नेकपा फुटको संघारमा, अध्यक्ष प्रचण्डलाई कारबाही गर्ने ओली पक्षको तयारी 

पोखरा, पुस ६ गते ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको संघारमा पुगेको छ । नेकपा अध्यक्ष प्रचण्ड र माधव नेपाल समुहले आयोजना गरेको स्थायी समिति बैठकले प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई कारबाही गर्ने निर्णय केन्द्रीय कमिटिबाट पारित गर्ने निर्णयसंगै नेकपा फुटको संघारमा पुगेको हो ।

प्रचण्ड समुहले निर्वाचन आयोगमा समेत कारबाही गर्न लागेको जानकारी निर्वाचन आयोगमा समेत दिएको छ । यता केपी शर्मा ओली समुहले पनि प्रचण्ड सहित केही नेतालाई कारबाही गर्ने तयारी गरेको बताइएको छ । मंगलबार बस्ने ओली पक्षको केन्द्रीय कमिटि बैठकले प्रचण्ड लगायतलाई कारबाही गर्ने तयारी  गरेपछि नेकपा औपचारिक रुपमा विभाजनको अन्तिम चरणमा पुगेको छ ।

प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गरिएको पत्र निर्वाचन आयोगमा पेश गरेपछि ओली पक्षले पनि प्रचण्डलाई कारबाहीको तयारी गरेको छ ।

भोलि बिहान ९ बजे बालुवाटारमा बस्ने केन्द्रीय कमिटी बैठकले प्रचण्डलाई अनुशासनहीन काम गरेको,आफ्नै पार्टीको अध्यक्ष प्रधानमन्त्री विरुद्ध विपक्षीसँग मिलेर अविश्वास प्रस्ताव दर्ता गर्न खोजेको,पार्टी एकता विपरीत गतिविधि गरेको लगायतका आरोप लगाउँदै अध्यक्ष पदबाट हटाउने तयारी गरेको ओली निकट स्रोतले जनाएको छ ।

बैठकले अन्य केही नेतालाई पनि कारबाही गरेर निर्वाचन आयोगलाई जानकारी गराउने सम्भावना रहेको एक नेताले बताए । पार्टी एकता टुंगिन नपाउँदै प्रचण्डले एकता भंग गरेको अभियोगसहित निर्वाचन आयोगलाई जानकारी गराउने तयारी ओली पक्षको छ ।प्रचण्ड–माधव नेपाल पक्षले भोलि दिउँसो बैठक राखेर ओलीलाई अध्यक्षबाट हटाउने तयारी गरेपछि ओली पक्षले काउन्टर कारबाही गर्न लागेको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...