गुडिरहेको मोटरसाइकलबाट बाघले झम्टेर लगेकी महिला मृत फेला

बर्दिया, पुस १९ गते । पाटे बाघको आक्रमणमा परी बेपत्ता भएकी महिलाको शव फेला परेको छ । बर्दिया राष्ट्रिय निकुञ्जभित्र गएराति गुडिरहेको मोटरसाइकलबाट पाटे बाघले झम्टेर लगेको महिलाको शव निकुञ्जको टोलीले फेला पारेको हो ।


गए राती पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने अम्रेनी पोष्टदेखि ६ किलोमिटर पश्चिम कुँवाभार नजिकबाट सु. प. प. ०१ ०० ८ प ६८ ०१ नम्बरको मोटरसाइकलमा सवार कैलाली लम्किचुहा नगरपालिका वडा नम्बर ४ की ५० वर्षीया नन्दकली थापालाई पाटे बाघले झम्टेर लगेको थियो ।पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्ज भित्र पाटे बाघले आक्रमण गरेको ठाउँदेखि झण्डै ५ सय मिटर पर कुवाँभारको गुम्ना पुल नजिकै क्षतविक्षत रुपमा शव फेला परेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी दिनुभयो ।

बाघले आक्रमण गरेको खबर पाए लगत्तै निकुञ्जको टोली र नेपाली सेनाले हात्तीको सहायताबाट बेपत्ता भएकी महिलाको खोजी गरिरहेको थियो । मोटरसाइकलमा कैलाली लम्किचुहा नगरपालिका ४ का सन्तोष थापा र आमा नन्दकली थापा सवार थिए । गए राति करिब साढे ८ बजेतिर ५० वर्षकी नन्दकला थपालाई पाटे बाघले मोटसाइकलबाटै झम्टेर लगेको थियो ।महिलामाथि आक्रमण गर्ने बाघलाई क्यामरा ट्यापिङ प्रविधिको सहयोगमा पहिचान गरि नियन्त्रणमा लिने प्रयास थालिने निकुञ्ज प्रशानले जनाएको छ । महिलाको शवलाई पोष्ट मार्टमको लागि जिल्ला अस्पताल गुलरिया लगिएको निकुञ्जले जनाएको छ ।

शनिबारदेखि यो क्षेत्रमा दिउँसोमा मोटरसाइकलमा यात्रा गर्नेलाई समूहमा जान निकुञ्जले निर्देशन दिएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले बताउनु भयो । साँझ ८ बजेपछि बिहान नहुञ्जेलसम्म भने मोटरसाइकलबाट यात्रा गर्न निषेध गरिएको निकुञ्जले जनाएको छ । वन्यजन्तुबाट हुने जोखिम न्यूनीकरणका लागि रातीको समयमा पूर्वपश्चिम राजमार्गको अम्रेनीदेखि कर्णाली चिसापानी क्षेत्रमा मोटरसाइकलमा यात्रा गर्न निषेध गरिएको बर्दिया राष्टिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो । पूर्वपश्चिम राजमार्गको अम्रेनीदेखि कर्णाली चिसापानी क्षेत्रमा वन्यजन्तुको बढी आवतजावत हुने गरेको र रातीकाे समयमा मोटरसाइकलमा यात्रा गर्दा वन्यजन्तुबाट जोखिम बढी हुने भएकाले यात्रुहरुको सुरक्षाका लागि मोटरसाइकलमा यात्रा गर्न निषेध गरिएको प्रमुख संरक्षण अधिकृत श्रेष्ठको भनाई छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...