । चालू आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमास सुरु भएसँगै विभिन्न वाणिज्य बैङ्क, विकास बैङ्क र वित्तीय संस्थाले नयाँ ब्याज दर तय गरेका छन् । बैङ्कहरूले पुस १ देखि लागू हुनेगरी नयाँ ब्याज दर तय गरेका हुन् ।


गत साता नेपाल राष्ट्र बैङ्कले चालू आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै बैङ्क तथा वित्तीय संस्थाले बचतमा दिइने र ऋणमा लिइने ब्याज दरबीचको अन्तर तोकेको थियो । राष्ट्र बैङ्कले कुल निक्षेपबाहेकको ब्याज प्रदान गरिने निक्षेप खाताहरूमा दिइने अधिकतम र न्यूनतम ब्याज दरबीचको अन्तर ५ प्रतिशत बिन्दुभन्दा बढी फरक हुन नहुने व्यवस्था गरेको छ । त्यसैअनुरूप नयाँ ब्याज दर आएको हो ।

एभरेस्ट बैङ्कले साधारण बचतमा २ देखि ४ प्रतिशतसम्मको ब्याज दर तोकेको छ । बैङ्कले २८ प्रकारका साधारण बचत योजना ल्याएको छ । त्यस्तै मुद्दती निक्षेपमा तीन महिनादेखि छ महिनासम्मका लागि व्यक्तिगततर्फ ५ र संस्थागततर्फ ५.५ प्रतिशत तोकेको छ । त्यस्तै छ महिनादेखि एक वर्षभन्दा कम अवधिका लागि ६ प्रतिशत र एक वर्षदेखि १० वर्षे अवधिका लागि ७ प्रतिशतसम्मको ब्याज दर तय गरेको छ । संस्थागत बल्क मुद्दती र संस्थागत विशेष मुद्दतीका लागि पनि ६.५ प्रतिशत ब्याजदर तोकेको छ ।

बैङ्कले सार्वजनिक गरेका तीनदेखि १० वर्षसम्मका कर्जा योजनाका लागि १०.३२ प्रतिशतदेखि १३.५७ प्रतिसम्मसम्मको ब्याज दर तोकेको छ । ती कर्जामा बेस रेट प्लस दुईदेखि बेस रेट प्लस ५ प्रतिशतसम्म पर्नेछ ।नेपाल एसबीआई बैङ्कले अमेरिकी डलरसहित २७ प्रकारका बचत योजनामा १ देखि ३ प्रतिशतसम्मको ब्याज दर तोकेको छ । त्यस्तै मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ३ देखि ६.५ प्रतिशत र संस्थागत र विदेशी नियोगतर्फको ४ देखि ६ प्रतिशतसम्मको ब्याज दर तय गरेको छ । लगानीतर्फ बैङ्कले १२.५ प्रतिशतदेखि १४.५ प्रतिशतसम्मको ब्याज तय गरेको छ ।

एनआईसी एसियाले साधारण बचतमा १.५ प्रतिशत र मुद्दती निक्षेपमा ६.५ प्रतिशत ब्याज दर तोकेको छ । यसअघि ंबैङ्कले मुद्दतिमा ९.७५ प्रतिशतसम्म ब्याज दिँदै आएको थियो । नबिल बैङ्कले पनि विभिन्न अवधिको मुद्दती निक्षेपमा ४ देखि ८.१० प्रतिशतसम्म ब्याज दर तोकेको छ । बैङ्कले विभिन्न कर्जामा लिने ब्याज दर भने १०.३७ देखि ११.३७ प्रतिशतसम्मको तोकेको छ ।

१७ प्रकारका बचत योजना ल्याएको सनराइज बैङ्कले साधारण बचतमा २ देखि ३.५ प्रतिशसम्मको ब्याज दर तोकेको छ । विदेशी मुद्रा बचतमा पनि २ प्रतिशत ब्याज दर तय गरेको छ । बैङ्कले मुद्दतीमा भने ७ देखि ९.१० प्रतिशतसम्मको ब्याज दर सार्वजनिक गरेको छ । विभिन्न शीर्षकको कर्जामा १० देखि १३.५ प्रतिशतसम्मको ब्याज दर बैङ्कले तोकेको छ ।

माछापुच्छ«े बैङ्कले साधारण बचतमा २.५ देखि ४.५ प्रतिशतसम्मको ब्याज दर तोकेको छ । त्यस्तै मुद्दतीमा ७.२५ देखि ८.५० प्रतिशतसम्मको ब्याज दर तोकेको छ । बैङ्कले कर्जाको ब्याज दर भने सार्वजनिक गरेको छैन । मेगा बैङ्कले साधारणतर्फ २.५ देखि ४.५ प्रतिशतसम्मको ब्याज दर तोकेको छ । त्यस्तै मुद्दतीतर्फ ६.५ देखि ७.५ प्रतिशतसम्मको ब्याज दर तोकेको छ ।                               साभार गोरखापत्र अनलाइन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...